
काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले निर्माण कम्पनीहरुलाई काममा मोविलाइज हुन आग्रह गरेका छन् । अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताए ।
नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘रहरले ठेक्का तोडिएको होइन । अन्तिम अवस्थामा आएर ठेक्का तोडिएको हो । यद्यपि, तपाईहरु काममा मोविलाइज हुनुस । अहिले काममा निर्माण कम्पनी मोविलाइज भएको पनि देखिएको छ,’ उनले भने, ‘ल इज ल (कानुन भनेको कानुन हो) । अब मायाले हुँदैन । सबै काममा लागौं ।’
यस्तै, उनले कतिपय कम्पनीले बोनस पनि खाइरहेको बताए । ‘कतिपय निर्माण कम्पनीले लिएको ठेक्का कुनै पनि रुग्ण भएको छैन । कतिपयको सबै रुग्ण ठेक्का भएको छ,’ उनले भने, ‘अब निर्माण व्यवसायीहरु पनि स्मार्ट हुनुपर्छ ।’







प्रतिक्रिया