डरलाग्दो चक्रवात आउँदैछ, धान जोगाऔं, घुम्न नजाऔंः मौसमविद् उपाध्याय

6k
Shares

काठमाडौं । हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहेको छ ।

आज बागमती, गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा भइरहेको छ ।

मौसमविद् उज्ज्वल उपाध्यायले अरब सागरबाट विकास भएर आएको चक्रवातको प्रभाव बिहीबारसम्म अन्त्य नभए दशैंको भन्दा ठूलो पानी पर्ने बताएका छन् ।

अरबबाट आएको चक्रवातको प्रभावस्वरुप देशैभर आकाश धुम्मिएको, गण्डकी क्षेत्रमा पानी र उच्च हिमाली भेगमा हिमपात भइरहेको बताउँदै उपाध्यायले यो प्रणाली आजभन्दा बढी नटिक्ने अनुमान गरे ।

उनका अनुसार बंगालको खाडीको दक्षिणमा रहेको अण्डमान सागरबाट विकास भएको मुन्था चक्रवात अहिले भारतको कर्नाटका र उडिसा क्षेत्रको आकाशमा छ । यो चक्रवात बिहीबार मधेश प्रदेशको वीरगञ्जबाट नेपाल प्रवेश गर्ने उपाध्यायको अनुमान छ ।

क्लिकमान्डुसँगको विशेष कुराकानीमा उपाध्यायले भने, ‘दुईवटा चक्रवातको प्रभाव एकैपटक देखिने सम्भावना निकै कम हुन्छ । तर, अहिले जसरी काठमाडौंको आकाश धुम्मिएको छ, बिहीबारसम्म यस्तै रहे काठमाडौं उपत्यकासहित पूर्वमा निकै ठूलो वर्षा र हिमाली क्षेत्रमा भीषण हिमपात हुनेछ । यस्तो हुने सम्भावना ५ देखि १० प्रतिशत छ ।’

बिहीबार आइपुग्ने मुन्थाको उचाइ ९ किलोमिटर छ । अर्थात् मुन्था आइपुगेपछि वीरगञ्जसहित पर्सा, बारा, रौतहट र सर्लाहीमा भारी वर्षा हुनेछ । पहाडी भूभागमा पनि सोहीअनुसार धेरै पानी पर्नेछ भने हिमालमा हिमपात हुने पक्का छ ।

सोहीकारण उच्च हिमाली भूभागमा ट्रेकिङ नजान, जाने तयारी भए तत्काल स्थगन गर्न, बाटोमा रहनेहरु जहीँको त्यहीँ रहन उपाध्यायले सुझाव दिए । साथै काट्न ठिक्का पारेका धानलाई जोगाउने उपायबारे सोच्न उपाध्यायले आग्रह गरे ।