३१ महिनामै विघटन भयो संसद, प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने

315
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार बेलुका मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।

कार्कीको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले विघटनलाई सदर गरेका छन् । राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकेका छन् । चुनावको मिति पनि प्रधानमन्त्री कार्कीको सिफारिसमा घोषणा गरिएको हो ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको नेपालको इतिहासमा पहिलो र विरलै हुने घटना हो । २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनपछि गठन गरिएको सांसद युवा आन्दोलनका कारण ३१ महिनामै विघटन भएको हो ।

आन्दोलनरत पक्षको आवाजसहित वार्तामा रहेको सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने कार्कीको अडानमा सरकार सहमत भएपछि प्रधानमन्त्री नियुक्ति गरिएको थियो ।

प्रधानमन्त्री नियुक्त गर्ने संविधानको व्यवस्थाभन्दा टाढा गएर राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका थिए । लगत्तै पौडेलले शपथ गराएका थिए ।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएपछि युवाहरूले डिस्कर्ड नामक प्लेटफर्ममा निर्णय गरी कार्कीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए । यता चर्चाको केन्द्रमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीको नाममा सहमति जनाएका थिए ।