अर्बपति जेफ बेजोसकी पूर्वपत्नी स्कटले ६ वर्षमा परोपकारका लागि खर्च गरिन् २६ अर्ब डलर

42
Shares

एजेन्सी । अर्बपति तथा लेखिका म्याकेन्जी स्कटले यो वर्ष गैरनाफामूलक संस्थाहरूलाई ७ अर्ब १० करोड डलर सहयोग गरेको मंगलबार खुलासा गरेकी छन् ।

यससँगै सन् २०१९ देखि उनको कुल सहयोग रकम २६ अर्ब ३० करोड डलर पुगेको छ ।

अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद भएपछि स्कटले पहिलोपटक सन् २०१९ मा आफ्नो सम्पत्तिको अधिकांश हिस्सा दान गर्ने वाचा गरेकी थिइन् । त्यसयता, उनले प्रगति प्रतिवेदन नमागिकनै गैर–नाफामूलक संस्थाहरूलाई ठूला र बिना शर्त अनुदानहरू वितरण गर्दै आएकी छन् । उनको सहयोग मुख्यतया अमेरिकामा केन्द्रित भए पनि यो अन्यत्र पनि फैलिएको छ ।

स्कटको कुनै सार्वजनिक फाउन्डेशन छैन । त्यसैले उनको सहयोगलाई स्वतन्त्र रूपमा ट्रयाक गर्न सजिलो छैन । तर, उनले आफ्नो वेबसाइट यिल्ड गिभिङमा पोस्ट गरिने ब्लग र निबन्धहरूमार्फत आफ्ना सहयोगहरूबारे जानकारी दिन्छिन् । त्यहाँ अहिले उनका अनुदानहरूको डेटाबेस पनि समावेश छ ।

उनको वार्षिक सहयोगको रकममा उतारचढाव देखिएको छ । सन् २०२३ मा २ अर्ब १० करोड डलर रहेकोमा सन् २०२५ मा ७ अर्ब १० करोड डलर पुगेको छ । यो वर्ष स्कटको सहयोग उच्च शिक्षा र जलवायु क्षेत्रमा केन्द्रित देखिएको छ ।

मंगलबार सन् २०२५ का लाभार्र्थीहरूको सूची प्रकाशित हुँदा त्यसमा जलवायु समूहहरूलाई दिइएका महत्त्वपूर्ण सहयोगहरू समावेश थिए । सबैभन्दा ठूलो रकम ९ करोड डलर फरेस्ट, पिपल, क्लाइमेट नामक संस्थालाई गयो । त्यसले उष्णकटिबन्धीय वनविनाश रोक्नका लागि काम गर्छ ।

गैर–नाफामूलक संस्था पानोरामा ग्लोबलले वर्षौंदेखि स्कटको सहयोगको विश्लेषण गरेको छ र ऐतिहासिक रूपमा वातावरण क्षेत्रमा गरिएको सहयोग उनको कुल दानको सानो हिस्सा मात्र रहेको पाएको छ । उनीहरूको अनुसन्धान अनुसार, सन् २०२४ मा स्कटको उपहारको ९.४ प्रतिशत हिस्सा मात्र वातावरणीय समूहहरूमा गएको थियो यद्यपि ती उपहारहरूको रकम अन्य क्षेत्रको तुलनामा औसतमा ठूलो थियो ।

मिथेन उत्सर्जन घटाउने परियोजनाहरूलाई वार्षिक करिब १० करोड डलर प्रदान गर्ने ग्लोबल मिथेन हबले स्कटबाट दोस्रोपटक सहयोग प्राप्त गरेको छ । यसपटक उसले ६ करोड डलरको सहयोग गरेको छ । सीईओ मार्सेलो मेनाले यो लचिलो र उदार सहयोगलाई जादूयी भनेका छन् र ट्रम्प प्रशासनले जलवायु परिवर्तनमा सामूहिक सरकारी कार्यलाई कमजोर बनाएको बेला यो सहयोग महत्त्वपूर्ण समयमा आएको बताएका छन् ।

