कामना सेवाको आकर्षक वित्तीय विवरण, १९ करोड ७६ लाख नाफा गर्दा अधिकांश परिसूचकमा थप सुधार

2.1k
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले आव२०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले ३ महिनामा १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ ।

३ महिनामा बैंकले ६१ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ८ करोड ४४ लाख रुपैयाँ खुद फि एन्ड कमिसन आम्दानी गरेको छ । दुवै आम्दानी गत आवको सोही अवधिको भन्दा बढी हो । गत आप यी आम्दानी ५१ करोड ८७ लाख र ७ करोड ५२ लाख थिए ।

पहिलो त्रैमासको अन्त्यमा बैंकले कर्जा नोक्सानी व्यवस्थावापत ११ करोड ७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।

खर्चहरु सामान्य बढ्दा पनि बैंकले करिब २० करोड रुपैयाँ नाफा गरेको हो जुन गत आवको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १७ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत छ । सोही अवधिसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत छ जुन गत आवको सोही अवधिमा ३.९६ प्रतिशत थियो । यद्यपि पर्याप्त प्रोभिजनका कारण खुद एनपीएल १.१ प्रतिशतमात्र छ ।

बैंकले गरेको नाफाका आधारमा प्रतिसेयर आम्दानी २०.४६ प्रतिशत रहेको छ ।

३ महिनाको अवधिमा बैंकको बक्यौता ब्याज केही बढेको छ भने गैरबैंकिङ सम्पत्ति घटेको छ । त्रैमासको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५२ लाख रुपैयाँ हुँदा यो नाफाका आधारमा एन्युअलाइज गरिएको लाभांश क्षमता १४.०१ प्रतिशत हुन जान्छ ।

बैंकले हालैमात्र नेपालको बैंकिङ इतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो । यो प्रडक्टले आफ्ना ग्राहकहरुलाई घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आव ८१।८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।