
विराटनगर । एनपीएलको फ्रेञ्चाइज टोली विराटनगर किंग्सका लगानीकर्ताहरू गत वर्ष सम्पन्न पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टिमको प्रदर्शन सम्झन चाहँदैनन् ।
औद्योगिक नगर तथा कोशी प्रदेशको राजधानी विराटनगरलाई प्रतिनिधित्व गर्दै यहाँका उद्योगी व्यवसायीले एनपीएलको फ्रेञ्चाइज टोली विराटनगर किंग्समार्फत पहिलो संस्करणमा सहभागी हुँदा टोलीको प्रदर्शन बिर्सनलायक रह्यो ।
सो संस्करणमा प्रतिनिधित्व गरेका विभिन्न आठ टिममध्ये नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिएको विराटनगर किंग्स अंक तालिकाको छैटौँ स्थानमा रहँदै घर फर्किएको थियो ।
विशुद्ध व्यक्तिगत, पारिवारिक र समूहको मुनाफाका लागि उद्योग र व्यवसायमा अर्बौँ लगानी गर्दै आएका सुनसरी–मोरङ औद्योगिक क्षेत्रका चार युवा उद्योगी गत वर्षदेखि फ्रेन्चाइज क्रिकेटमार्फत खेल पर्यटन उद्योगमा आकर्षित भएका छन् ।
क्रिकेटको विकासका नाममा एक वर्षका लागि करिब १० करोड लगानी गरेका उनीहरूले व्यक्तिगत नाफालाई तिलाञ्जली दिएर गाउँदेखि क्रिकेटको विकास गर्ने, पूर्वाधार निर्माणका लागि सरकारलाई दबाव दिने र राजनीति तथा विभिन्न समूहले विभक्त गरेको नेपाली समाजलाई क्रिकेटका माध्यमबाट एकतामा बाँध्ने नाफा बाहेकको उद्देश्य राखेका छन् ।
गत वर्ष पहिलो चरणमा एक वर्षसम्म करिब १० करोड खर्च गरेर क्रिकेट खेलको विकास र खेल पर्यटनका लागि उनीहरूले सिर्जना गरेको विराटनगर किङ्ग्स फ्रेन्चाइज क्रिकेट टिममार्फत नेपाल प्रिमियर लिग (एनपीएल) मा होमिएका छन् ।
यो फ्रेन्चाइज क्रिकेट टिममा विराटनगरका चार उद्योगी समूहले तयार गरेको म्याड स्पोर्ट्स (एमएडी) — एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवनगर ग्रुपको सामूहिक लगानी छ । प्रतियोगिताको दोस्रो संस्करणमा गत वर्षको भन्दा १५–२० प्रतिशत बढी रकम खर्च हुने उनीहरूको भनाइ छ ।
यस अभियानमा नेपाली क्रिकेट टिमका पूर्व–राष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एम्याचोर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्दार र बैंकटेश मुन्दाडा छन् । लुनिया अरिहन्त ग्रुप, प्याकुरेल एमएम ग्रुप, पोद्दार म्याजिक ग्रुप र मुन्दाडा देवनगर ग्रुपका सञ्चालक हुन् ।
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ मा सुरु हुँदैछ । यसपटक फेरिएको स्वरूपको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलहरू आयोजना हुँदैछन् । मंसिर १ देखि सुरू हुने एनपीएल २७ दिनसम्म चल्ने प्रतियोगितामा पुनः विभिन्न आठ फ्रेञ्चाइज टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
दोस्रो संस्करणमा पनि विराटनगर किंग्स स्वदेशी स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिँदै छ । यस सिजन विराटनगरको पहिलो भेट मंसिर २ गते पोखरा एभेन्जर्ससँग हुने छ ।
त्यो पहिलो भेटदेखि नै टिमको लक्ष्य उपाधि जित्ने रहने छ । टिमका विभिन्न चार औद्योगिक लगानीकर्तामध्येका सुयस प्याकुरेलले क्लिकमान्डुलाई विराटनगर किंग्स यसपटक भने उपाधिको भोक लिएर मैदानमा उत्रन लागेको बताए ।
