पुँजीबजार सुधार सुझाव कार्यदलको सिफारिस कार्यान्वयन गर्न कार्ययोजना तयार

161
Shares

काठमाडौं । पुँजीबजार सुधार सुझाव कार्यदलले सिफारिस गरेका तत्काल गर्नुपर्ने कार्यको कार्यान्वयन कार्ययोजना बनेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कार्यदलले सिफारिस गरेका तत्काल गर्नुपर्ने कार्यको कार्यान्वयन कार्ययोजना तयार गरेको हो ।

कार्ययोजनामा धितोपत्र दलाल व्यवसायी मार्फत मार्जिन कारोबार प्रणाली कार्यान्वयन कात्तिक मसान्तसम्ममा गर्ने समयसीमा तोकिएको छ । संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था तुरुन्त लागू गर्ने भनिएको छ ।

लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था प्रक्रिया सुरु भइसकेकाले आउँदो कात्तिक १५ भित्रे सम्पन्न गर्ने र धितोपत्र दलाल व्यवसायीले लगानीकर्ताले समयमै खरिद आदेश बमोजिमको रकम भुक्तानी गर्न नसकेमा वा धितोपत्र दलाल व्यवसायीले समयमा लगानीकर्तालाई भुक्तानी गर्न नसकेमा उक्त रकमबाट सृजित दायित्व वा प्रतिफल भुक्तानी सम्बन्धी व्यवस्थामा एकरुपता काय गर्ने काम मंसिर १५ सम्ममा गरिने कार्ययोजनामा उल्लेख छ ।

मन्त्री नियुक्त भएसँगै अर्थमन्त्री रामेश्वर खनालले आसोज ३ गते धितोपत्र बोर्डको कायम मुकायम कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेका थिए ।

पुँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत र प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना प्रस्तुत गर्नेगरी उक्त कार्यदल गठन भएको थियो।

कार्यदललाई ५ दिनभित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्ने कार्यादेश दिइएको थियो । उक्त कार्यदलले बिहीबार अर्थमन्त्री खनाललाई प्रतिवेदन बुझाएको हो ।

धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक संयोजक रहेको कार्यदलमा नेपाल राष्ट्र बैंकका बोर्ड सचिव समेत रहेका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य थिए ।कार्यदलको सदस्यसचिवमा अर्थमन्त्रालयका उपसचिव शरद निरौलासमेत थिए । उक्त कार्यदलले केही समय अघि मात्रै प्रतिवेदन सरकारलाई बुझाएको थियो ।