
एजेन्सी । भारत र अमेरिकाले रक्षा, प्रविधि र व्यापार क्षेत्रमा रणनीतिक सहयोग बढाउनका लागि महत्त्वपूर्ण छलफल गरेका छन् ।
अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरले भारतीय विदेशसचिव विक्रम मिस्रीसँग बिहीबार वार्ता गरेकी छन् । उक्त वार्तामा दुवै पक्षले राष्ट्रपति डोनल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीबीच फेब्रुअरी महिनामा भएको भेटमा तय गरिएको दृष्टिकोणलाई ठोस नतिजामा परिणत गर्ने कुरामा जोड दिए ।
हुकर रणनीतिक र आर्थिक सहयोग सुदृढ गर्न पाँच दिने भारत भ्रमणमा छिन् ।
अमेरिकी दूतावासका अनुसार, हुकरले रक्षा, ऊर्जा, प्रविधि, अन्तरिक्ष र आपूर्ति शृंखलाको लचकता जस्ता क्षेत्रमा सहकार्य अघि बढाउने ट्रम्प प्रशासनको मनसाय व्यक्त गरिन् । दूतावासले भन्यो, ‘यो बैठक राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीको फेब्रुअरी बैठकको दृष्टिकोणलाई ठोस प्रगतिमा बदल्ने अवसर थियो जसले अमेरिकी सुरक्षा, रोजगारी र प्रतिस्पर्धात्मक क्षमता बढाउनुका साथै भारतको दीर्घकालीन लक्ष्यहरूलाई समर्थन गर्दछ ।’
भारतको विदेश मन्त्रालयले जनाएअनुसार, विदेश कार्यालय परामर्श संयन्त्र अन्तर्गत आयोजित वार्ताले भारत–अमेरिका व्यापक विश्वव्यापी रणनीतिक साझेदारीको विस्तृत समीक्षा गर्ने अवसर प्रदान गरेको छ ।
बैठकको एजेन्डामा व्यापार, लगानी, रक्षा सम्बन्ध, नागरिक आणविक सहयोग, महत्त्वपूर्ण खनिज पदार्थ, उदाउँदो प्रविधि र विश्वसनीय आपूर्ति शृंखलाका साथै जारी ‘ट्रस्ट’ पहल समावेश थिए ।
दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी घटनाक्रमबारे विचार आदानप्रदान गरे र स्वतन्त्र तथा खुला इन्डो–प्यासिफिकका लागि आफ्नो साझा समर्थन पुनः पुष्टि गरे ।
फेब्रुअरी महिनामा प्रधानमन्त्री मोदीको वाशिङटन भ्रमणले महत्त्वाकांक्षी उपलब्धिहरू हासिल गरेको थियो । त्यसमा भारतले अमेरिकी तेल, ग्यास र एफ–३५ लडाकु विमान लगायतका सैन्य प्ल्याटफर्महरूको खरिद विस्तार गर्ने प्रतिबद्धता जनाएको थियो ।
नयाँ दिल्ली र वाशिङटनले ठूलो व्यापार सम्झौता अघि बढाउने र सन् २०३० सम्ममा वार्षिक द्विपक्षीय व्यापार ५०० अर्ब डलर पुर्याउने लक्ष्य पनि राखेका छन् ।
दुवै पक्षले विद्यमान संवाद संरचनाहरू अन्तर्गत स्थिर प्रगतिको स्वागत गरेको र सम्बन्धका मुख्य स्तम्भहरूमा सहयोग अघि बढाउन कम्प्याक्ट एजेन्डाको कार्यान्वयनलाई तीव्रता दिन सहमति जनाएको भारतको विदेश मन्त्रालयले जनायो ।
सुरक्षित आपूर्ति शृंखला सिर्जना गर्ने, नवप्रवर्तनलाई बढावा दिने र एआई तथा सेमीकन्डक्टर लगायतका महत्त्वपूर्ण र उदाउँदो प्रविधिहरूमा सहयोग विस्तार गर्ने फेब्रुअरीमा सुरु गरिएको ‘ट्रस्ट’ (ट्रान्सफर्मिङ रिलेशनशिन युटिलाइजिङ स्ट्राटेजिक टेक्नोलोजी) पहलको उद्देश्य हो ।
दुवै सरकारले व्यापार सम्बन्ध विस्तार गर्न र रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरूमा सहयोग सुदृढ गर्न निरन्तर छलफल गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेका छन् ।







प्रतिक्रिया