
विराटनगर । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन भएसँगै भारतको बथनाहादेखि विराटनगरको एकीकृत भन्सार यार्डसम्म कार्गो रेलबाट सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र औद्योगिक उत्पादन ढुवानीको बाटो खुला भएको छ ।
दुई वर्ष अघि भारतको बथनाहादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलको उद्घाटन भएकै दिन दुवै देशबीच पारवहन सन्धि नवीकरण हुँदा यो कार्गो रेलमार्गबाट विभिन्न चार वस्तु मात्र ढुवानी गर्न पाउने सुविधा थियो ।
नवीकरण भएको पारवहन सन्धिले बथनाहा–विराटनगर रेलमार्गको प्रयोग गरेर नेपाली व्यवसायीलाई समुद्रपारका मुलुकबाट सिमेन्ट, क्लिङकर, कोइला र मलखाद मात्रै ल्याउने सुविधा दिँदा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायीलाई यो रेलमार्ग बेकामे भएको थियो ।
२०८० जेठ १८ मा उद्घाटनको दिन भारतको बथनाहाबाट आरती स्ट्रिप्स उद्योगको २ हजार ४ सय टन औद्योगिक कच्चा पदार्थ बोकेको र्याक लिएर आएको पहिलो कार्गो रेल त्यसपछि विराटनगर भन्सार यार्डमा आएको थिएन ।
कार्गो रेलबाट भारतसहित तेस्रो मुलुकबाट औद्योगिक कच्चा पदार्थ र व्यापारीक सामान ढुवानी गर्दा ३५ देखि ४० प्रतिशतसम्म ढुवानी लागत बचत हुने र ढुवानी समय पनि कम लाग्ने यस क्षेत्रका उद्योगी व्यवसायीको अपेक्षा थियो ।
विशाखापट्टनममा हुने सम्मेलनमा सहभागी हुन पुगेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नयाँ दिल्लीमा भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भेट गरेपछि दुवै देशका अधिकारीहरूले प्रोटोकल संशोधनसँग सम्बन्धित पत्रहरू आदान–प्रदान गरेर सन्धिको प्रोटोकल संशोधन गरेका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले अब नेपाली व्यवसायीले सबै प्रकारका कार्गो विराटनगर भन्सार यार्डमा ल्याउन सहज बनेको बताए ।
अब सरकारले नेपालतर्फको यार्डमा लोड र अनलोडको समस्या समाधान गर्न सके उद्योगी व्यवसायीहरूले सहजै बन्दरगाहबाट विराटनगरको कस्टम यार्डमा मालवस्तु ल्याउन सकिने राठीले बताए ।
उनका अनुसार विराटनगर कस्टम यार्डमा लोड–अनलोड र ह्याण्डलिङ चार्ज अत्यन्तै महँगो छ। नेपालतर्फ पनि भारतको समान लोड–अनलोड र ह्याण्डलिङ चार्ज नगरे यस क्षेत्रका उद्योगी व्यवसायीका लागि कार्गो रेल ढुवानी सेवाको अर्थ रहने छैन ।
आईसीवाईबाट स्पन्ज आइरन आयात गर्दा कार्गोको लोडिङ–अनलोडिङ चार्ज र २५ किलोमिटरसम्मको ढुवानी दर प्रतिटन ६६४ रुपैयाँ पर्छ । त्यस्तै आईसीवाईमा पार्किङ शुल्क छुट्टै ३२ रुपैयाँ तोकिएको छ ।
यसरी एक टन स्पन्ज आइरन आईसीवाईमार्फत कारखानासम्म ल्याउँदा कुल ६९६ रुपैयाँ खर्च पर्छ । यही स्पन्ज आइरन विराटनगरको आईसीपीस्थित एनसीवाईबाट ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ चार्ज ४ सय रुपैयाँ पर्छ । यस्तै २५ किलोमिटरसम्मको ढुवानी खर्च प्रतिटन ३६० रुपैयाँ गरी ७६० रुपैयाँ खर्च लाग्छ ।
