एनपीएलका बाँकी ४ खेलमा टिकट बेचेर क्यानले कमाउँछ ३ करोड ४० लाख

679
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको क्वालिफायर खेल मंगलबार हुँदै छ । क्वालिफ्लायर १ मा म‍ंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ ।

गत सिजनको उपविजेता सुदूरपश्चिम र यस सिजन उत्कृष्ट लय लिएको विराटनगरबीचको खेललाई फाइनल सरहको मानिएको छ । यी मध्येको बिजेता सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले बुधबार काठमाडौं र लुम्बिनीबीचको इलिमिनेटर प्रतिस्पर्धाको विजेतासँग बिहीबार फाइनल प्रवेशका लागि भिड्नु पर्नेछ ।

दोस्रो सिजनको एनपीएलमा टीयू मैदानमा फ्लड लाइटमा रातिको खेलहरुसमेत सञ्चालन भइरहेका छन् भने शुक्रबार र शनिवार तथा केही खेलमा रंगशालामा दर्शक खचाखच भरिएका थिए । लिगचरणमै दर्शकले राम्रो साथ दिएको एनपीएलमा मंगलबारबाट अर्को चरणका खेल सुरु हुन लागेको हो ।

यसअघि सामान्य दिनमा रंगशालामा पुगेर क्रिकेट हेर्न ५ सयको रुपैयाँको टिकट पाइने भए पनि लिग चरण सकिएपछि साधारण टिकटको मूल्य थपिएको छ ।

क्यानका अनुसार प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ । त्यस्तै प्रिमियम टिकट प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ । कतिपयले यस्तो पाससमेत लिएका छन् ।

अब, बाँकी खेलका लागि क्यानले टिकट बिक्रीबाट कति आन्दानी गर्छ भन्नेबारे हेरौं ।

टीयूस्थित क्रिकेट रंगशाला १० हजार दर्शक क्षमताको रहेको छ ।

त्यसमध्ये क्यानले आफू मातहतका जिल्ला संघ, आयोजक लगायतका लागि ५ सय टिकट राख्ने गरेको छ । दर्शक बाहेक टिम म्यानेजमेन्ट, खेलाडी परिवार, क्यानको निमन्त्रणमा आएका भीआईपीलाई पनि सीट व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

आठ फ्रेन्चाइजी टीमका लगानीकर्ता, खेलाडी परिवार लगायतलाई १५ सय टिकट राखिने छ ।

बाँकी ८ हजार टिकट रंगशालामा खेल हेर्न पुग्ने दर्शकले काट्न पाउँछन् । त्यसमध्ये प्रिमियम टिकटका लागि ४ सय सिट छुट्याइएको छ । जसको मूल्य २ हजार रुपैयाँ तोकिएको छ । यसबाट क्यानले फाइनलसम्मका बाँकी खेलका लागि दैनिक ८ लाख आम्दानी गर्ने छ ।

बाँकी ७ हजार ६ सय टिकट क्यानले १ हजारका दरले बिक्री गर्छ । यस हिसाबमा क्यानल‍े सार्वसाधारणतर्फबाट १ हजारका दरले टिकट बिक्री गर्दा ७६ लाख रुपैयाँ संकलन गर्छ । केहीले १५ हजार मूल्य तिरेर यस सिजनका लागि समेत पास लिएका छन् त्यसबाट पनि क्यानले कमाइ गर्छ ।

प्लेअफ देखिका बाँकी ४ खेलमा टिकट सोल्ड हुने विश्वास गर्न सकिन्छ । यस हिसाबमा क्यानले प्रिमियम र साधारण गरेर दैनिक करिब ८५ लाख रुपैयाँको टिकट बिक्रीबाट आम्दानी गर्छ । यस हिसाबमा क्यानले बाँकी ४ खेलबाट ३ करोड ४० लाख रुपैयाँ आम्दानी गर्न सक्छ ।

क्यान स्रोतका अनुसार दोस्रो सिजनको एनपीएलको उद्घाटनका दिन ५५-६० लाख रुपैयाँ टिकट बिक्रीबाट आम्दानी भएको छ।

पहिलो सिजन गरेको थियो २७ करोड ६९ लाख आम्दानी

क्यानले पहिलो संस्करणको एनपीएलमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको थियो । कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको थियो ।

प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँट गरिएको थियो । जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका थिए । राजस्व बाँडफाँटपछिको क्यानको खुद नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ रहेको थियो ।