
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आम सर्वसाधारण र मध्यम वर्गलाई राहत दिने बजेट ल्याएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले आम सर्वसाधारण र मध्यम वर्गलाई राहत दिनेगरी बजेट ल्याएको बताएका हुन् ।
‘अर्थतन्त्रको जगलाई बलियो बनाउन चालिएका कतिपय सुधारात्मक कदमहरूलाई भने आगामी वर्षहरूमा क्रमशः कार्यान्वयन गर्दै लैजाने गरी हाललाई थाती राखिएको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘हाल बजार सुस्त रहेको र आर्थिक गतिविधि अपेक्षित रूपमा चलायमान हुन नसकेको यथार्थलाई स्वीकार गर्दै सरकारले आम सर्वसाधारण र मध्यम वर्गलाई राहत दिन आयकरको सीमामा उल्लेख्य वृद्धि गरी १० लाख रुपैयाँ पुर्याएको छ ।’
अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता करको बोझ थप्ने नभई करको दायरालाई फराकिलो बनाउनेतर्फ केन्द्रित रहने बताए । राजस्व संकलनको लक्ष्यका प्रस्ट पार्दै उनले आगामी आर्थिक वर्षका लागि १४ खर्ब रुपैयाँ राजस्व उठाउने प्रारम्भिक लक्ष्य राखिएको भए तापनि सरकारको वास्तविक तादम्यता र क्षमता त्योभन्दा माथि रहेको उल्लेख गरे ।
सरकारले आन्तरिक स्रोत परिचालनलाई तीव्र बनाउँदै १५ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने उच्च लक्ष्य बोकेको छ । यसरी केन्द्र सरकारले संकलन गरेको करको ठूलो हिस्सा संघीयताको मर्म अनुरूप तल्लो तह अर्थात् प्रदेश र स्थानीय सरकारहरूमा पठाउनुपर्ने संवैधानिक र व्यावहारिक जिम्मेवारी रहेको बताए ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन अर्थात् जिडीपीको अनुपातलाई हेर्ने हो भने वर्तमान बजेटको आकार वास्तवमै सानो रहेको अर्थमन्त्री बताए । नेपालको आर्थिक आवश्यकता, वैदेशिक ऋण, अनुदान र उपलब्ध करको मौजुदा आधारलाई विश्लेषण गर्दा यो बजेट अत्यन्तै संकुचित र सानो देखिएको उनको तर्क छ ।









प्रतिक्रिया