बीवाईडीको ग्रेट ताङ एसयूभी अर्को साता लन्च हुने, ९५० किलोमिटर रेन्ज

532
Shares

एजेन्सी । बीवाईडीको बहुप्रतीक्षित ग्रेट ताङ एसयूभी जुन १७ मा आधिकारिक रूपमा सार्वजनिक हुने भएको छ ।

अटोहोमले सार्वजनिक गरेको जानकारी अनुसार, तीन लहरको सिट भएको यो अत्याधुनिक विद्युतीय एसयूभीको प्रि–सेल्स गत अप्रिल २४ बाट सुरु भएको थियो । मे ७ सम्ममा यसले १ लाखभन्दा बढी अर्डरहरू प्राप्त गरिसकेको छ जसले यसलाई सन् २०२६ मा बीवाईडीको सबैभन्दा प्रतीक्षा गरिएको उत्पादनमध्ये एक बनाएको छ ।

हाल यो मोडल तीनवटा भेरियन्टमा उपलब्ध छ जसको प्रि–सेल मूल्य २ लाख ५० हजार युआन (५६ लाख १२ हजार रुपैयाँ) देखि ३ लाख २० हजार युआन (७१ लाख ८३ हजार) सम्म तोकिएको छ ।

यो ठूलो एसयूभीले बीवाईडीको पछिल्लो डिजाइन शैली अपनाएको छ जसमा अगाडि र पछाडि पूर्ण चौडाइको लाइटिङ सिग्नेचर, चम्किलो बीवाईडी लोगो र ठाडो रूपमा मिलाइएका हेडल्याम्पहरू जडान गरिएको छ । यसको छतमा लिडार सेन्सर जडान गरिएको छ भने यसको ५२ सय ६३ एमएम लम्बाइ, १९ सय ९९ एमएम चौडाइ र १७ सय ९० एमएम उचाइले यसलाई हालको ताङ परिवारको मोडलहरूभन्दा निकै माथि राखेको छ ।

यसको ३१ सय ३० एमएमको लामो ह्विलबेस र आधी लुकेका ढोकाका ह्यान्डलहरूले यसलाई कम्पनीको फ्ल्यागशिप मोडलको रूपमा स्थापित गर्छन् । बीवाईडीका अनुसार, यसमा गड्स आई ५.० अत्याधुनिक ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ जसले शहरी सडक र राजमार्गहरूमा सुरक्षित ड्राइभिङका लागि सहयोग पुर्याउनेछ ।

पारिवारिक ग्राहकहरूलाई लक्षित गर्दै यसको भित्री भाग २+२+३ को सात–सिटे लेआउटमा तयार गरिएको छ । गाडीको ड्यासबोर्डमा आकर्षक काठको फिनिसिङ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ठूलो फ्लोटिङ सेन्ट्रल टचस्क्रिन र हेड–अप डिस्प्लेको उत्कृष्ट संयोजन देख्न सकिन्छ ।

सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड र विभिन्न भौतिक सर्टकट बटनहरू राखिएका छन् । पछाडि बस्ने यात्रुहरूका लागि छुट्टै मनोरञ्जन स्क्रिन र गाडीभित्रै फ्रिजको सुविधा पनि उपलब्ध गराइएको छ ।

यसको शक्ति र क्षमताको कुरा गर्दा सुरुवाती ८०० किलोमिटर रेन्ज दिने रियर–ह्विल ड्राइभ मोडलमा १०५.७९ किलोवाट आवरको ब्याट्री र ३०० किलोवाटको मोटर छ । अर्को लङ–रेन्ज भेरियन्टमा १३०.१५ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले ९५० किलोमिटरको सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ ।

यसको सबैभन्दा शक्तिशाली अल–ह्विल ड्राइभ भेरियन्टले ५८५ किलोवाट पावर उत्पादन गर्छ र मात्र ३.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घण्टाको गति समात्न सक्छ । यस एसयूभीमा बीवाईडी फ्ल्यास चार्जिङ प्रविधि र डिसस–ए इन्टेलिजेन्ट एयर सस्पेन्सन जस्ता सुविधाहरू छन् जसले सडकको अवस्था हेरेर गाडीको उचाइ र डम्पिङलाई स्वचालित रूपमा समायोजन गर्छन् ।

जुन १७ को सार्वजनिक कार्यक्रम बीवाईडीले प्रि–सेल्समा पाएको अभूतपूर्व मागपछि तय गरिएको हो । बुकिङ सुरु भएको दुई हप्ताभन्दा कम समयमै एक लाखभन्दा बढी अर्डर आएका कारण ‘ब्लेड ब्याट्री २.०’ को आपूर्तिमा दबाब पर्न गई सार्वजनिक गर्ने तालिका केही पछाडि सरेको थियो ।

चीनमा बीवाईडीको ताङ लाइनअपका अन्य गाडीहरूको पनि राम्रो बिक्री भइरहेको छ जसमा गत अप्रिलमा ताङका १८ सय २९ युनिट र टाङ एलका ७ सय ९१ युनिट बिक्री भएका थिए । डेलिभरी सुरु भएपछि ग्रेट ताङ यस परिवारको सबैभन्दा ठूलो र लामो रेन्ज दिने उत्कृष्ट सदस्य बन्ने निश्चित छ ।