
काठमाडौं । दशैं नजिकिँदै गएपछि नेपालका व्यवसायीहरुले भरियामार्फत दशैं लक्षित सामानहरु बोकाएर नेपालतर्फ ल्याउन सुरु गरेका छन् ।
अहिलेसम्म फलफूलमात्रै भरियामार्फत बोकाएर ल्याउने गरिएकोमा आइतबारदेखि दशैंको बजारमा उपभोग हुने सम्पूर्ण प्रकारका सामानहरु भरियामार्फत बोकाएर ल्याउन सुरू गरिएको व्यवसायीहरुले बताएका छन् ।
बाढी पहिरोका कारण उत्तरी छिमेकी मुलुक चीनसँग सम्बन्ध जोड्ने दुई नाकामध्ये रसुवा नाका पूर्ण रुपमा सम्बन्ध बिच्छेद अवस्थामा छ भने अर्को नाका तातोपानीको लार्चेस्थित सुक्खा बन्दरगाह र चीनको मितेरी पुलसम्मको बाटोमा करिब एक सय मिटरसम्म पहिरो खस्दा बाटो अवरुद्ध छ । लार्चे सुक्खा बन्दरगाहदेखि मितेरी पुलसम्म कन्टेनर नचलेको करिब अढाई महिना पुगेको छ ।
दशैं तिहारमा उपभोग हुने सामानमध्ये करिब ७० प्रतिशत चीनबाट आयात हुने व्यवसायीहरुको भनाइ छ । जेनजी आन्दोलनका कारण असहज बनेको परिस्थितिका बाबजुद नेपालीहरुको राष्ट्रिय पर्व मानिने दशैंको चहल पहल सुरु भइरहँदा व्यवसायीहरुले बिकल्पको रुपमा भरियामार्फत चीनबाट सामान ओसार्न थालेका हुन् ।
भरियाको सहयोगमा पोका पोका सामान भित्र्याएको भरमा यो वर्षको देशभरको बजारलाई चलायमान र गुलजारमय बनाउन व्यवसायीहरु कम्मर कसेर भिडेका छन् । दशैं आउनै लाग्दा असन बजार, महाबौद्ध, खिंचापोखरी, न्युरोड, इन्द्रचोक, भोटाहिटी, जमललगायतका बजारमा अहिलेदेखि नै भिडभाड हुन सुरु भइसकेको छ ।
दशैंको चहल पहल सुरु एपनि बजारलाई चलायमान बनाउन आवश्यक पर्ने सामानहरु कन्टेनरमार्फत अहिले पनि सहज रुपमा आउन पाएको छैन । अर्को नाका तातोपानी सडक खण्डको विभिन्न स्थानमा पहिरो गएर करिब अढाई महिनादेखि बाटो अवरुद्ध भएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष हेमलाल खरालका अनुसार रसुवा नाका पूर्णरुपमा ठप्प भएपछि व्यवसायीहरुले री रुट गरेर केहि कन्टेनर तातोपानी(चीन) तर्फ ल्याइपुर्याएका छन् ।
उनका अनुसार तातोपानी नाका र लार्चेस्थित सुक्खा बन्दरगाहसम्म बाटो पहिरोले अवरुद्ध भएकाले चिनियाँ नाकासम्म आइपुगेको कन्टेनरबाट सामान झारेर भरियामार्फत सुख्खा बन्दरगाहसम्म ओसार्दै आएको जानकारी दिए । बन्दरगाहमा आइपुगेको पोकै पोका भएको सामान जाँचपास गरी नेपाली नम्बर प्लेटको ट्रक र कन्टेनरमा लोड गरी काठमाडौंसहित विभिन्न स्थानमा पठाउन थालिएको छ ।
सामान ओसार्न दैनिक १ हजार ५ सयदेखि २ हजारको संख्यामा भरियाहरु खटिएका छन् । बाढी पहिरोका कारण करिब तीन महिनादेखि दशैंतिहार लक्षित सामानसहितको सयौं कन्टेनर चीनको विभिन्न स्थानमा अलपत्र अवस्थामा परेका छन् ।

बाढी पहिरोका कारण रसुवा नाका पूर्ण रुपमा ठप्प र अर्कोतर्फ तातोपानी नाकाको विभिन्न खण्डमा पहिरो गएर र सडक भासिएर सडकमार्ग अवरुद्ध हुँदा तिज, दशैं र तिहारलाई लक्षित गरी सामान लोड भएका ५ सयभन्दा बढी कन्टेनर केरुङमा अलपत्र परेका थिए । यस्तै तातोपानी खण्ड पटक पटक अवरुद्ध भएका कारण १ हजार ६ सय सामान बोकेको कार्गो कन्टेनर चीनको ल्हासा–न्यालममा अलपत्र परेका थिए ।
ति कन्टेनरहरुमा ३५ अर्बभन्दा बढी रुपैयाँबराबरको विभिन्न प्रकारका फलफूल, लसुन, जुत्ता, तयारी पोशाक, हल्का ज्याकेट र जर्सी, बेल्ट, घडी, खेलकुदका सामान, कस्मेटिक्स, तन्ना, रेडिमेड डसना, तिहारमा बाल्ने झिलिमिली बिद्युतीय वत्तिसहित बिद्युतीय उपकरणलगायतका सामानहरु रहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
‘अलपत्र परेका सामानसहितको कन्टेनर त्यतिकै छाड्न मिल्दैन, बैंकबाट ऋण उठाएर लोड भएका सामान त्यतिकै छाड्दा ऋण र ब्याज तिर्नसमेत समस्या हुने भएकाले बरु थोरै लागत खर्च बढेपनि भरियामार्फत ति सामान ल्याउन सुरु गरेका छौं,’ खरालले भने,‘सुरुआति समयमा फलफूल र बिग्रने सामान मात्रै भरियामार्फत बोकाएर वारिपट्टि ल्याउने काम भएपछि पछिल्लो समयमा आएका सबै सामान बोकाएर ल्याउन सुरु गरेका छौं ।’
खरालका अनुसार शनिबारदेखि भरियाको सहयोगमा दैनिक ५ देखि १० कन्टेनरको सामान लार्चे बन्दरगाहसम्म ल्याउने काम सुरु भएको छ । यस्ता भरियाले हलुङगो प्रति पोकाको १५० र गहुङगो पोकालाई ५ सय रुपैयाँसम्म लिने गरेका छन् । यसरी भरियामार्फत सामान भित्र्याउँदा प्रति कन्टेनरमा करिब ५० हजार बढी लागत खर्च बढेको उनको भनाई छ ।
‘तर यो लागत खर्च सम्पूर्ण रुपमा उपभोक्ताको टाउकोमाथि थुपार्दैनौं,’ खरालले भने,‘जेनजी आन्दोलनका कारण मुलुकको अवस्था असहज बनेको छ, बजारहरु अहिले अस्तव्यस्त बनेका छन्, यस्तो अवस्थामा हामी व्यवसायीहरु लागत खर्च मात्रै उठ्ने गरी उपभोक्तालाई सामान बिक्री गर्ने धारणा बनाएका छौं । यस्तो अवस्थाको फायदा उठाएर उपभोक्ताको टाउकोमा थप महँगीको भार थप्दैनौं ।’
धेरै कन्टेनरहरु केरुङ–रसुवा नाकाबाट फिर्ता भएर रिरुट गरी तातोपानी ल्याइएको छ । केही कन्टेनरहरु रिरुट गरी मुस्ताङको कोरोला नाकासमेत पुर्याइएको उनको भनाइ छ ।
नेपाल हिमालयन सीमापार बाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले पछिल्लो आन्दोलनका कारण मुलुक नै अस्तव्यस्त भएकाले तातोपानी र मितेरी पुल जोड्ने सडक मर्मत सम्भार र रसुवा नाका सुचारु गर्ने बिषयमा सरकारको ध्यान नपुगेको जानकारी दिए ।
‘ति दुवै नाकामार्फत हुने वैदेशिक व्यापार र आएका सामानले धानेको बजार र अर्थतन्त्रको बिषयमा सरकारले गम्भिर रुपमा चासो नराखेका कारण दुवै नाका अलपत्र परेका छन्,’ कार्कीले भने,‘यो वर्षको दशैं चाडवाड हामी व्यवसायीको लागि कालो दिन आएजस्तै भएको छ । पारिपट्टि टन्नै सामान लोड भएका दर्जनौं कन्टेनर अलपत्र परेका छन्, भरियामार्फत ल्याउन पनि त्यति सहज छैन् । भरियामार्फत केहि ल्याउन हामीले पनि प्रयास गरिरहेका छौं ।’
नेपाली उद्योगी व्यवसायीहरुका लागि दशै, तिहार र छठ पर्वको अवधी चाँदी कटाईको समय भएर बर्षभर सुस्त भएको बजार यही वेला बुम हुने गर्छ । यो वेला देशभरको बजार चलायमान भएर मुलुकको कूल अर्थतन्त्रको करिब ३५ प्रतिशत रकम (६ खर्ब ८७ अर्ब रुपैयाँ) बजारमा प्रभावित हुने गर्छ ।

भन्सारको राजस्व नै ठप्प भयो : तातोपानी भन्सार कार्यालय