‘यसपटक टिमको एकमात्र लक्ष्य उपाधि नै हो,’ प्याकुरेलले भने, ‘यसपटकको टिम सन्तुलित, बलियो र विश्वस्तरका ख्यातिप्राप्त विदेशी खेलाडीले सजिएको छ । खेलाडी र प्रशिक्षक सूची हेर्दा टिम उत्कृष्ट छ, त्यसैले उपाधि पनि औद्योगिक नगरमा भित्रिने अपेक्षा सहितको सपना बुन्नु अनौठो नहोला ।’
त्यतिमात्र होइन, यसपटक टिमको प्रशिक्षक पनि नेपाली क्रिकेटमा नाम कमाएका मात्र नभएर प्रतियोगिताको पहिलो संस्करणको उपाधि आफ्नो पोल्टामा पार्न सफल अनुभवी प्रशिक्षक विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।
पहिलो संस्करणको एनपीएल जनकपुर बोल्ट्सलाई जिताएका प्रशिक्षक पुबुदु दासानायके यसपटक विराटनगरको प्रशिक्षकका रूपमा मैदानमा निर्देशन दिँदै गरेको अवस्थामा देखिनेछन् । नेपाली क्रिकेट समर्थकबीच परिचित प्रशिक्षक दासानायकेले एनपीएल दोस्रो संस्करणमा विराटनगर किंग्सको कमान सम्हाल्ने निश्चित भइसकेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व–मुख्य प्रशिक्षक समेत रहेका दासानायकेकै प्रशिक्षणमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेल्न पुगेको थियो ।
एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीका प्रशिक्षक हुन् । नेपाल सम्मिलित विश्वकप क्रिकेट लिग–टु अन्तर्गत हालै सम्पन्न युएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले सबै ४ खेल जितेको छ । ‘अनुभवी र सफल प्रशिक्षक पुबुदुको प्रशिक्षणमा हामी उत्साहित छौँ,’ प्याकुरेलले भने, ‘उनीसँगै उनकै देशका धमिकाप्रसादले ब्याटिङ कोचका रूपमा साथ दिनेछन् ।’
कुनै बेला आफैँ पनि श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलेका पुबुदु र धमिकाप्रसादको कुशल खेल रणनीति र विश्वस्तरका क्रिकेटरको खेल कौशलले यसपटक विराटनगरले उपाधि उचाल्नेमा लगानीकर्ताहरू विश्वस्त देखिन्छन् ।
गत वर्ष जस्तै यसपटक पनि नेपालका स्टार लेग–स्पिनर सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन् ।
उनकै कप्तानीमा विराटनगर मैदानमा उत्रँदा सन्दीपसहित बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, प्रतिश जिसी, नारायण जोशी, श्रवण किस्कु, साहिल पटेल (विकेटकिपर), शंकर राना र सूर्य तामाङ लगायतका स्थानीय खेलाडी पनि मैदानमा देखिने छन् ।
अझ रोचक पक्ष — विराटनगरले यसपटक भित्र्याएका विदेशी खेलाडीहरूमध्ये दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस पनि विराटनगर किंग्सको जर्सीमा देखिने छन् । अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी डु प्लेसिससँग दक्षिण अफ्रिका र आईपीएलको फ्रेञ्चाइज रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी सम्हालेको अनुभव छ । विश्व क्रिकेटका चर्चित ब्याटरमध्येका डु प्लेसिसको अनुभव र नेतृत्वले टोलीलाई उपाधिको दाबेदार बनाएको विराटनगर किंग्सका लगानीकर्ताहरूको विश्वास छ ।
‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलका लागि गर्वको कुरा हो । उनको आगमनले विराटनगर किंग्स र एनपीएलका लागि आगामी दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुने,’ विराटनगरका लगानीकर्ताहरूको बुझाइ छ ।