यसरी आईसीवाईबाट स्पन्ज आइरन ल्याउँदा प्रतिटन ६९६ र एनसीवाईबाट ल्याउँदा ७६० रुपैयाँको दरले प्रतिटनमा ६४ रुपैयाँ फरक खर्च पर्छ । अर्थात् एनसीवाईको तुलनामा आईसीवाईबाट सामान आयात गर्दा प्रतिटन ढुवानी ६४ रुपैयाँ सस्तो पर्ने उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाको अध्ययन छ ।
एक र्याकमा कम्तिमा २५ सय टन स्पन्ज आउँछ । एनसीवाईको तुलनामा आईसीवाईबाट स्पन्ज ल्याउँदा २५ सय टनको ढुवानी खर्च मात्र १ लाख ६० हजार रुपैयाँ सस्तो पर्छ । आईसीवाईको तुलनामा एनसीवाईबाट सामान ल्याउँदा बल्क ढुवानी खर्च निकै सस्तो पर्ने भएकाले उद्योगी व्यवसायीहरू एनसीवाईभन्दा आईसीवाईप्रति आकर्षित भएको सुरानाको बुझाइ छ ।
‘उद्योगी व्यवसायीहरू वस्तुको उत्पादन लागत सकेसम्म घटाएर सस्तो बनाउन रुचाउँछन् । तर नेपाली उद्योगी व्यवसायीको सुविधाका लागि भनेर सञ्चालनमा ल्याइएको एनसीवाईमार्फत कच्चा पदार्थ ल्याउँदा लागत खर्च निकै महँगो भएर एनसीवाईको उपयोगिता नभएको हो । सरकारले एनसीवाईमार्फत असुल गर्ने महँगो शुल्कबारे पुनर्विचार नगरेसम्म उक्त प्लेटफर्मको उपभोग स्वदेशी उद्योगी र व्यवसायीले गर्न सक्दैनन्’ सुरानाले भने ।
स्पन्ज बाहेक जीआई वायर, गेभिएर बक्सलगायतका सामग्रीको मुख्य कच्चा पदार्थ एमएस वायर–रड आईसीवाईमार्फत ल्याउँदा एनसीवाईको तुलनामा प्रतिटन १६८ रुपैयाँ सस्तो पर्छ ।
आईसीवाईमार्फत एमएस वायर–रड आयात गर्दा प्रतिटनको लोडिङ–अनलोडिङ र २५ किलोमिटरसम्मको ढुवानी खर्च ४४० रुपैयाँ पर्छ । यसबाहेक आईसीवाईमा प्रतिटन पार्किङ शुल्क ३२ रुपैयाँ पनि पर्छ । यो दुवै शुल्क जोड्दा प्रतिटन ४७२ रुपैयाँ खर्च लाग्छ ।
त्यही एमएस वायर–रड एनसीवाईमार्फत ल्याउँदा प्रतिटनको लोडिङ–अनलोडिङ ४०० र ढुवानी खर्च २४० गरी कुल ६४० रुपैयाँ पर्छ । यसरी हेर्दा एनसीवाईको तुलनामा आईसीवाईमार्फत प्रतिटन एमएस रड ल्याउँदा १६८ रुपैयाँ सस्तो पर्दै आएको छ।
‘रेलबाट कार्गो ल्याउन नयाँ निर्णयले बाटो खोलेको छ । तर हामीले पहिलेदेखि नै सरकारलाई भन्दै आएको लोड–अनलोड र ह्याण्डलिङ चार्जलाई सहजीकरण गर्न सरकारले सहज गरिदिनुपर्छ,’ राठीले भने, ‘यो विषयमा पहिले पनि छलफल भएको थियो । हामीले चार्जलाई सहुलियत बनाउन आग्रह गरिसकेका छौँ । सरकारले यसलाई बुझेन भने उद्योगी व्यवसायीका लागि कार्गो रेल ढुवानीको औचित्य हुने छैन ।’
उनले लोड–अनलोड र ह्याण्डलिङ चार्ज सहज बनाए मात्रै रेलबाट हुने आयातमा फाइदा हुने र भन्सारबाट भइरहेको चोरी–पैठारी पनि रोकिने दाबी गरे ।
