युनिलिभर नेपालले प्रतिसेयर १८४२ रुपैयाँ लाभांश दिने

231
Shares

काठमाडौं । युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १८४२ रुपैयाँ नगद लाभांश दिने भएको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी १८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले २५ कात्तिकमा लाभांश प्रस्ताव पारित गर्नेगरी ३२ औं वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि ११ कात्तिकदेखि २५ कात्तिकसम्म सेयरधनी दर्ता किताब बन्द (कुल क्लोज) गर्ने प्रस्ताव गरेको छ । यस आधारमा ११ कात्तिकसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् भने साधारणसभामा पनि उपस्थित हुन सक्नेछन् ।

९ करोड २० लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर मूल्य मंगलबार दोस्रो बजारमा ४७ हजार ७९० रुपैयाँमा बन्द भएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाउँदा प्रतिसेयर आम्दानी २१३१ रुपैयाँ छ ।
सञ्चित नाफा ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ५६६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.७५ गुणा छ ।