
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा बैंकहरुको नाफा घटेको छ । अधिक तरलता हुँदा बैंकहरुबीच बढेको प्रतिस्पर्धाले उनीहरूको स्प्रेड रेट (निक्षेप र कर्जाको ब्याजदरबीचको अन्तर) घट्दै गएको छ । जसले गर्दा बैंकहरुको खुद ब्याज आम्दानीमा कमी आउँदा गत वर्षको तुलनामा वाणिज्य बैंकहरुको नाफा घटेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तथ्यांक अनुसार वाणिज्य बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकामा बैंकहरुको नाफा घटेको हो । गत आर्थिक वर्षको भदौमा बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको औसत अन्तर ३.९९ प्रतिशत रहेकामा २०८२ भदौमा ३.७० प्रतिशतमा झरेको छ ।
यस्तै बैंकहरुको अधिक तलरलता बढ्दै गएर सीडी रेसियो ७५ प्रतिशतमा झरेको छ । जसले गर्दा बैंकहरुको खुद ब्याज आम्दानीमा कमी आउँदा नाफा पनि घटेको छ ।
साउन र भदौमा बैंक तथा वित्तीय संस्थाको कुल नाफा १८ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको नाफा १८ अर्ब १४ करोड ३९ लाख रुपैयाँ रहेकामा चालु आर्थिक वर्षमा केही बढेको छ ।
साउन र भदौमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । बैंकको नाफा ७.२६ प्रतिशतले घटे पनि १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको हो । त्यस्तै नबिलको नाफा १५.१७ प्रतिशतले घट्दा १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक १४.९५ प्रतिशतले नाफा घट्दा १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको छ । त्यस्तै कुमारी बैंकको नाफा ७.७२ प्रतिशतले घटेपनि १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । प्राइम र एनएमबिले पनि २ महिनामा अर्ब माथि नाफा कमाएका छन् । प्राइमले १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ र एनएमबिले १ अर्ब ३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।
साउन र भदौमा सबैभन्दा कम नाफा नेपाल एसविआई बैंकको ३५ करोड ४६ लाख, हिमालयनको ३७ करोड ७ लाख, माछापुच्छ्रेको ४८ करोड २० लाख र एनआईसी एशिया बैंकको ४९ करोड ५२ लाख रुपैयाँ छ ।
२ महिनामा विकास बैंकहरुले १ अर्ब ५० करोड ५४ लाख रुपैयाँ नाफा कमाउँदा फाइनान्स कम्पनीहरुले २३ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् ।
विकास बैंकहरुमध्ये मुक्तिनाथले सबैभन्दा धेरै ३६ करोड रुपैयाँ नाफा कमाउँदा गरिमा विकास बैंकले २७ करोड रुपैयाँ नाफा कमाएको छ । फाइनान्स कम्पनीमा गुडविलको नाफा सर्वाधिक ९ करोड ३५ लाख रुपैयाँ छ ।











प्रतिक्रिया