
काठमाडौं । सिद्धार्थ बैंकले नियामक नेपाल राष्ट्र बैंकको निर्देशनलाई चुनौती दिँदै प्रमुख कार्यकारी अधिकृत सीईओ सुन्दर प्रसाद कडेलको तलब बढाएको छ ।
नेपाल राष्ट्र बैंकले २०७९ फागुन ३ गते बैंक तथा वित्त कम्पनीहरुका सञ्चालक समितिलाई पत्रचार गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सीईओको तलब-भत्ता तथा सेवा-सुविधा नबढाउन निर्देशन दिएको थियो ।
उक्त निर्देशन अहिले पनि यथावत छ । तर त्यसको बेवास्ता गर्दै सिद्धार्थ बैंकले एक वर्षमा सीईओको आधारभूत तलब ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँले बढाएको छ ।
राष्ट्र बैंकले सीईओको तलब-भत्ता तथा सेवा-सुविधा सम्बन्धी मार्गदर्शन’ संशोधन गर्न लागेको भन्दै नियमन विभागका तत्कालीनकार्यकारी निर्देशक डा. गुणाकर भट्टको हस्ताक्षर भएको पत्रमा पत्रमा भनिएको छ ‘यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारीहरुको तलब भत्ता तथा सुविधाहरुको पुनरावलोकन सम्बन्धमा अध्ययन भइरहेकोले त्यस संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा सुविधाहरुको हाललाई वृद्धि नगर्नरनगराउन हुन निर्णयानुसार अनुरोध गर्दछु ।’

राष्ट्र बैंकले अहिलेसम्म पनि सीईओको तलब भत्ता तथा सुविधाको पुनरावलोकनको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छैन । जसकारण पूरानै निर्देशन यथावत् छ ।
उक्त निर्देशनको उल्लंघन गर्दै सिद्धार्थ बैंकको सञ्चालक समितिले सीईओका रुपमा कार्यरत सुन्दर प्रसाद कडेलको आधारभूत तलब नै बढाएको हो ।
बैंकले आर्थिक वर्ष २०८०/८१ मा ९६ लाख ३९ हजार १ सय ८७ रुपैयाँ आधारभूत तलब बापत भुक्तानी गरेको थियो । सो वर्ष बैंकले ४० लाख ८० हजार भत्ता, ११ लाख ६ हजार ८०० दशैंभत्ता, विदा भत्ता ४ लाख ५० हजार, १७ लाख ५६ हजार ८०० सवारीसाधन भत्ता जम्मा १ करोड ७० लाख ३२ हजार ७ सय ८७ रुपैयाँ भुक्तानी गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा आधारभूत तलब बढाएर ९९ लाख ३७ हजार ७ सय २८ रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी, ४० लाख ८० हजार भत्ता, ११ लाख ६८ हजार १ सय ४४ दशैंभत्ता, विदा भत्ता ४ लाख ५० हजार, १७ लाख ५६ हजार ८०० सवारीसाधन भत्ता गरी जम्मा १ करोड ७३ लाख ९२ हजार ६ सय ७२ रुपैयाँ भुक्तानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
एक वर्षमा बैंकले सीईओका लागि गर्ने खर्च ३ लाख ५९ हजार ८ सय ८५ रुपैयाँले बढाएको छ । जुन राष्ट्र बैंकको निर्देशन बिपरित हो ।
गत आर्थिक वर्ष यस्तै प्रकरणमा राष्ट्र बैंकले सिटिजन्स बैंकका सीईओलाई तलब बढाएको भन्दै सीईओ र सञ्चालक समितिलाई सचेत गराएको थियो।
‘बैंक तथा वित कम्पनीको आम्दानी, नाफा र प्रतिफल लगातार घटिरहेको छ तर सीईओहरुको तलब, भत्ता भने वर्षेनि बढिहेको छ, अस्वाभाविक देखिएपछि हामीले सुक्ष्म निगरानी गरेका हौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘नियामकको निर्देशन उल्लंघन गर्नेलाई कानूनी दायरामा ल्याउँछौं ।’
सिद्धार्थ बैंकले भने राष्ट्र बैंकको परिपत्र अगावै गरिएको कन्ट्र्याक्ट आधारमा प्रमुख कार्यकारी अधिकृतको तलब स्वतः बढेको र राष्ट्र बैंकको निर्देशनभित्रै रहेर बढेको बताएको छ ।









प्रतिक्रिया