
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकसाथ ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर भएको छ ।
राष्ट्र बैंकको शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभाग र विदेशी विनियम व्यवस्थापन विभागसहितको जिम्मेवारी हेरफेर भएको हो ।
गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी रामु पौडेललाई दिएका छन् ।
पौडेल गभर्नर भएपछि रामु पौडेललाई बैंक सुपरिवेक्षण विभागबाट मुद्रा व्यवस्थापन विभागमा पठाइएको थियो । उनलाई प्रवक्ताको जिम्मेवारीबाट पनि हटाइएको थियो । ६ महिनामै पौडेल राष्ट्र बैंकको शक्तिशाली मानिने बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा पुगेका छन् । यस्तै नियमनमा रहेका गुरु प्रसाद पौडेल मानव संसाधन व्यवस्थापन विभागमा पुगेका हुन् ।
रेवती प्रसाद नेपाललाई विदेशी विनियम व्यवस्थापन विभागबाट हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाउँदा विदेशी विनिमय व्यवस्थापन विभागमा किरण पण्डित पुगेका छन् ।
किरण पण्डित रहेको भुक्तानी प्रणाली विभागमा वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमल्सिनाको सरुवा भएको छ । यस्तै वित्तीय संस्था सुपरिवेक्षण विभागमा मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापाको सरुवा भएको छ ।
यस्तै मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्माको गभर्नर कार्यालयमा सरुवा भएको हो । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशन कुमार सिग्देलको बैंकिङ विभागमा र बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेलको मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहालको मुद्रा व्यवस्थापन विभागमा सरुवा हुँदा हालै बढेवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजन विक्रम थापाको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको हो ।








प्रतिक्रिया