
काठमाडौं । नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् लैजाने भएको छ। हाल ४० मेगावाट जलविद्युत् आयात गरिरहेको बंगलादेशले आगामी बर्खादेखि कुल ६० मेगावाट बिजुली नेपालबाट लिन सहमति जनाएको हो । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को सातौँ बैठक मंसिर ११ गते ढाकामा बसेपछि दुई देशबीच यस्तो सहमति बनेको हो ।
बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताज सहअध्यक्ष थिए । यसअघि मंसिर १० गते बसेको संयुक्त कार्यदल (जेडब्ल्यूजी) को बैठकमा भएका सिफारिस र छलफललाई आधार बनाएर सचिवस्तरीय बैठकले विद्युत् व्यापारदेखि ऊर्जा सहकार्यका विभिन्न विषयमा टुंगो गरेको हो ।
सञ्चालित ४० मेगावाट विद्युत् आयातमा २० मेगावाट थप्न दुवै पक्ष सहमत भएका छन् । आवश्यक प्रक्रिया पूरा भएपछि बंगलादेशले नेपालबाट थप बिजुली लैजानेछ । बैठकमा सुनकोशी–३ जलविद्युत् आयोजनामा बंगलादेशले चासो देखाउँदै मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र लगानीका विषय छिटो टुंग्याउने प्रतिबद्धता पनि जनाएको छ ।
त्यसैगरी, नेपालबाट भारतीय ग्रिडमार्फत बंगलादेशको बरापुकारया, पञ्चगढ/ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यातको सम्भावना अध्ययन गर्ने सहमति पनि भएको छ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा दुवै देशले आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी छिट्टै हस्ताक्षर गर्ने सहमतिमा पुगेका छन् । यसका अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ तथा रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।
दुवै देशले क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने निर्णय पनि गरेका छन्। पहिलो चरणमा बंगलादेशी टोलीका लागि तालिम काठमाडौंमा सञ्चालन हुनेछ भने दोस्रो चरणमा नेपाली टोलीका लागि बंगलादेशमा प्रशिक्षण गराइनेछ। साथै, नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा त्रिदेशीय सहकार्यका लागि तयार गरिएको समझदारीपत्र (एमओयू) मा भारतको सहमति लिन संयुक्त पहल गर्ने निर्णय पनि बैठकले गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया