‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा, शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह

98
Shares

काठमाडौं । बिहीबारदेखि शनिबार बिहानसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको भन्दै सचेत हुन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मंगलबार अपराह्न सूचना जारी गर्दै विभागले बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ आज राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको जनाएको छ । उक्त चक्रवात क्रमशः कमजोर हुँदै उत्तर–उत्तर पश्चिम दिशातर्फ सर्दै नेपाल नजिक पुग्ने र न्यूनचापीय क्षेत्रमा रूपान्तरण हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार ‘मोन्था’ चक्रवातको प्रभावले आउँदो बिहीबारदेखि शनिबार बिहानसम्म नेपालका बागमती, मधेश र कोशी प्रदेशको मौसमलाई प्रत्यक्ष असर गर्ने देखिएको छ ।

उक्त अवधिमा मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात हुनसक्ने सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले चक्रवातको असरका कारण देशका मुख्य नदीहरूमा पानीको बहाव बढ्न सक्ने चेतावनी पनि दिएको छ ।

बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्दै सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे क्षेत्र हुँदै बग्ने स–साना नदी–नालाहरूमा आकस्मिक बाढी आउने जोखिम पनि उच्च रहेको जनाइएको छ ।

विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली; मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी; र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम उच्च देखिएको छ ।
महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण पहिरो, सडक तथा हवाई यातायातमा अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने उल्लेख गर्दै सम्बन्धित निकायहरू र आम सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले वेभसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर (११५५) र एसएमएस सेवामार्फत अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको महाशाखाले जनाएको छ ।