
दोलखा । गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ रि क्षेत्रको डोल्मा खाङ हिमालमा गएको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोका अनुसार दुर्घटनामा परि पाँच जना विदेशी र दुई जना नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको हो । मृत्यु भएकाहरूको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ ।
उनीहरू कात्तिक ११ गते ५,६३० मिटरको यलुङ रि गो हिमाल आरोहणका लागि गएका टोलीका सदस्य हुन्। हिमपहिरोमा परी घाइते भएका आठ जनालाई उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
मृतकहरू कुन–कुन देशका विदेशी नागरिक हुन् भन्ने विवरण भने अझै प्राप्त भएको छैन । शवहरू घटनास्थलमै रहेको र मौसम प्रतिकूल भएकाले निकाल्ने काम कठिन भइरहेको बताइएको छ ।
हिमपहिरोमा परेर विश्वकीर्तिमानधारी युवा आरोही फुर्वा तेन्जिङ शेर्पासहित सात जना बेपत्ता भएको जनाइएको छ ।
गौरीशंकर गाउँपालिका–९, बेदिङका २४ वर्षीय फुर्वा तेन्जिङ शेर्पाले १५ पटक सगरमाथाको सफल आरोहण गरिसकेका थिए । २४ वर्षको उमेरमै नौ पटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए ।
प्रहरीका अनुसार सोमबार बिहान करिब ९ बजेतिर हिमपहिरो गएको थियो ।
हिमपहिरोले आरोहीहरूको बेसक्याम्प समेत क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ । खराब मौसमका कारण सोमबार दिनभर उद्धार कार्य प्रभावित बने पनि मंगलबार बिहान मौसम सुधारसँगै एभरेष्ट हेलिकप्टर र सेभेन समिटका मिङमा शेर्पाको नेतृत्वमा खोजी तथा उद्धार कार्य अघि बढाइएको हो ।
हाल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरिरहेका छन् । लामाबगरको गोंगरबाट खटिएको करिब ५० जनाको टोली ना गाउँ हुँदै घटनास्थलतर्फ अघि बढिरहेको छ । संचारविहीन क्षेत्र भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको भए पनि खोजी निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया