
काठमाडौ । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा आफ्नो कार्यकर्ता संलग्न भएको प्रमाणित भए कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेको छ ।
माओवादी केन्द्रका प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै संलग्नता पुष्टि भएमा पार्टी स्वयंले पनि कठोर कदम चाल्ने बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता गतिविधिमा हाम्रो पार्टीका कोही संलग्न देखिए पार्टीले आन्तरिक कारबाही गर्छ, साथै प्रमाण भेटिए सरकारले पनि सख्त कदम चालोस् भन्ने हाम्रो माग छ ।’
तर, कतिपय समूहले आधारहीन प्रचारमार्फत माओवादी कार्यकर्तालाई दोषारोपण गर्न खोजेकोप्रति पार्टीले गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आधारहीन हल्ला र दुष्प्रचारमार्फत हाम्रो पार्टी र आन्दोलनलाई कमजोर बनाउने प्रयासप्रति सचेत रहनुहोस्। आम जनसमुदायलाई यस्ता प्रचारप्रति भ्रममा नपर्न हार्दिक अपिल गर्दछौं।’
माओवादी केन्द्रले जेनजी पुस्ताले अघि सारेको आन्दोलनमा प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्व घुसपैठ गरी विनाशकारी गतिविधि मच्चाएको आरोप लगाएको छ।
यस्ता क्रियाकलापका कारण माओवादी केन्द्रका पार्टी कार्यालय, अध्यक्ष प्रचण्डसहित दर्जनौं नेता, कार्यकर्ता र परिवारका घर तथा सम्पत्तिमा तोडफोड र आगजनी भएको पनि विज्ञप्तिमा उल्लेख छ।
‘हाम्रो पार्टी यस घटनाप्रति कडा शब्दमा विरोध र भर्त्सना गर्दछ। यसले आन्दोलनको वास्तविक उद्देश्य र छवि धुमिल बनेको छ,’ विज्ञप्तिमा भनिएको छ।
सामाजिक सञ्जालहरूमा सार्वजनिक भिडियो तथा तस्बिरमा कतिपय माओवादी कार्यकर्ताको संलग्नता रहेको भन्दै आलोचना भइरहँदा माओवादीले विज्ञप्ति जारी गरेको हो ।







प्रतिक्रिया