प्रोटोकल संशोधनमार्फत कन्टेनर कार्गोसहित सबै प्रकारका सामान रेलमार्गबाट ल्याउन सकिने व्यवस्था भएको नेपाल उद्योग परिसंघ कोशी प्रदेश अध्यक्ष पवन सारडाको प्रतिक्रिया छ । अब नेपाली व्यवसायीले सबै प्रकारका कार्गो विराटनगर भन्सार यार्डमा ल्याउन सहज बनेको उनले बताए । तर, त्यसका लागि नेपाली पक्षबाट अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ।
‘केही समस्या नेपाल पक्षमा अझै छन् । रेल्वेको यार्ड पूरा भएको छ तर कटहरीमा स्टेशन नबन्दा रेल कटहरी आउने स्थिति छैन । नेपालतर्फ रेलमार्गको काम पूरा भएको छैन,’ सारडाले भने, ‘अहिलेसम्म नेपालतिर भएको कामको प्रगति पनि सरोकारवालाबीच जानकारी गराइएको छैन । जे जस्तो भए पनि अब सबै मालवस्तु ल्याउन बाटो भने अवश्य खुलेको छ ।’
कार्गो रेलबाट सामान ढुवानी गर्दा खुला सीमाना कारण हुने गरेको मालवस्तुको चोरी–पैठारी र कन्टेनरबाट आयात गर्दा हुने लिकेज र ड्यामेरेज पनि हट्ने उद्योगी व्यवसायीको बुझाइ छ ।
कोलकाताबाट विराटनगर भन्सारसम्म प्रतिकिलो ३ देखि ४ भारतीय रुपैयाँ (भारु) भाडा तिरेर ट्रक र कन्टेनरबाट औद्योगिक कच्चा पदार्थ आयात गरिरहेका सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी भारतको बथनाहादेखि विराटनगरको आईसीपीसम्म कार्गो रेल सेवा सञ्चालन भएपछि सस्तो लागतमा औद्योगिक कच्चा पदार्थ ढुवानी गरेर उद्योगको उत्पादन लागत न्यून गर्ने लक्ष्यमा थिए ।
तर, कार्गो रेल सेवा उद्घाटन भएको दुई वर्ष बित्दा पनि यस क्षेत्रका उद्योगीले त्यसको फाइदा पाएका छैनन् । महँगो ढुवानी भाडा तिरेर ट्रक र कन्टेनरबाट कच्चा पदार्थ आयात गर्न बाध्य भएका कारण उद्योगको उत्पादन लागत घटाउन नसकिएको उनीहरू बताउँछन् ।
कोलकातादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलबाट औद्योगिक कच्चा पदार्थ ढुवानी गर्दा प्रतिकिलो भारु १ रुपैयाँ ९५ पैसा पर्छ । जुन ट्रक र कन्टेनरको दाँजोमा ३५ देखि ४० प्रतिशतसम्म सस्तो हो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगको लजिस्टिक खर्च न्यूनीकरणका लागि ‘गेमचेञ्जर’ पूर्वाधार मानिएको कार्गो रेल सेवाको उद्घाटन भएको दुई वर्ष बित्दासम्म सरकारको नीतिगत त्रुटिका कारण यस क्षेत्रका उद्योगीका लागि बथनाहा–विराटनगर कार्गो रेल सेवा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ बनेको थियो ।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा आउने ९० प्रतिशत कच्चा पदार्थ भारतको कोलकाता बन्दरगाहबाट आउँछ । औद्योगिक र व्यवसायिक सामान लिएर विराटनगर नाकाबाट दैनिक सरदर तीन सय ट्रक नेपाल भित्रिन्छन् ।
तीमध्ये १५० भन्दा बढी ट्रकका सामग्री कार्गोका सामग्री हुन् । विशाखापट्टनम बन्दरगाहबाट सबै सामान ल्याउन पाउने भए पनि उक्त बन्दरगाहबाट विराटनगर नाकाका लागि खासै सामान नआउने उद्योगी व्यवसायी बताउँछन् ।








प्रतिक्रिया