
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले यस सिजन ‘टाइटल डिफेन्ड’ गर्ने चुनौतीका साथ आफ्नो आन्तरिक खर्च अघिल्लो सिजनको तुलनामा आधा बढी हुने अनुमान गरेको छ । टोलीले विदेशी तथा नेपाली खेलाडी अनुबन्ध, ट्रफी टुर र अन्य खर्चमा करोडौं रकम खर्च गरिसकेको छ ।
विश्व क्रिकेटका स्टार लेग स्पिनर इमरान ताहिर र मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपाललाई भित्राउन टोलीले ठूलो लगानी गरेको छ । गत सिजन जनकपुरले करिब १० करोड रुपैयाँ खर्च गरेको थियो ।
यस सिजन मुख्य प्रायोजकको खोजीमा रहे पनि नेपोभिट, हेटौंडा कलेज अफ म्यानेजमेन्ट, नेपाल ल्युब लिमिटेड, हिमगिरी हाइजिन, हायात प्लेस र बेटर एप्लाइन्सजस्ता स्पोन्सरहरूले आर्थिक भार कम गर्न मद्दत पुर्याएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षसम्म घाटामा गए पनि क्लब सञ्चालन गर्ने प्रतिबद्धता जनाएका क्लबहरूमध्ये जनकपुर पनि एक हो । त्यसैले पनि जनकपुरले यो सिजन र गत सिजनको खर्चलाई नियन्त्रणमा लिएर अर्काे सिजन नाफामा जाने अपेक्षा राखेको छ ।

विदेशी खेलाडी अनुबन्धमा करोडौं खर्च
जनकपुर बोल्ट्सले यस सिजन विदेशी खेलाडी अनुबन्धमा १ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ । टोलीले कुल ६ जना विदेशी खेलाडीहरू निकोल लोफ्टी-इटन, लाहिरु समराकून, वेन पार्नेल, सञ्जय कृष्णमूर्ति, इमरान ताहिर र संगित कुरेलाई अनुबन्ध गरेको छ । गत सिजन टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जिम्मी निशम भने यो पटक टोलीमा छैनन् ।
जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाका अनुसार, इमरान ताहिरबाहेकका ५ जना विदेशी खेलाडी अनुबन्ध गर्न १ करोड रुपैयाँ खर्च भएको छ । यी खेलाडीहरूलाई मासिकरूपमा पारिश्रमिक दिने गरी पूरै सिजनका लागि अनुबन्ध गरिएको हो ।
‘पाँच जना विदेशी खेलाडी अनुबन्धका लागि एक करोड खर्च भएको छ । पूरै सिजनका लागि आएका खेलाडीका हकमा मात्र यो खर्च हो । खेल अनुसार रकम दिनुपर्ने खेलाडीका लागि बेग्लै छ,’ खतिवडाले भने ।
इमरान ताहिर अनुबन्ध गर्न कति खर्च भयो ?
एनपीएलमा अनुबन्ध भएका चर्चित खेलाडीमध्ये एक इमरान ताहिरलाई जनकपुरले हरेक खेलको ५ लाख रुपैयाँ दिने शर्तमा अनुबन्ध गरेको छ । ‘इमरानले प्रत्येक खेलको ५ लाख दिने शर्तमा टिममा अनुबन्ध गरेका हौं । उनको रकम जनकपुरका लागि खेल्ने खेलमा निर्भर गर्छ,’ खतिवडाले क्लिकमान्डुसँगको कुराकानीमा भने ।
विश्व क्रिकेटका विभिन्न लिगहरू खेलिसकेका र चेन्नाई सुपर किङ्सका लागि इन्डियन प्रिमियर लिग जितेका इमरान ताहिरको आगमनले टोलीलाई थप बलियो बनाएको छ ।
उनलाई टिमले नेपाली क्रिकेटको विकासका लागि लगानी गरेको अर्थ दिएको छ । प्रबन्ध निर्देशक खतिवडाले उनलाई हेर्नका लागि मात्र हजारौं दर्शक आउने अपेक्षा रहेको बताए ।
नेपाली खेलाडी अनुबन्धमा करिब एक करोड खर्च
जनकपुरले मार्की खेलाडी आसिफ शेखसँगै ललित नारायण राजवंशी, अनिल शाह, शुभम कंशकार, तुल बहादुर थापा मगर, किशोर महतो र रुपेश सिंहलाई रिटेन गरेको थियो । रिटेन गरिएका खेलाडीहरूले पहिलो सिजनको अक्सनमा पाएको मूल्य सरह नै पारिश्रमिक पाउनेछन् ।
मार्की खेलाडी आसिफ शेखका लागि २० लाख, दुई ‘ए’ क्याटेगोरीका खेलाडी अनिल शाह र ललितनारायण राजवंशीका लागि कुल ३० लाख (प्रत्येकलाई १५ लाख), किशोर महतोका लागि १० लाख, रुपेश सिंहका लागि १० लाख र तुल बहादुर थापा मगरका लागि २ लाख खर्च भएको छ ।
मिनि अक्सनमा जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै मयन यादव (७ लाख ७५ हजार), आदित्य महतो (५ लाख), विशाल अग्री (५ लाख) र सचिन भट्ट (२ लाख) लाई टिममा भित्र्याएको हो । यसरी, मिनी अक्सनमा टोलीले १३ लाख २५ हजार पर्स मनी बचाउन सफल भएको छ ।

