गत सिजन जनकपुरलाई उपाधि जिताएका पुवुदु यसपटक विराटनगरका प्रशिक्षक

42
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले दोस्रो सिजनका लागि पुवुदु दशानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

विराटनगरले सोमबार बिहान सामाजिक सञ्जालमार्फत दशानायकेको नियुक्ति सार्वजनिक गरेको हो । गत सिजन उनले जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका थिए । यसपटक भने उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।

यो सिजन विराटनगरले टोली सुदृढीकरणमा निकै आक्रामक रणनीति अपनाएको छ । टोलीले दक्षिण अफ्रिकाका फाफ डु प्लेसीलाई अनुबन्धन गरेको छ भने श्रीलङ्काका धामिका प्रसादलाई पनि टोलीमा समावेश गरेको छ । गत सिजन अपेक्षित प्रदर्शन गर्न नसकेको विराटनगर यसपटक उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा छ। एनपीएल आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ।