
काठमाडौं । व्यक्तिगत कर चुक्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर (प्यान) घरमै बसेर सजिलै अनलाइनबाट लिन पाइन थालेको छ । ४० लाख रुपैयाँसम्म वार्षिक आय भएका तथा एउटै रोजगारदाताबाट तलब खाने व्यक्तिहरूका लागि अब कर चुक्ता प्रमाणपत्र पाउन कर कार्यालय धाउनुपर्ने आवश्यकता छैन । त्यस्तै तपाईंका आय–व्यय, तलबी विवरण, व्यावसायिक कारोबार जस्ता सबै वित्तीय गतिविधि कर प्रणालीमा दर्ता गर्न आवश्यक पर्ने प्यान नम्बर पनि अनलाइनबाटै बनाउन सकिन्छ । राष्ट्रिय परिचयपत्र नम्बरबाट व्यक्तिगत प्यान नम्बर बनाउन सकिन्छ र सो प्यान नम्बरबाट कर चुक्ता प्रमाणपत्र लिन सकिन्छ ।
दुवै व्यवस्था अर्थमन्त्री रामेश्वर खनालले मंसिर १ गते कर दिवसको अवसरमा सुरू गरेका हुन् ।
कुनै पनि व्यक्तिले रोजगारी प्राप्त गरेपछि अथवा उद्यम सुरु गरेपछि वा कुनै पनि ठाउँमा लगानी गरिसकेपछि ती व्यक्तिले आफूले प्राप्त गरेको रकममा तोकिएको दरले कर तिर्नुपर्छ । त्यसका लागि व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य छ । यो सुविधा अब घरबाटै लिन सकिन्छ । आन्तरिक राजस्व विभागले कर चुक्ता प्रमाणपत्र र प्यान दुवै अनलाइन प्रणालीमार्फत उपलब्ध गराएपछि प्रक्रिया अझ सहज र समय बचत हुने भएको छ ।
कर प्रणालीसँग सम्बन्धित यी दुई महत्वपूर्ण दस्तावेज नागरिक, व्यवसाय तथा सरकारी संयन्त्रबीचको आर्थिक गतिविधि व्यवस्थित गर्ने आधार हुन् ।
कर चुक्ता प्रमाणपत्र व्यक्ति वा संस्थाले तोकिएको अवधिसम्मका सबै कर दायित्व पूरा गरेको प्रमाणित कागज हो । यस्तो प्रमाणपत्र बिना धेरै सरकारी सेवा प्राप्त गर्न कठिनाइ हुन्छ । कर चुक्ता अनिवार्यताले कर तिर्ने संस्कृतिलाई मजबुत बनाउँछ । सार्वजनिक ठेक्का, व्यवसाय दर्ता नवीकरण, बैंक तथा वित्तीय संस्थामा कारोबार पुष्टि, साथै वैदेशिक रोजगारी वा अध्ययनका लागि समेत यो प्रमाणपत्र आवश्यक पर्छ ।
त्यस्तै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) करदाताको छुट्टै पहिचानका रूपमा प्रयोग हुने प्रमाणित दर्ता नम्बर हो। आय–व्यय ट्र्याक गर्न, पारिश्रमिक र व्यावसायिक आम्दानीमा पारदर्शिता ल्याउन तथा कर छली नियन्त्रण गर्नका लागि प्यान नम्बरको दायरा निरन्तर बढाइँदै आएको छ । त्यसकारण पनि सरकारले कर्मचारी, व्यवसायी तथा सेवा प्रदायक सबैलाई यो नम्बर अनिवार्य बनाइसकेको छ ।
यी दुई प्रणालीले कर प्रशासनलाई भरपर्दो र विश्वसनीय बनाउने मात्र होइन, गैरकानुनी वित्तीय गतिविधि रोकथाम, राजस्व वृद्धि र वित्तीय अनुशासन स्थापनामा पनि महत्वपूर्ण योगदान पुर्याइरहेका छन् ।
नेपालमा हरेक वर्ष ३ देखि ४ लाख नयाँ युवा रोजगारी बजारमा प्रवेश गर्छन् । कोही नोकरी खोज्दै कार्यालयमा जाने, कोही व्यवसाय सञ्चालन गर्ने त कोही लगानीका अवसर पछ्याउँदै अघि बढ्ने क्रम निरन्तर जारी नै छ । जनसंख्याको संरचना नै यस्तो छ कि हरेक वर्ष ठूलो संख्यामा नयाँ श्रमशक्ति रोजगारको दायरा विस्तार गर्दै बजारमा प्रवेश गर्ने गर्छन् ।
सरकारका अनुसार यी सबै नयाँ रोजगारीमा आउने व्यक्तिहरूले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन अनिवार्य हुन्छ । यसका लागि कर कार्यालय धाउनुपर्ने बाध्यता थियो । तर अब भने त्यस्ता झन्झट हराएको आन्तरिक राजस्व विभागका निर्देशक बासुदेव पौडेल बताउँछन् ।
निर्देशक पौडेलका अनुसार राजस्व प्रणालीसँग जोडिएको कर चुक्ता र प्यान दर्ता अनलाइन भएपछि वार्षिक ३ देखि ४ लाख जना नयाँ श्रमशक्ति प्रत्यक्ष लाभान्वित हुने देखिएको छ । ‘यति नै संख्यामा अर्थात् ३ देखि ४ लाख एकल रोजगारदाताबाट तलब बुझ्ने नागरिक पनि हरेक वर्ष कर प्रणालीमा समावेश हुने गर्दछ,’ निर्देशक पौडेलले भने, ‘यसले गर्दा समग्रमा झन्डै ८ देखि ९ लाख नेपाली करदातालाई अनलाइन प्यान र कर चुक्ता प्रमाणपत्र प्रणालीले प्रत्यक्ष लाभ प्रदान गर्ने अनुमान गरिएको छ। यसरी हरेक वर्ष ८–९ लाख नेपाली अनलाइन प्यान र कर चुक्ता प्रणालीबाट प्रत्यक्ष लाभान्वित हुँदै जाने विभागले अपेक्षा गरेको छ ।’
विशेषगरी एकल रोजगारदाताबाट तलब बुझ्ने कर्मचारीहरूका लागि अनलाइन ‘ट्याक्स क्लिरेन्स’ प्रणालीले अझै सुलभता दिएको छ । तलब, बोनस, भत्ता लगायतको विवरण राखेर मोबाइलमै कर गणना गर्न सकिने, प्रमाणपत्र डाउनलोड गर्न सकिने र कर कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
अहिले अधिकांश नेपालीको हातमा मोबाइल छ, त्यसैमार्फत इन्टरनेट प्रयोग हुन्छ। यही उपलब्ध प्रविधिको उपयोग गर्दै सरकारले प्यान दर्ता प्रक्रिया पूर्णतः अनलाइनमार्फत उपलब्ध गराएको हो । अब नयाँ रोजगारीमा प्रवेश गर्ने व्यक्तिहरूले घरमै बसेर मोबाइलबाटै व्यक्तिगत प्यान सहजै लिन सक्ने व्यवस्था बनेको छ । यसले समय, खर्च र श्रम तीनैको बचत गरेको छ ।
‘यसभन्दा अगाडि वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीले आफ्नै घरबाटै कर चुक्ता निकाल्ने सुविधा छ । त्यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिएका र वार्षिक ४० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिहरूले पनि आफ्नो घरबाट आफैंले आफ्नो कर चुक्ता लिन सकिने सुविधाको शुभारम्भ गरेका छौं,’ निर्देशक पौडेल भन्छन्, ‘यस विधिमा सुरुमा केही कठिनाइ भए पनि प्राक्टिस गर्दै जाँदा यी विधिहरू अप्ठ्यारा छैनन् । केही अप्ठ्यारो परे हाम्रा नजिकका कार्यालय, करदाता सेवा कार्यालय, ट्याक्स एक्सपर्ट र जान्ने मान्छेहरूसँग सल्लाह र आइडिया लिएर पनि सजिलै यी दुईटा सुविधा लिन सकिन्छ ।’
कसरी लिने कर चुक्ता प्रमाणपत्र ?
अनलाइनबाट चुक्ता प्रमाणपत्र लिन सबैभन्दा पहिले आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा गई करदाता पोर्टलमा प्रवेश गरेर लगइन गरी ट्याक्स क्लिरेन्स मेनुमा जानुपर्छ । त्यहाँ करदाताको नाम, ठेगाना, आर्थिक वर्ष, कार्यरत कम्पनीको प्यान, कार्यरत जिल्ला, मोबाइल नम्बर र इमेल लगायतका विवरण राखेपछि आम्दानी–खर्चको अर्को विवरण राख्ने अर्को फारम खुल्छ । त्यहाँ तलब, बोनस, भत्ता तथा विभिन्न कोषमा योगदान गरेको रकम जस्ता विवरणहरू राखेर सब्मिट गर्दा कर चुक्ता प्रमाणपत्र तयार हुन्छ ।
त्यस्तै व्यक्तिगत प्यान नम्बर पनि यसरी नै अनलाइनबाट लिन सकिन्छ। जसका लागि www.ird.gov.np मा गई करदाता पोर्टल खोलेर रजिस्ट्रेसनमा गएर एप्लिकेसन फर पी–प्यान रजिस्ट्रेसन मा क्लिक गरी राष्ट्रिय परिचयपत्रमा दर्ता गरिएको मोबाइल नम्बर राखी क्याप्चा भरेपछि आएको ओटीपी राख्नुपर्छ ।
त्यसपछि स्थायी अस्थायी ठेगाना, नागरिकता विवरण, परिवारका सदस्यको नाम जस्ता विवरण जाँचेर सब्मिट गरेपछि प्यान नम्बर तुरुन्तै तपाईंले प्राप्त गर्न सक्नुहुन्छ ।
यसरी अब घरमै बसेर केही मिनेटमै व्यक्तिगत कर चुक्ता प्रमाणपत्र र प्यान कार्ड दुवै अनलाइनबाट प्राप्त गर्न सकिन्छ । यसले समय, खर्च र झन्झट सबै घटाउने निर्देशक पौडेल बताउँछन् । ‘करको सेवालाई नागरिकको नजिक पुर्याउनका साथै आन्तरिक करदाता सेवा कार्यालयहरूलाई क्रमशः खारेज गरी यो सेवालाई स्थानीय तहमार्फत उपलब्ध गराउने गरी यो डिजिटल प्रणाली लागू गर्दै र विकसित गर्दै गएका छौँ,’ उनी भन्छन् ।
यो सुविधाले करदाताको लागत खर्च घटाउने र डिजिटल ट्रान्सफर्मेसनमार्फत सेवालाई झन् सरल, प्रभावकारी र गुणस्तरीय रूपमा प्रवाह गर्ने आन्तरिक राजस्व विभागको विश्वास छ ।







प्रतिक्रिया