गत सिजनको सफलता र यस सिजनको चुनौती
मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सले गत सिजन ५ खेलमा जित निकाल्दै क्वालिफायरमा पुगेर उपाधि जितेको थियो । उपाधिसँगै टोलीले क्यानबाट १ करोड १० लाख रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेको थियो, जसले क्यानलाई बुझाउनु पर्ने शुल्क तथा अन्य खर्च कटौतीमा सहजता प्रदान गर्यो ।
ड्रिम स्पोट्र्स प्रालिले २ करोड ५ लाखमा खरिद गरेको यो टोली पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर दोस्रो सिजनको पनि प्रमुख दाबेदार बनेको छ ।
सिजनको पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग ५ विकेटले पराजित भए पनि अनिल शाहको कप्तानीमा रहेको जनकपुरले अब नयाँ उत्साहका साथ मैदान उत्रने योजना बनाएको छ । टोलीले सिजनको दोस्रो खेलमा सोमबार विराटनगर किङ्सको सामना गर्दैछ ।
जनकपुर बोल्ट्स खरिद गर्ने ड्रिम स्पोर्टस म्यानपावर व्यवसायी अमित श्रेष्ठको कम्पनी हो । श्रेष्ठको शिखर ग्रुप अफ कम्पनिज अन्तर्गत् म्यानपावर, होटललगायत क्षेत्रमा लगानी छ ।
शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेज सोही ग्रुप अन्तगर्तको अर्को कम्पनी हो । १९ वर्षअघि स्थापना भएको शिखरले यूएई, साउदी अरेबियालगायत खाडी मुलुकमा कामदार पठाउने गरेको छ ।
जनकपुर बोल्ट्स टिम
हेड कोचः शिवनारायण चन्द्रपाल
कप्तानः अनिल कुमार साहो
नेपाली खेलाडीहरुः आसिफ शेख, ललित नारायण राजवंशी, तुलबहादुर थापा मगर, बिकाश कृषि, शुभ कंसाकर, सचिन भट्ट, रुपेश कुमार सिंह, किशोर महतो, माया यादव, आदित्य महता र पप्पु यादव ।
विदेशी खेलाडीः लाहिरु मिलन्था, निकोल लोफ्टी-इटन, लाहिरु समराकून, वेन पार्नेल, सञ्जय कृष्णमूर्ति, संगीत कूरे र इमरान ताहिर ।







प्रतिक्रिया