
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि समेटिने भएका छन् । लोडसेडिङको अन्त्य गरेर वाहवाही कमाएका घिसिङ मन्त्री बन्ने भएका हुन् ।
स्रोतका अनुसार कुलमानलाई मन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी छ । शुक्रबार कार्कीले सबै मन्त्रालय आफूसाथ राखेकी थिइन् ।
जेनजीको आन्दोलन तथा त्यसपछि विध्वंशकारी तोडफोड, लुटपाट र आजगनी पछि सत्ता फेरिएको हो ।
आन्दोलनलाई नेतृत्व गरेको हामी नेपाल नामक गैरसरकारी संस्थाले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको हो । त्यसबेला कुलमानको नाम पनि प्रधानमन्त्रीका लागि आएको थियो ।
तर, डिक्सर्ड नामक एपमा गरिएको भोटिङमा घिसिङ कार्कीभन्दा पछि परेका थिए ।
यता शुक्रबार राती नै प्रधानमन्त्री कार्कीले पद तथा गोपनियताको समथ लिइसकेकी छन् । उनले पहिलो निर्णयमार्फत् नै प्रतिनिधि सभा विघटन गर्ने र निर्वाचनको मिति तोक्ने निर्णय गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसबमोजिम राष्ट्रपतिले संसद विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने गरी मिति तोकेका छन् ।
मन्त्री बन्न लागेका घिसिङ लोडसेडिङको अन्त्य र ऊर्जा व्यवस्थापन गरेका कारण परिचित छन् । तर, उनको नेतृत्वमा रहेको प्राधिकरणले हुँदै नभएको आम्दानीलाई नाफा मानी कागजी नाफा गरेको, डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गर्ने उद्योगीले तिर्नै नपर्ने बिल काटेको जस्ता आरोप छन् ।







प्रतिक्रिया