स्वास्थ्य मन्त्री पौडेलले दिए राजीनामा

56
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

जेनजीको आन्दोलन उग्र बनेपछि कांग्रेस नेता पौडेलले राजीनामा दिएका हुन् ।

राजीनामाको पत्रमा उनले लेखेका छन्, ‘भाद्र २३ गते काठमाडौंसहित देशभर सडकमा जे देख्यौँ, त्यो लोकतन्त्रका लागि उपयुक्त थिएन। सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन्जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज चेतावनी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा–छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन।’

घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु र त्यही राज्य संयन्त्रको अंग बन्नु—दुवै जिम्मेवारीबीच रहेको नैतिक द्वन्द्वका कारण पदमा रहन नसकेको उनको भनाइ छ । ‘लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिएर मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।