
काठमाडौं । अबदेखि व्यक्तिगत ट्याक्स क्लियरेन्स अर्थात् कर चुक्ता प्रमाणपत्र लिन कर कार्यालय जानु पर्दैन । हो, तपाईं ठीक सुन्दै हुनुहुन्छ । अब राजस्व कार्यालय होइन, घरमै बसेर कर चुक्ता प्रमाणपत्र लिन सकिन्छ ।
४० लाख रुपैयाँसम्मको वार्षिक आय भएका र एकल रोजगारदाता भएका अर्थात् एउटा कम्पनीबाट मात्र तलब खानेहरूले अब व्यक्तिगत कर चुक्ता प्रमाणपत्र घरमै बसेर अनलाइनबाट लिन सक्नेछन् ।
त्यसो भए अनलाइनबाट कर चुक्ता प्रमाणपत्र कसरी लिने ? यसको प्रत्रिया के छन् ? यो भिडियोमा हामी स्टेप बाइ स्टेप जानकारी गराउने छौं ।
ट्याक्स क्लियरेन्स सर्टिफिकेट लिन सर्वप्रथम तपाईंले आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा गएर ‘करदाता पोर्टल’ मा प्रवेश गर्नुपर्छ ।
त्यसपछि करदाता पोर्टलको ‘लगइन’ मेनुमा गएर आफ्नो प्यान नम्बर, नाम र पासवर्ड प्रयोग गरी लग–इन गर्नुहोस् । लगईन गरेपछि ’ट्याक्स क्लियरेन्समा क्लिक गर्नुहोस् ।
’ट्याक्स क्लियरेन्स’ मा क्लिक गरेपछि करदाताको नाम र ठेगाना उल्लेख गरिएको फारम खुल्छ । त्यहाँ आर्थिक वर्ष, कार्यरत संस्था वा कार्यालयको स्थायी लेखा नम्बर, कार्यरत जिल्लालगायत आवश्यक विवरण चयन गरी मोबाइल नम्बर, इमेल ठेगानासमेत राखेर नेक्स्टमा क्लिक गरि अगाडि बढ्नुपर्छ ।
त्यसपछि खुल्छ ट्याक्स क्लियरेन्सको फारम जहाँ आफ्नो आम्दानी खर्चको विवरण राख्नुपर्ने हुन्छ ।
यो फारममा आफ्नो व्यक्तिगत आय विवरण जस्तै तलब, बोनस, अरू भत्ता, विभिन्न कोषमा राख्ने रकमलगायत सबै विवरण राखेर ‘क्याल्कुलेट ट्याक्स’मा क्लिक गर्नुहोस् ।
त्यसपछि आफ्नो आम्दानी र खर्च अनुसार कर दायित्वको विवरण डिस्प्लेमा देखाइन्छ । ती विवरण सही भएको सुनिश्चित गरेपछि अन्त्यमा सबमिट गर्नुपर्छ । यसरी तपाइले कर चुक्ताको प्रमाण पत्र प्राप्त गर्न सक्नु हुनेछ । सबमिट गरेपछि प्रिन्ट ट्याक्स क्लियरेन्सको अप्सन देखिन्छ। उक्त अप्सनमा क्लिक गरी करदाताले आफ्नो कर चुक्ता प्रमाणपत्र सजिलै डाउनलोड गर्न सक्नेछन् ।
यसअघि निश्चित कारोबार गर्ने व्यावसायहरूले अनलाइन कर चुक्ता प्रमाणपत्र लिन सक्थे । अब भने व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् प्यान बाहकका लागि पनि अनलाइन ट्याक्स क्लियरेन्स सर्टिफिकेट लिने सुविधा दिइएको हो ।
सोमबार राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी व्यक्तिगत प्यान नम्बर र व्यक्तिगत कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै लिन सकिने प्रणालीको सुरुवात गरेका थिए ।








प्रतिक्रिया