बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज, घरमै उपचार हुने

168
Shares

एजेन्सी । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र बुधबार बिहान मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनको उपचार घरैमा हुने उनको परिवारले निर्णय लिएको छ ।

परिवारले मिडिया र सर्वसाधारणलाई कुनै पनि किसिमको अफवाह नफैलाउन र उनको निजतालाई सम्मान गर्न अनुरोध गरेको छ ।

धर्मेन्द्रको सुस्वास्थ्य र दीर्घायुका लागि प्रार्थना गर्ने सबैजनालाई परिवारले धन्यवाद पनि दिएको छ ।

धर्मेन्द्र डिस्चार्ज भएपछि प्रहरीले उनको घरको बाटो बन्द गरिदिएको छ । भीड नलागोस् भनेर त्यसो गरिएको हो ।

सोमबार स्वासथ्य बिग्रिएपछि धर्मेन्द्रलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सास फेर्न अप्ठ्यारो परेको बताइएको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

मंगलबार बिहान भारतीय र नेपाली सञ्चारमाध्यमहरूले धर्मेन्द्रको मृत्यु भएको भनी झूटो खबर छापेका थिए । त्यसपछि उनकी पत्नी हेमा मालिनी र छोरी ईश देवलले आक्रोश व्यक्त गरेका थिए ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले समेत धर्मेन्द्रको निधनप्रति शोक व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, पछि उनले उक्त पोस्ट डिलिट गरेका थिए ।