
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले करको दर हेरफेर प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले करको दर र आर्थिक विधेयकमा मनलाग्दी हेरफेर गरिएको भन्दै आक्रोश व्यक्त गरे ।
सचेतक राईले सदनमा पेश भइसकेको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट फेरबदल गर्नु ‘अक्षम्य गल्ती’ भएको टिप्पणी गरे । उनले अर्थमन्त्रीलाई प्रश्न गर्दै भने, ‘यो अक्ष्यम्य गल्ती किन र कसको स्वार्थमा भएको हो? सदनमा आएको विषय सदनबाटै सम्बोधन हुनुपर्ने होइन र?’
राईले अर्थमन्त्रीले करका दरमा बारम्बार हेरफेर गरेर संसद्को अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए । ‘संसद् वादविवाद गर्ने थलो हो र यसको आफ्नै नीति, विधि र प्रक्रिया छ,’ उनले भने, ‘कसको ईशारा वा कुन स्वार्थमा करको दर आफूखुसी परिवर्तन गरियो? यसको जवाफ अर्थमन्त्रीले दिनुपर्छ ।’
कुनै पनि विधेयक सदनमा पेश भइसकेपछि त्यो संसद्को सम्पत्तिको रूपमा रहने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै राईले सरकारलाई त्यसलाई आफूखुसी बदल्ने वा सच्याउने अधिकार नभएको जिकिर गरे । उनले संविधानको मर्मविपरीत गएर आर्थिक विधेयकमा कैंची चलाउने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सचेतक राईले अर्थमन्त्री वाग्लेलाई कसैको स्वार्थ वा इशारामा लागेर करको दर फेरबदल गर्ने छुट नरहेको स्पष्ट पारे । उनले प्रक्रिया मिचेर गरिएका यस्ता निर्णयहरूले संसदीय व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने चेतावनी समेत दिए ।









प्रतिक्रिया