स्कटको सम्पत्ति दान गर्दागर्दै पनि बढेको छ । फोर्ब्सका अनुसार, उनले सन् २०२० मा आफ्नो दानको विवरण दिन थाल्दा उनको सम्पत्ति करिब ३६ अर्ब डलर थियो । वर्षौंदेखि यसमा उतारचढाव आएको छ । तर, आज २६ अर्ब डलरभन्दा बढी दान गरिसक्दा पनि फोर्ब्सले उनको कुल सम्पत्ति ३३ अर्ब डलर रहेको अनुमान गरेको छ ।

सुरुमा स्कटले अनुदान लाभार्थीहरूलाई दोस्रो अनुदानको आशा वा योजना नगर्न भनेकी थिइन् । तर, समय बित्दै जाँदा उनले उनै संस्थाहरूलाई थप उपहार दिएकी छन् । ती प्रायः उनको पहिलो अनुदानभन्दा ठूलो रकम हुने गरेको छ ।

स्कटको वेबसाइटका अनुसार, अफ्रिकी देशहरूमा बालिका शिक्षालाई सहयोग गर्ने संस्था क्यामफेडले स्कटबाट अहिलेसम्म चारपटक अनुदान प्राप्त गरिसकेको छ । त्यसमा सन् २०२५ मा प्राप्त अहिलेसम्मकै ठूलो ६ करोड डलर पनि समावेश छ ।

सन् २०२५ मा ऐतिहासिक रूपमा अश्वेत कलेज र विश्वविद्यालयहरूलाई दिएको कम्तीमा ७८ करोड ३० लाख डलर बाहेक उनको वेबसाइटमा आदिवासी कलेजहरू, सामुदायिक कलेजहरू र छात्रवृत्ति कोषहरूलाई दिएका धेरै उपहारहरूको विवरण छ ।

स्कटले सन् २०२० देखि उच्च शिक्षामा सहयोग गर्दै आएको भए पनि ऐतिहासिक रूपमा ती उपहारहरू उनको शिक्षा कोषको सानो हिस्सा मात्र थिए । सन् २०२४ को विश्लेषणमा पानोरामा ग्लोबलले स्कटको शिक्षा अनुदान लाभार्थीहरूमध्ये करिब ३० प्रतिशत युवा विकासमा केन्द्रित रहेको पायो ।

स्कटले आफ्नो दानमा कुनै शर्त राख्दिनन् । त्यसो हुँदा लाभार्थीहरूलाई त्यो रकम कसरी र कहिले खर्च गर्ने भनेर निर्णय गर्न अनुमति दिन्छ । ठूला दाता र प्रतिष्ठानहरूबाट यस्तो विना शर्तको कोष विरलै आउँछ किनकि धेरैले निश्चित समयसीमाभित्र विशिष्ट परियोजनाहरूलाई समर्थन गर्न रुचाउँछन् ।

सेन्टर फर इफेक्टिभ फिलान्थ्रोपी को सन् २०२३ को अनुसन्धानले गैर–नाफामूलक संस्थाहरूले स्कटको कोष दुरुपयोग गर्ने वा दिगो नहुने गरी बढ्ने चिन्ताहरू खासै सत्य साबित नभएको देखाएको छ । स्कटको टोलीले दान गर्नुअघि समूहहरूको व्यापक अनुसन्धान र जाँचबुझ गर्ने गरेकाले यसो भएको हुन सक्छ ।

साथै, स्कटले समूहहरूलाई उनीहरूले कति रकम प्राप्त गरे भनेर सार्वजनिक गर्ने वा नगर्ने निर्णयको लचकता दिन्छिन् । सन् २०२५ मा लाभार्थीहरूमध्ये एक तिहाइभन्दा बढीले स्कटको अनुदान डेटाबेसमा रकम खुलाएका छैनन् ।