जेनजी आन्दोलनमा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर सहयोग

91
Shares

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला प्रशासन कार्यालय मोरङलाई कम्प्युटर उपलब्ध गराएको छ।

जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्णरुपमा क्षतिग्रस्त भएर अनिश्चितकालका लागि सेवा स्थगन गरेको जिल्ला प्रशासन कार्यालय मोरङलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १० थान कम्प्युटर उपलब्ध गराएको छ ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले उपलब्ध गराएका ति कम्प्युटर संघका कार्यकारी निर्देशक राधारमण भण्डारीले आइतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका थिए ।

त्यसैगरी आगजनीबाट क्षतिग्रस्त भएको भवनमा रंगरोगनका लागि एशियन पेन्ट्सले ३ सय लिटर रंग पनि प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको छ ।

जेनजीको आन्दोलनका क्रममा कोशी प्रदेशमा मुख्यमन्त्रीको कार्यालय सहित ४२ वटा भवनमा क्षति पुग्दा १८ वटा पूर्णरुपमा ध्वस्त भएको प्रदेश सरकारको तथ्यांक छ । त्यसैगरी यो प्रदेशमा २३७ वटा सरकारी सवारीका साधनमा आगजनी गरिएको छ ।

जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट मोरङमा कोइराला निवास सहित १५ वटा निजी घरहरुमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी यादवले वताए । उनका अनुसार ७३ वटा संघीय कार्यालय मध्ये २१ वटा पूर्णरुपमा क्षतिग्रस्त छन । जिल्लाका १७ स्थानीय तहमध्ये १० वटा र १५९ वडा कार्यालय मध्ये ५८ वटा आगजनीवाट पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।