लुभ्र हाइस्टले दियो मनि हाइस्टको झल्को, यसरी लुटियो अर्बौंको गहना र अमूल्य इतिहास (भिडियो)

133
Shares

काठमाडौं । फिल्मी शैलिमा पेरिसको चर्चित संग्रहालयबाट गरिएको यो चोरी । विश्वकै सबैभन्दा ठूलो र चर्चित संग्रहालय, लुभ्र संग्रहालयमा भएको यो चोरीले विश्वभर तहल्का मचाएको छ ।

यो त्यही संग्रहालय हो जहाँ चर्चित मोनालिसाको तस्बिर राखिएको छ । सोही स्थानबाट शनिबार केही मिनेटको अन्तरालमै ऐतिहासिक र बहुमुल्य गहनाहरु चोरी भएका छन् । फ्रान्सको पेरिसमा रहेको लुभ्र संग्रहालयमा योजनाबद्ध रुपमा गरिएको चोरीका भिडियोहरु यतिबेला सामाजिक सञ्जालभरी फैलिएका छन्।

चारजनाको समूहले चोरेको यो दृश्य कुनै फिल्मको दृश्य भन्दा कम छैन । यो घटना चर्चित सिरिज मनि हाइस्टको कहानि जस्तै छ। जहाँ एउटा समूह बनाइन्छ र त्यो समूहले इतिहासकै सबैभन्दा ठूलो (२.४ अर्ब युरो र ९० टन सुन) चोरी गर्ने योजना बनाउँछ । ठ्याक्कै त्यस्तै घटना वास्तविक रुपमै लुभ्र संग्रहालयमा घटेको छ । तर मनि हाइस्टको एउटा अंश जस्तो देखिन्छ, लुभ्र हाइस्ट । केही मिनेटमै मनि १२० मिलियन डलर बराबरको र अर्बौं मूल्य बराबरको इतिहास चोरी हुन्छ ।

अक्टोबर १९ का दिन शनिबार बिहान ठिक ९:३० बजे संग्रहालयमा अचानक चार जना मानिस कामदारका रूपमा प्रवेश गरे । उनीहरूले निलो युनिफर्म र सुरक्षा पासजस्तै कार्ड देखाएर प्रवेशद्वार पार गरेका थिए । त्यसको केही मिनेटमै उनीहरूले गहना प्रदर्शन गरिएको कोठामा पुगे र सुरक्षा काँच तोडी ८ वटा मूल्यवान् वस्तु लिएर भागे । कामदारका रुपमा संग्रहालयमा प्रवेश गरेका उनीहरु गहना चोरेपछि डिस्क कटर प्रयोग गरेर झ्याल काटे र संग्रहालयको पछाडिको भागमा भर्याङ लगाएर तल झरे । उनीहरुले चोरेको भर्‍याङबाट भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसपछि उनीहरु स्कुटरमा चढेर भागे ।

चोरी भएका गहनाहरुमा फ्रान्सको राजपरिवारले प्रयोग गरेका गहनाहरु रहेका छन् । नेपोलियन प्रथमकी पत्नी महारानी मेरी–लुइस र नेपोलियन तृतीयकी पत्नी महारानी युजेनीका गहनाहरु चोरी भएका हुन् । त्यहाँ सबैभन्दा मूल्यवान युगेनी क्राउन थियो, जुन १८५५ मा नेपोलियनकी पत्नी महारानी युजेनी डे मोन्टीजोको लागि उत्कृष्ट डिजाइनमा बनाइएको थियो ।

सो मुकुट पनि चोरी भएको छ । त्यसबाहेक दुई वटा टियारा, नीलमणि र पन्नाका हार, झुम्का र दुई वटा ठूला ब्रोच चोरी भएका छन् । जुनसँग इतिहास जोडिएको छ ।

ती गहनाहरु केवल सुन वा हिराको कारणले होइन, १८औं शताब्दीदेखि फ्रान्सेली इतिहासको प्रतीकका रूपमा रहेका कारणले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ ।

लुभ्र संग्रहालयमा चोरी भएको यो पहिलो पटक होइन । यसअघि पनि चोरी भएका इतिहासहरु छन् । सन् १९११ मा मोनालिसा चित्र पनि उक्त संग्रहालयबाट गायब भएको थियो, सो चित्र एक कर्मचारीले चोरेका थिए ।
तर, वर्षपछि फ्लोरेन्समा सो चित्र बरामद भएको थियो । त्यस्तै २०१६ मा पनि चोरीको घटना घटेको थियो । त्यस समयमा चर्चित मोती र हिराका आभूषण चोरीको भएको थियो, त्यसयता पहिलो पटक लुभ्रमा यो स्तरको चोरी भएको हो ।

चोरी गरिएका ती गहनाहरू सीधा अन्तर्राष्ट्रिय कला बजार वा निजी सङ्ग्राहकहरूमार्फत बेचिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

फ्रान्सेली संस्कृति मन्त्रालयले घटनालाई राष्ट्रिय सम्पत्तिमाथिको ठूलो क्षति भन्दै सम्पूर्ण सांस्कृतिक संस्थाहरूमाथि सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।