
काठमाडौं । जेनजी आन्दोलनका नाममा भएको तोडफोड लुटपाट र आग्जनीका कारण गम्भीर क्षति पुगेको नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट भाटभटेनी विध्वंसको पीडा भुलेर उठ्न थालेको छ । भदौ २४ गते भएको तोडफोड लुटपाट र आग्जनीका कारण भाटभटेनीका १२ स्टोरमा १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।
बालुवाटारस्थित ललिता निवासमा रहेको गोदाम यही मंसिर १८ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले बताए ।
रुद्री पुजा लगाएर यही मंसिर १८ गतेदेखि बालुवाटारमा रहेको गोदाम सञ्चालनमा ल्याउँदै छौं गुरुङले क्लिकमान्डुसँग भने, ‘फागुनभित्र कोटेश्वर र महाराजगञ्जका २ वटा स्टोर सञ्चालनमा ल्याउने छौं ।’
भाटभटेनीको देशभर रहेका स्टोहरूमा सामान्यदेखि पूर्ण रुपमा क्षति पुगेको छ । भाटभटेनीका १२ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
भाटभटेनीका विर्तामोड, दमक, विराटनगर, धरान, हेटौंडा, पोखरा, भरतपुर, बालुवाटारमा रहेको मुख्य गोदाम, टंगालको सबैभन्दा पुरानो स्टोर, महाराजगञ्ज, कोटेश्वर र बौद्ध चुच्चेपाटीमा रहेको स्टोर पनि पूर्ण रपमा क्षतिग्रस्त भएका थिए । गुरुङले भने, ‘आगलागी भएका स्टोरका भवन नै शून्यबाट सुरु गर्नुपर्छ ।’
बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो ।
आफू पैसा कमाउन मात्र व्यापारी नबनेको बताउँदै उनले आफ्नो दौडधुप देशकै लागि भएको बताए । ‘पैसा कमाउँ भन्नेमात्र सोच होइन, रोजगारी सिर्जना होस्, सबै जना सम्पन्न होऔं, देश बनोस् भनेर व्यापार गरेको हुँ,’ उनले थपे ।
गुरुङले केही महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने बताए ।
‘सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ,’ फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ’, उनले भने ।
यति ठूलो क्षति व्यहोर्दा पनि भाटभटेनीले कर्मचारी र कामदार निकालेन भने दशैं भत्ता र बोनस पनि दिएको थियो । भाटभटेनीले ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ भने सरकारले धेरैपटक बढी कर तिरेको भन्दै सम्मान पनि गरिसकेको छ ।
गुरुङले २०४१ सालमा भाटभाटेनी मन्दिर छेउमै १० बाई १२ को एउटा सानो कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर एउटा किराना पसल खोले । सामान्य सटर भाडामा लिएर किराना पसल चलाएका उनले त्यसको एक दशकमै नक्सालमै ३ हजार स्क्वायर फिटको भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउँदै नेपालमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भित्र्याएका थिए ।
संरचनामाथि यतिको ठूलो क्षति हुँदा पनि आगजनीपछि भाटभटेनी सुपर मार्केटले सन्देश जारी गर्दै भनेको थियो, ‘दुःखद क्षणहरू गुज्रिए , तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् ।’
यसका साथै सन्देशमा, ‘भाट-भटेनी फेरि उभिने छ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं’ भनि संकल्प गरिएको थियो । यद्यपि, क्षति पुगेका भाटभटेनी सुपर स्टोरमध्ये १६ शाखा भने यसअघि नै सञ्चालनमा आइसकेका छन् जानकारी दिइएको थियो ।
भाटभाटेनीले देशभर रहेका आफ्ना २८ शाखाबाट २५ अर्ब रुपैयाँ रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ । गुरुङले आफूले कमाएको सम्पत्तिबाट अर्बौं रकम समाज सेवामा खर्च गर्दै आएका छन् ।








प्रतिक्रिया