बाढी पहिरोका कारण तातोपानी नाकासमेत अबरुद्ध भइरहँदा लार्चेस्थित भन्सार कार्यालयलाई राजस्व उठाउन नै धौ धौ परेको छ ।
लार्चेस्थित तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाँलका अनुसार बाढी पहिरोका कारण पछिल्लो अढाई महिनादेखि उक्त नाका प्रभावित भएको छ ।
‘चीनबाट कन्टेनरमा सामान नआउँदा राजस्व संकलनमा समेत ठूलो गिरावट आएको छ, आजभोली कुनै दिन ५ लाख राजस्व उठ्छ, कुनै दिन एक रुपैयाँ पनि उठ्दैन,’ चुडाँलले भने,‘यो नाकाको लक्ष्य दैनिक पोनै ७ करोड रुपैयाँ उठाउनुपर्ने थियो । तर बाटोघाटो अवरुद्धका कारण राजस्व असुलमा पनि ठूलो समस्या पर्यो ।’
उनका अनुसार पछिल्लो समयमा व्यवसायीहरुले भरिया लगाएर दशैं लक्षित सामानहरु पोका पोका बनाएर पारीबाट वारिपट्टि ल्याउन सुरु गरेको जानकारी दिए ।
लार्चे सुख्खा बन्दरगाहमा आइपुग्ने त्यस्ता सामानको भन्सार जाँचपास गरी नेपाली नम्बर प्लेटको ट्रक र कन्टेनरमा राखेर काठमाडौंसहित विभिन्न गन्तव्य सहरका लागि पुग्ने गरेको उनले जानकारी दिए । उनका अनुसार रसुवा र तातोपानी नाकाको बिकल्पमा केहि व्यवसायीहरु सामानसहितको कन्टेनर मुस्ताङको कोरोला नाका पुर्याएका छन् ।
कार्कीका अनुसार चीनियाँ पक्षबाट रसुवाको मितेरी पुल नजिक ह्युमपाइप ओछ्याएर त्यसमाथि ग्राभेल हालेर अहिले अस्थायी रुपमा बाटो सुचारु गर्ने काम भइरहेको छ ।
‘तर पानी पर्ने बित्तिकै भएको काम बाढीको भेलले बगाइदिँदा समस्या आएको छ,’कार्कीले भने,‘आशा गरौं अबको २० दिनपछि यो अस्थायी बाटोमार्फत रसुवा नाकामार्फत सहज रुपमा सामानसहितको कन्टेनर भित्र्याउन सफल हुनेछौं ।’

कोरोला नाका पुग्यो कन्टेनर
सामानसहित चीनको विभिन्न स्थानमा अलपत्र परेका सामानसहितको कन्टेनर री रुट गरी मुस्ताङको कोरोला नाकामा व्यवसायीहरुले पुर्याएका छन् ।
खरालका अनुसार दशैंतिहारलाई लक्षित गरी नेपाली व्यवसायीले थप परिमाणमा सामान खरिद लोड गरेका कन्टेनर चीनको विभिन्न स्थानमा अलपत्र परेकाले ति कन्टेनरलाई रिरुट गरी कोरोला नाका पुर्याइएको हो ।
उनका अनुसार ५० भन्दा बढी कन्टेनर कोरोला नाका पुगेको छ । चीनको केरुङबाट मुस्ताङको कोरोला नाकासम्म ति कन्टेनरहरु पुर्याउँदा अतिरिक्त लागत खर्च प्रतिकन्टेनर डेढदेखि दुई लाख लागेको खरालले दाबी गरे ।
केरुङबाट कोरोला नाकाहुँदै पोखरा भएर राजधानीसम्म ल्याइपुर्याउँदा कम्तिमा ५ दिन लाग्छ ।
कोरोलास्थित मुस्ताङ नाकाका प्रमुख रमेश खड्काले पनि चीनबाट सामानसहितको करिब १ सयको हाराहारीमा कन्टेनरहरु कोरोला नाका आइपुगेको जानकारी दिए ।
उनका अनुसार कोरोलाको विभिन्न खण्डमा पहिरो गएर र इन्टरनेटसमेत नभएर ति सामानहरुको जाँचपास गर्न सकिएको छैन । गत शुक्रबारदेखि उक्त नाकामा सामानसहितको कन्टेनर आउन थालेको हो । मंगलबारदेखि इन्टरनेट र बिजुली सुचारु भएपछि दशैंका लागि कपडाजन्य सामान बोकेका ५५ वटा चिनियाँ कन्टेनर कोरोला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । मंगलबार नै कोरोलाको बाटोसमेत खुलेकाले रिरुट भएका कन्टेनरहरु धमाधम यहाँ आउन लागेको थियो ।
