कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय-ईपीएस कोरिया शाखा

126
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा कामदार छनोट प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र विश्वसनीय रहेको जानकारी दिँदै कुनै व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइने गलत आश्वासनमा विश्वास नगर्न अनुरोध गरेको छ।

शाखाले प्रेस विज्ञप्तिमार्फत कुनै व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत फैलाइएका झूटा प्रचार, गलत सूचना वा अफवाहमा विश्वास नगरी ठगी हुनबाट सावधान रहन आवश्यक रहेको जनाएको छ ।

शाखाको नाम दुरुपयोग गरी विभिन्न नक्कली फेसबुक पेज र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा भ्रम फैलाउने प्रयास भएको पाइएको हुँदा, कोरियन भाषा सिकिरहेका र रोष्टरमा नाम सुचीकृत हुने कुराको प्रतिक्षामा रहेका सबै सरोकारवालाले यस्ता आधारहीन सूचना पछ्याउन नहुने उल्लेख गरिएको छ ।

नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता भएयता हालसम्म करिब १ लाख २० हजार नेपाली श्रमिकले कोरियामा रोजगारी पाइसकेका छन् । एचआरडी सर्भिस अफ कोरियाले कोरियन भाषा परीक्षा र दक्षता (स्किल) परीक्षण सम्पन्न गरेपछि उत्तीर्ण व्यक्तिहरूको विवरण अनलाइन प्रणालीमार्फत ईपीएस कोरिया शाखामा पठाउने गर्दछ।

शाखाका अनुसार, एचआरडी सर्भिस अफ कोरियाले फाइलहरू अनुमोदन गरी रोष्टरमा नाम सुचीकृत गर्छ। त्यसपछि कोरियाको रोजगार तथा श्रम मन्त्रालयअन्तर्गतका जब सेन्टरहरूले रोजगारदातासम्म फाइल पुर्‍याउने, रोजगारदाताले श्रमिक छनोट गर्ने, र श्रम करार (लेबर कन्ट्र्याक्ट) जारी गर्ने कार्य कोरियाको आफ्नै प्रणालीअनुसार गरिन्छ।

विज्ञप्तिमा भनिएको छ,’कोरियाले श्रमिक छनोट प्रक्रिया र सम्बन्धित जानकारी केवल रोष्टरमा रहेको व्यक्तिको आइडीमा पठाउने गर्दछ । एलसी जारी हुने वा नहुने विषयमा शाखाको कुनै पहुँच वा जानकारी छैन । कोरियन रोजगारदाताको मापदण्ड अनुसार छनोट भएका व्यक्तिहरू मात्र कोरियामा जान पाउनेछन् । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको भन्दै रोजगारीको कुनै ‘ग्यारेन्टी’ हुँदैन। कोरियाले तोकेको कोटाभन्दा बढी व्यक्तिलाई पनि उत्तीर्ण गराउने प्रचलन छ।’