गोदाममै थन्कियो १० करोड किलो रासायनिक मल, खेतीको समयमा किसानलाई सास्ती

112
Shares

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडको विभिन्न जिल्लास्थित गोदामहरूमा झण्डै १० करोड किलो रासायनिक मल थन्किएर बसेको पाइएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशभरका वितरण व्यवस्था महाशाखाहरूमा कुल ९ करोड ८२ लाख ३५ हजार ४५० किलो मल मौज्दात रहेको छ।

सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि गाउँ–गाउँका किसानहरू भने अझै पनि मलको अभाव झेलिरहेका छन्। जिल्ला शाखा कार्यालयहरूमा मल थुप्रिएर बस्नु तर किसानको खेतसम्म नपुग्नुले वितरण प्रणालीमा ठूलो कमजोरी रहेको देखाउँछ। समयमै मल नपाउँदा यस वर्षको कृषि उत्पादनमा समेत ह्रास आउन सक्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्।

प्रशासनिक ढिलासुस्ती वा स्थानीय सहकारीहरूको उदासिनताका कारण गोदामबाट मल नउठेको हुनसक्ने अनुमान गरिएको छ। यसबारे सम्बन्धित निकायले प्रभावकारी कदम नचाले मल गोदाममै बिग्रने र किसानले सास्ती पाइरहने निश्चित देखिन्छ।

केन्द्रबाट जिल्ला शाखा कार्यालयहरूमा पर्याप्त मल पठाइए पनि स्थानीय स्तरमा समयमै वितरण हुन नसक्दा खेतीको मुख्य सिजनमा किसानहरूले मल पाउन सकिरहेका छैनन्।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी मल मधेश प्रदेशका शाखाहरूमा थुप्रिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको देखिन्छ।

मधेश प्रदेशमा ३ करोड ११ लाख ३१ हजार २०० किलो युरिया, १ करोड १४ लाख ५६ हजार २०० किलो डीएपी र ५५ लाख ८४ हजार ६०० किलो पोटास मौज्दात छ। यस्तै कोशी प्रदेश शाखा कार्यालयबाट १ करोड १९ लाख ५४ हजार ५०० किलो युरिया, २० लाख ९२ हजार ६०० किलो डीएपी र ३२ लाख ४८ हजार ८५० किलो पोटास उठेको छैन ।

लुम्बिनीमा १ करोड ५० लाख ३५ हजार ८५० किलो युरिया, ४६ लाख ४३ हजार ९०० किलो डीएपी र ४४ लाख १२ हजार ४०० किलो पोटास मौज्दात छ।

त्यस्तै बागमती प्रदेशमा ४० लाख ९३ हजार ३०० किलो युरिया, ५ लाख ९९ हजार १५० किलो डीएपी र २ लाख ५१ हजार ७५० किलो पोटास थन्किएको छ। सुदूरपश्चिम प्रदेशमा २४ लाख ५४ हजार १०० किलो युरिया, २ लाख ९३ हजार २५० किलो डीएपी र ४ लाख २३ हजार २०० किलो पोटास मौज्दात छ।

यसैगरी गण्डकी प्रदेशमा ४ लाख ६ हजार ६५० किलो युरिया, १ लाख ३० हजार ८०० किलो डीएपी र ६१ हजार ८०० किलो पोटास, कर्णाली प्रदेशमा २ लाख १२ हजार २५० किलो युरिया, ७४ हजार ६५० किलो डीएपी र ४८ हजार ९५० किलो पोटास मौज्दात रहेको कम्पनीको तथ्यांक छ।