खड्काले दशैंका लागि नेपाली व्यापारीले चीनमा किनेका सामानहरु बोकेका कन्टेनरहरु रसुवा र तातोपानी नाका बन्द भएपछि डाइभर्ट भएर कोरोलामा आएका बताए ।
समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोरोला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको प्रमुख खड्काले बताए । नाकामार्फत चीनबाट एक सय ५१ वटा विद्युतीय गाडी आयात भएका छन् । नेपालबाट भने मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् ।
रसुवा नाका गत असार २४ गते आएको बाढी र पहिरोका कारण बन्द छ । सिन्धुपाल्चोकको कोदारीमा सडक मर्मतमा ढिलाइ हुँदा तातोपानी नाका हुँदै चीनबाट नेपालतर्फ आउने सामान करिब ४६ दिनदेखि रोकिएको छ ।
दशैंको मुखमा कच्चापदार्थ र तयारी सामान नपाउँदा समस्यामा परेका उद्योगी र व्यापारीहरूलाई कोराला नाका सञ्चालन भएपछि राहत मिलेको छ ।
मुस्ताङको कोरोला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् ।
तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन भएको कोराला नाका दुई वर्षपछि व्यापारिक रुपमा सञ्चालन हुन थालेको हो ।
भारत र चीनका सामान आयात निर्यातका साथै नेपालमा उत्पादन भएको सामान बजारीकरणका लागि कालीगण्डकी कोरिडोर र कोरोला नाकाले धौलागिरि क्षेत्रमा व्यापार व्यवसायको नयाँ अवसर सिर्जना गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
बेनी, जोमसोम हुँदै कोरोला नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दसैँको सामान लिन कोराला जाने क्रममा रहेको उनले बताए ।
‘कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीहरु उत्साही भएका छौँ’, उनले भने, ‘गण्डकी र लुम्बिनी प्रदेशका लागि कोरालाबाट सामान ल्याउँदा सस्तो पर्छ ।’

अब मुस्ताङ नाकाबाट आयात हुनेगरी एलसी खोल्न र ड्राफ्ट र टीटीको माध्यमबाट भुक्तानी गर्न पाइने
नेपाल राष्ट्र बैंकले चिनतर्फको नाका मुस्ताङ भन्सार मुस्ताङबाट आयात गर्नेगरी प्रतिपत्र, (एलसी) खोल्न सक्ने व्यवस्था गरेको छ ।
मंगलबार विदेशी विनिमय कारोबार गर्ने संस्थाहरुका लागि जारी गरेको एकिकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । हाल तातोपानी नाका, सिन्धुपाल्चोक र रसुवाको रसुवागढीमा रहेको रसुवा भन्सार कार्यालय मार्फत आयात गर्नेगरी मात्रै एलसी खोल्न सकिने व्यवस्था गरेको थियो ।
तातोपानी र रसुवा नाका बाढी र पहिरोका कारण अवरुद्ध भएपनि मुस्ताङको कोरोला नाकाबाट बस्तु आयात गर्न सक्नेगरी उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले सुचना जारी गरेको थियो ।
सरकार चिनतर्फको मुस्ताङ नाका र भन्साबाट अयात गर्न सकिने व्यवस्था गरेपछि मुस्ताङ भन्सारबाट आयात हुनेगरी एलसी खोल्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यस्तै चिनतर्फबाट र मुस्ताङ नाकाबाट पनि बढीमा टीटी मार्फत् आयात गर्न तोकिएको सीमासम्मको सामान आयात गर्नको लागि ड्राफ्ट र टीटीको माध्यमबाट भुक्तानी पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो सुविधा तातोपानी नाकामाबाट आयात हुँदा मात्रै थियो ।







प्रतिक्रिया