विदेशी स्टार खेलाडी भित्र्याउनेमा अहिले विराटनगर किंग्स सबैभन्दा चर्चामा छ । टोलीले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस र मर्चेन्ट डी ल्याङ्गे, न्यूजिल्यान्डका मार्टिन गप्टिल, स्कटल्याण्डका जर्ज मुन्सी र अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेसँगै विराटनगरको ब्रान्डिङको कद बढाएको छ ।
डु प्लेसिस अबुधाबी टी–१० मा ‘भिस्टा राइडर्स’सँग अनुबन्धित खेलाडी हुन् । यो टी–१० नोभेम्बर १८ देखि ३० सम्म हुनेछ । डु प्लेसिसले नोभेम्बर ३० मा अबुधाबी टी–१० को फाइनल खेल्नुपरे विराटनगरले समूह चरणका ७ मध्ये ५ खेल खेलिसकेको हुनेछ । एनपीएल नोभेम्बर १७ मा सुरु हुनेछ र डिसेम्बर ७ सम्म लिग चरण चल्नेछ ।
डु प्लेसिसले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १४३ एकदिवसीय र ५० टी–२० खेलेका छन् । टी–२० मा ३५.५३ को औसतमा १ हजार ५२८ रन बनाएका उनी सफल अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित छन् । न्यूजिल्यान्डका लिजेन्ड ओपनर ब्याटर मार्टिन गप्टिललाई यसपटक पनि विराटनगरले निरन्तरता दिएको छ । आक्रामक ब्याटिङका लागि चिनिएका गप्टिलले एनपीएलको पहिलो संस्करण पनि विराटनगरबाटै खेलेका थिए ।
एनपीएल दोस्रो सिजनका लागि स्कटल्याण्डका ब्याटर जर्ज मुन्सेलाई पनि विराटनगरले अनुबन्ध गरेको छ । मुन्से टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटिङका लागि परिचित खेलाडी हुन् । उनले स्कटल्याण्डको तर्फबाट ५० भन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
अस्ट्रेलियाका अलराउण्डर साम हिजलेट पनि विराटनगरका अर्का विदेशी खेलाडी हुन् । साम अस्ट्रेलियाको यू–१९ टिमबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिसकेका खेलाडी हुन् । उनले अस्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिट र होबर्ट हरिकेन्सबाट खेलेका छन् । सामले खेलहरूमा उत्कृष्ट स्ट्राइकरेटसहित प्रदर्शन गर्दै आएका छन् । उनीसँग ५०भन्दा बढी बिगब्यास लिग म्याच खेलेको अनुभव छ ।
दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे ल्याङ्गे र अमेरिकाका अलराउण्डर शुभम रन्जने पनि विराटनगर किंग्सका विदेशी खेलाडीहरूको सूचीमा छन् । स्वदेश तथा विदेशका अनुभवी र उत्कृष्ट खेलाडीहरूसँगै युवा खेलाडी समेटिएको टोलीले यसपटक उपाधि नजित्ला त ? भन्ने क्लिकमान्डुको प्रश्नमा प्याकुरेलले मुस्कुराउँदै भने, ‘टिमको गत वर्षको प्रदर्शन सम्झन चाहँदैनौँ, तर यसपटक चाहिँ उपाधि जित्नेमा सतप्रतिशत आशावादी छौँ ।’
चर्चाको हिसाबमा हेर्दा विराटनगर किंग्सलाई विजेता मान्दा नै हुन्छ । विराटनगरले के मात्र गरेको छैन ? फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डी ल्याङ्गेलाई अनुबन्धन गरेर सामाजिक सञ्जालमा धुम पिटेको छ । धेरैले भन्ने गरेका छन् — ‘विराटनगरले मैदानबाहिरको उपाधि जितिसक्यो । वास्तविक विजेता बन्न मैदानभित्र छिर्न बाँकी छ ।’
गत सिजन विराटनगरले ७ मध्ये २ खेल मात्र जित्न सकेको थियो । जसका कारण टोली प्लेअफमा पुग्न सकेको थिएन ।
टिममा को–को छन् ?
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नारायण जोशी, नरेन भट्ट, शंकर राना, सुवास भण्डारी, साहिल पटेल, श्रवण किस्कु, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डी ल्याङ्गे, जर्ज मुन्सी, साम हिजलेट, शुभम रन्जने ।








प्रतिक्रिया