
काठमाडौं । मधेशको प्रतिनिधित्व गरको जकपुर बोल्ट्स । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता । यसपाली पनि ‘उपाधि रक्षा’ गर्ने चुनौतीका साथ पहिलो सिजनको भन्दा दोब्बर बढी खर्च गरेर मैदनमा उत्रिएको छ । जनकपुरले विदेशी तथा नेपाली खेलाडी अनुबन्ध गर्न, ट्रफी टुर र अन्य लगानीमा नै करोडौं रकम खर्च गरिसकेको छ ।
विश्व क्रिकेटका स्टार लेग स्पिनर इमरान ताहिर र मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपाललाई भित्राउन मात्रै टोलीले ठूलो लगानी गरेको छ । गत सिजन जनकपुरले करिब १० करोड रुपैयाँ खर्च गरेकोमा यो सिजन त्यसको दोब्बर खर्च हुने अनुमान गरेको छ।
विदेशी खेलाडीमा लाहिरु मिलन्था, निकोल लोफ्टी–इटन, लाहिरु समराकून, वेन पार्नेल, सञ्जय कृष्णमूर्ति, संगीत कूरे र इमरान ताहिर छन् ।
यी विदेशी खेलाडी अनुबन्धमा मै बोल्ट्सले १ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ । टोलीले कुल ६ जना विदेशी खेलाडीहरू निकोल लोफ्टी–इटन, लाहिरु समराकून, वेन पार्नेल, सञ्जय कृष्णमूर्ति, इमरान ताहिर र संगित कुरेलाई अनुबन्ध गरेको छ ।
जसमध्ये इमरान ताहिरबाहेकका ५ जना विदेशी खेलाडी अनुबन्ध गर्न १ करोड रुपैयाँ खर्च भएको छ । यी खेलाडीहरूलाई मासिकरूपमा पारिश्रमिक दिने गरी पूरै सिजनका लागि अनुबन्ध छन् ।
तर, एनपीएलमा अनुबन्ध भएका चर्चित खेलाडीमध्ये एक इमरान ताहिरलाई भने जनकपुरले हरेक खेलको ५ लाख रुपैयाँ दिने शर्तमा अनुबन्ध गरेको छ । विश्व क्रिकेटका विभिन्न लिगहरू खेलिसकेका र चेन्नाई सुपर किङ्सका लागि इन्डियन प्रिमियर लिग जितेका इमरान ताहिरको आगमनले टोलीलाई थप बलियो बनाएको छ । तर, गत सिजन टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जिम्मी निशम भने यो पटक टोलीमा छैनन् ।
अब जाऔं नेपाली खेलाडी तर्फ ।
नेपाली खेलाडीहरुमा कप्तानमा अनिल कुमार साह, आसिफ शेख, ललित नारायण राजवंशी, तुलबहादुर थापा मगर, बिकाश बीसी, शुभ कंसाकर, सचिन भट्ट, रुपेश कुमार सिंह, किशोर महतो, माया यादव, आदित्य महता र पप्पु यादव छन् ।
यी नेपाली खेलाडी अनुबन्धमा जनकपुर बोल्ट्सले करिब एक करोड खर्च गरेको छ ।
जनकपुरले रिटेन गरिएका खेलाडीहरूले पहिलो सिजनको अक्सनमा पाएको मूल्य सरह नै पारिश्रमिक दिएको छ ।
मार्की खेलाडी आसिफ शेखका लागि २० लाख, दुई ‘ए’ क्याटेगोरीका खेलाडी अनिल शाह र ललितनारायण राजवंशीका लागि १५, १५ लाख, किशोर महतोका लागि १० लाख, रुपेश सिंहका लागि १० लाख र तुल बहादुर थापा मगरका लागि २ लाख खर्च गरेको छ ।
मिनि अक्सनमा जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै मयन यादवलाई (७ लाख ७५ हजार), आदित्य महतो (५ लाख), विशाल अग्री (५ लाख) र सचिन भट्टलाई (२ लाख) मा भित्र्याएको हो ।
गत सिजनमा जनकपुर बोल्ट्सले ५ खेलमा जित निकाल्दै क्वालिफायरमा पुगेर उपाधि जितेको थियो । उपाधिसँगै टोलीले क्यानबाट १ करोड १० लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेको थियो, जसले क्यानलाई बुझाउनु पर्ने शुल्क तथा अन्य खर्च कटौतीमा सहजता प्रदान गर्यो ।
ड्रिम स्पोट्र्स प्रालिले २ करोड ५ लाखमा खरिद गरेको यो टोली पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर दोस्रो सिजनको पनि प्रमुख दाबेदार बनेको छ । जनकपुर बोल्ट्स खरिद गर्ने ड्रिम स्पोर्टस म्यानपावर व्यवसायी अमित श्रेष्ठको कम्पनी हो । श्रेष्ठको शिखर ग्रुप अफ कम्पनिज अन्तर्गत् म्यानपावर, होटललगायत क्षेत्रमा लगानी छ ।
यस सिजन टोली मुख्य प्रायोजकको खोजीमा रहे पनि नेपोभिट, हेटौंडा कलेज अफ म्यानेजमेन्ट, नेपाल ल्युब लिमिटेड, हिमगिरी हाइजिन, हायात प्लेस र बेटर एप्लाइन्सजस्ता स्पोन्सरहरूले जनकपुरलाई आर्थिक भार कम गर्न मद्दत पुर्याएका छन् ।








प्रतिक्रिया