कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा फेरि भेटियो अत्यधिक विषादी

84
Shares

काठमाडौं । पछिल्लो समयमा काठमाडौंमा बिक्री हुने तरकारीमा अत्यधिक मात्रामा विषादी अवशेष फेला पर्ने घटना बढ्दै गएको छ ।

आज (बिहीबार) पनि फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको अकबरे खुर्सानीमा उच्च मात्रामा विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक भएको हो ।

परीक्षण अनुसार, सो खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको सीमा भन्दा निकै माथि रहेको छ । सरकारको मापदण्ड अनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म पाइएमा केही दिन राखेपछि मात्र खान मिल्ने प्रावधान छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहरिन्छन् ।

यसअघि पनि सोमबार मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी फेला परेको थियो । त्यस्तै, गत बिहीबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको थियो ।