
चितवन। धेरै खर्च गर्ने पर्यटक (हाई इन्ड टुरिष्ट) का लागि चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले सेवा सुरु गरेको छ ।
फ्रेन्च होटल समूह लुब्र होटल अन्तर्गतको पाँचतारे ब्रान्डको रोयल टुलिप चितवन भित्रिएको हो । केटीएम हस्पिटालिटी ग्रुपले यो होटल भित्र्याएको हो ।
रोयल टुलिप चितवनले विभिन्न २५ वटा भवनसहित ३ विगाहा क्षेत्रफलमा ६५ कोठाको रिसोर्ट सञ्चालनमा ल्याएको हो । रिसोर्ट सञ्चालनका लागि १ अर्ब ७५ करोड रुपैयाँ खर्च भएको केटीएम हस्पिटालिटी ग्रुपका अध्यक्ष रामेश्वर साहले बताए ।
यो पाँचतारे स्तरको होटल सञ्चालन गर्न २२ करोड रुपैयाँ जग्गामा, भौतिक संरचना निर्माणमा ७० करोड, फर्निसिङमा १९ करोडसहित अन्य क्षेत्रमा गर्नुपरेको खर्चका कारण लगानी १ अर्ब ७५ करोड रुपैयाँ पुगेको उनले बताए ।
होटलले स्थानीय उत्पादनलाई जोड दिएको छ । होटलमा प्रयोग भएका अधिकांश सामग्री उपलब्ध भएसम्म नेपाली नै प्रयोग भएको छ भने कर्मचारी पनि सिनियर लेबलका सीमितबाहेक सबैजसो नेपाली नै छन् । हाल होटलमा ९४ जना कर्मचारीले सेवा दिएका छन् भने हरेक डिपार्टमेन्टमा ५/६ जनासम्म इन्टर्न रहेका छन् ।

होटलका लागि आवश्यक जनशक्ति यहीबाट उत्पादन हुँदै जाने विश्वास पनि साहको छ । होटल परिसरमा क्यासिनोको समेत तयारी भइरहेको छ । क्यासिनो सञ्चालनपछि होटलमाभन्दा धेरै कर्मचारीले रोजगारी पाउने छन् ।
यो होटल सञ्चालन गर्ने केटीएम हस्पिटालीटी एक पब्लिक कम्पनीसमेत हो । सन् २०२० मा दर्ता भएको यो कम्पनी सन् २०२४ मै पब्लिकमा परिणत भइसकेको छ । लुभ्र होटल ग्रुपकै व्यवस्थापनमा रोयल टुलिप सञ्चालन हुन्छ ।
चितवनमा धेरै खर्च गर्ने पर्यटक आकर्षित गर्न स्थापना भएको यो होटलले यस अघि वाइल्ड लाइफ पर्यटनका लागि स्थापना भएका चितवन नेसनल पार्क भित्रका होटलपछि हाई इन्ड टुरिष्ट भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख छ । वन्यजन्तु संरक्षण र पर्यावरण मैत्री, स्थानीय कला संस्कृति र समूदायको प्रवर्द्धनलाई होटलले प्राथमिकता दिएको छ ।
यो होटलमा वाटर भिल्ला, होटल परिसरमित्रै १.८ किलोमिटरको पदयात्रा गर्न सकिने सुविधा, बच्चाहरुको लागि खेल्ने ठाउँ, रेष्टुरेन्ट, जीम, फिटनेस सेन्टर, हेलिप्याड, हेल्थ क्लब, स्वीमिङ पुल, पार्किङको सुविधा छ । होटलमा ५ सय जना जनासम्मको लागि विवाहका पार्टी दिन मिल्ने सुविधा छ ।
होटलमा सुपेरियरदेखि मचानसम्मका सुविधासम्पन्न कोठा छन् । होटलमा रहेका सुपेरियर कोठामा बस्न एक रातको १७ हजार रुपैयाँ लाग्छ भने सबैभन्दा महँगो मचानमा बस्न एक लाख रुपैयाँ लाग्छ । मचान तीन तलाको छ यसको टप फ्लोरमा रहेको कोठामा ग्राहकले रात बिताउन सक्छन् । होटलमा तीन वटा वाटरभिल्ला छ । पानीमाथि बनेका यी भिल्लामा बस्न प्रतिरात ७५ हजार रुपैयाँ शुल्क तोकिएको होटलले जानकारी दिएको छ ।

होटलमा रहेका कोठाहरुलाई जोडी, परिवार, हानिमुन मनाउन आउने, फूर्सदको सदूपयोग गर्दै रमाउन आउने ग्राहकदेखि ट्राभलरहरुसमेतलाई दृष्टिगत गरेर बस्ने खाने सुत्ने सुविधा दिइएको छ । होटलमा सुपेरियर, डिलक्स, प्रिमियम, पूल भिल्ला, वाटर भिल्ला र मचान हाउस क्वीन सुइटका कोठाहरु छन् ।
होटलमा सेमिनारको लागि ५० जनासम्मको लागि ध्यान सदन, १२० जना सम्मको लागि ज्ञान सदन र ५०० जना सम्मको लागि भेदा सदन छन् । होटलभित्रका संरचनालाई मालिस घर, तनाव गृह, शिशु कुन्ज, धुनी घरसहितका नेपाली नामबाट परिचित गराइएको छ । जसले होटलमा मौलिकता र नेपालीपनाको झझल्को दिन्छ ।

होटलमा पिउने पानीका लागि बोटलिङ प्लान्टसमेत जडान भएको छ । जहाँ होटलको लागि आवश्यक दैनिक ५ सय वोटल पानी त्यहीँ तयार हुन्छ । होटलमा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरिएको छ । पानीको लागि वातावरण मैत्री प्रविधि अपनाइएको छ भने सिसाको बोटलको प्रयोग हुन्छ ।
होटलका लगानीकर्ता साह केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष हुन् । उनले करिब तीन दशकदेखि नेपाल तथा अन्तर्राष्ट्रिय रूपमा सेक्युरिटी सर्भिसको कार्य गर्दै आएका छन् ।
गैरआवासीय नेपाली संघको उपाध्यक्ष र आउटसोर्सिङ नेपालको अध्यक्षसमेत भएर काम गरिसकेका साह यस अघि नेपाल सरकारको केन्द्रीय श्रम सल्लाहकार परिषद्, नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषमा बसेर काम गरेका थिए ।
होटल क्षेत्रमा प्रवेश गरेसँगै उनले सुरु गरेको पाँचतारे रिसोर्टले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनमा थप योगदान दिने विश्वास गरिएको छ ।
केटीएम ग्रुप अन्तर्गत केटीएम नेपाल, केटीएम सेक्युरिटी सर्भिस, केटीएम मोटर्स, केटीएम ट्रेनिङ एन्ड कन्सल्टेन्सी, केटीएम फ्यासिलिटी म्यानेजमेन्ट सर्भिस, केटीएम इन्टरनेसनल र केटीएम हस्पिटालीटी छन् ।








प्रतिक्रिया