
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।
बुधबार राति सामाजिक सञ्जालमार्फत बालेनले अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा रहेको उल्लेख गर्दै अन्तरिम/ चुनावी सरकारको नेतृत्वका लागि जेनजीबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन् ।
बालेनले यसो भने
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,
अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला ।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।
यो अन्तरिम/ चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु। तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।
सम्माननीय राष्ट्रपतिज्यू ,
Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।







प्रतिक्रिया