
एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र ट्रम्प प्रशासनबीच बढ्दो तनावका बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार भेनेजुएलाका जनतासँग ऐक्यबद्धता प्रकट गरेका छन् ।
रुस सरकार क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार, पुटिनले मदुरोसँग फोनमा कुरा गर्दै बढ्दो बाह्य दबाबका बाबजुद राष्ट्रिय हित र सार्वभौमसत्ताको रक्षा गर्ने भेनेजुएलाका नेताको नीतिप्रति आफ्नो समर्थन पुनः पुष्टि गरेका छन् ।
अमेरिकी सेनाले भेनेजुएलाको तटीय क्षेत्रबाट एउटा तेल ट्यांकर नियन्त्रणमा लिएको एक दिनपछि यो फोन वार्ता भएको हो । यो घटना अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले मदुरोमाथि दबाब बढाउन अपनाएको पछिल्लो रणनीति हो जसमाथि अमेरिकामा लागूऔषध आतंकवादको आरोप लगाइएको छ ।
बिहीबार अमेरिकी संसदमा गवाही दिने क्रममा होमल्यान्ड सिक्युरिटी सेक्रेटरी क्रिस्टी नोमले जहाज कब्जाको घटनालाई उक्त क्षेत्रमा ट्रम्प प्रशासनको लागूऔषध विरोधी प्रयासहरूसँग जोडेकी छन् । अमेरिकाले दशकौंपछि उक्त क्षेत्रमा आफ्नो सबैभन्दा ठूलो सैन्य उपस्थिति बढाएको छ र कथित लागूऔषध तस्करी गर्ने डुंगाहरूमाथि शृंखलाबद्ध घातक हमलाहरू सुरु गरेको छ ।
मदुरोले आफूलाई पदबाट हटाउनु अमेरिकी सैन्य कारबाहीको वास्तविक उद्देश्य रहेको दाबी गर्दै आएका छन् । भेनेजुएलाको सरकारले ट्यांकर कब्जालाई खुलेआम चोरी र अन्तर्राष्ट्रिय डकैतीको कार्य भनेको छ ।
भेनेजुएला सरकारले जनाएअनुसार, पुटिनले फोनवार्तामा मदुरोलाई स्पष्ट रूपमा आफ्नो समर्थन पुनः पुष्टि गरेका छन् ।
विज्ञप्तिमा भनिएअनुसार, पुटिनले मदुरोलाई मस्को र काराकसबीचको प्रत्यक्ष सञ्चार स्थायी रूपमा खुला रहने र रुसले भेनेजुएलालाई आफ्नो सार्वभौमसत्ता, अन्तर्राष्ट्रिय कानून र सम्पूर्ण दक्षिण अमेरिकामा शान्ति स्थापना गर्ने संघर्षमा निरन्तर समर्थन गर्ने बताएका छन् ।
आफ्ना पूर्ववर्ती राष्ट्रपति ह्युगो चाभेजजस्तै मदुरोले पनि रुससँग घनिष्ठ सम्बन्ध बनाएका छन् । रुसले भेनेजुएलालाई कोरोनाभाइरसको खोपदेखि क्रिप्टोकरेन्सीको डिजाइनसम्ममा सहयोग गरेको छ । सन् २०१८ मा रुस–अमेरिका तनाव उच्च हुँदा रुसले भेनेजुएलाको राजधानी बाहिरको विमानस्थलमा छोटो समयका लागि आणविक क्षमतायुक्त दुईवटा तु–१६० बमवर्षक विमानहरू पनि पठाएको थियो ।
पोहोर साल आन्ध्र महासागरमा अभ्यास गरेपछि दुईवटा रुसी जलसेना जहाजहरू भेनेजुएलाको ला ग्वाइरा बन्दरगाहमा रोकिएका थिए । मस्कोले यसलाई दुर्गम र महत्त्वपूर्ण क्षेत्रहरूमा आफ्नो उपस्थिति देखाउन गरिएको बताएको थियो ।
यसैबीच बेलारुसमा पुटिनका सहयोगी मानिने राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बिहीबार रुसका लागि भेनेजुएलाका राजदूत जिसस राफेल सालाजार भेलाजक्वेजसँग भेट गरेका छन् । दुई हप्ताभन्दा अलि बढी समयमा उनीहरूको यो दोस्रो भेट हो ।
छलफलका विस्तृत विवरणहरू खुलाइएको छैन । तर, बेलारुसको सरकारी समाचार एजेन्सी बेल्टाले लुकासेन्कोलाई उद्धृत गर्दै जनाएअनुसार राजदूतले नोभेम्बर २५ को पहिलो भेटपछि मदुरोसँग केही मुद्दाहरूमा छलफल गर्ने र एउटा निश्चित निर्णयमा पुग्न पुनः बेलारुस आउने अपेक्षा गरिएको थियो ।
नोभेम्बरको बैठकमा लुकासेन्कोले मदुरोलाई बेलारुस भ्रमणको निम्तो दिएका थिए र आफूले पनि भेनेजुएला भ्रमणका लागि समय मिलाउने प्रयास गर्ने बताएका थिए ।







प्रतिक्रिया