
काठमाडौं । सोल्टीमोडको सिटी होटलबाट बाहिरिएको हायात प्लेसले ललितपुरको कुपण्डोलमा बनाउँदै गरेको होटलको लागत ४ प्रतिशतले बढेको छ । सायन होटल प्रालिले बनाउँदै गरेको होटलको लागत सुरुमा अनुमान गरेकोभन्दा ४ प्रतिशतले बढेको हो ।
सन् २०२१ मा कम्पनी स्थापना गरी होटल निर्माण कार्य अगाडि बढाएको होटलले कुपण्डोलमा पाँचतारे होटल हायात प्लेस ब्रान्डमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
कम्पनीले सुरुमा २ अर्ब ८६ करोड ८० लाख रुपैयाँ लागतमा होटल निर्माण गर्ने जनाएको थियो । तर, अहिले बढेर २ अर्ब ९७ करोड ६० लाख रुपैयाँ पुगेको कम्पनीको भनाइ छ । कम्पनीले लगानीको अनुपात ६९:३१ राखेको छ । यसअघि कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको थियो ।
कम्पनीले होटल निर्माण सुरु गरेको स्थान र जग्गा अधिग्रहण गर्न उच्च मूल्य परेको जनाएको छ । निर्माण कार्य अगाडि बढाएको होटलको प्रतिकोठाको लागत २ करोड ७० लाख रुपैयाँ पुगेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले होटलमा १ सय १२ वटा सुविधासम्पन्न कोठाको निर्माण गर्नेछ । सुरुमा १५ हजार स्क्वारफिटमा ९६ वटा कोठाको निर्माण गर्ने योजना थियो ।
होटलसँगै क्यासिनो र ब्याङ्क्वेट पनि सञ्चालनमा आउनेछ ।
हालसम्ममा होटल निर्माणका लागि १७ प्रतिशत इक्विटीको व्यवस्थापन भइसकेको छ । साथै, ६१ प्रतिशत कर्जा रकमको पनि व्यवस्थापन भइसकेको छ ।
त्यस्तै होटलको निर्माण कार्य हालसम्ममा २९ प्रतिशत भौतिक प्रगति भइसकेको कम्पनीले जनाएको छ । आगामी सन् २०२७ को जुलाईसम्ममा होटल सञ्चालनमा ल्याउने तयारी छ । अनिस अग्रवाल र कविता अग्रवालको स्वामित्व रहेको होटलले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले यसअघि २ अर्ब २० करोड रुपैयाँको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको थियो ।







प्रतिक्रिया