हाइलाइफलाई प्रत्येक नेपालीको घरमा पुर्‍याउने मेरो सपना, लाभांश दिनसक्ने भएपछि आईपीओ

8.4k
Shares

अबको ५ वर्षमा हाइलाइफका ब्राण्डहरु ७७ जिल्लाका प्रत्येक घरका किचनमा उपस्थित हुनेमा दृढ संकल्पित छौं । नेपालमा एउटा उत्कृष्ट ब्रान्डका रूपमा हाइलाइफलाई अगाडि लिएर हामी जानेछौं । हामी नयाँ उद्यमीहरु अझ बढी पुँजी बजारमा संलग्न भएका व्यक्तिहरू छौं । ती समेतको संयुक्त प्रयासमार्फत् एउटा ब्रान्डको रूपमा स्थापित भएको कम्पनीमा आजभन्दा ४ वर्षअघि हामी प्रवेश गरेका हौं ।

भैरहवामा मुख्य कार्यक्षेत्र बनाएर २०-२२ वर्षअघि स्थापना भएको यो कम्पनीको नयाँ व्यवस्थापनको नयाँ सोच, पुरानो व्यवस्थापनको व्यवसायिक उत्कृष्टतालाई फ्युजन गरेर यहाँसम्म हामीले ल्याएका हौं । अहिले पनि कम्पनीको सुरुवातमा स्थापना गर्नु भएका हाम्रा सेयरधनी तथा प्रबन्ध सञ्चालक पंकज ज्ञवालीले यो कम्पनीको नेतृत्व गरिरहनु भएको छ भने व्यवसायिक क्षेत्रमा फरक–फरक पृष्ठभूमि, फरक व्यवसाय गरेका हामीहरूले बैंकबाट समर्थन र सहयोग गरेका छौं ।

फाइनान्सियल म्यानेजमेन्टको कार्य गरेका छौं । व्यवसायिक उत्कृष्टताको लागि के-के गर्न सकिन्छ, त्यो गरेका छौं । पछिल्लो समय हामी प्रवेश गरिसकेपछि आजसम्मको यात्रामा हामीले यसको कारोबारको आकार र यसको व्यवसायिक विस्तार उत्कृष्ट किसिमले अघि बढाएका छौं ।

नेपालमा खासगरी यो व्यवसायमा पुराना घरानाहरूको वर्चस्व बढी रहेको देखिन्छ । हाम्रा व्यवसायिक सम्मानित घरानाहरू मारवाडी र नेवारी समुदायहरूको बाहुल्यता रहेको यो क्षेत्रमा हाम्रो यो प्रवेश पक्कै पनि नयाँ प्रवेश हो । हामीलाई विश्वास छ, ती सम्मानित घरानाहरूले गरेको बिजनेस पक्कै पनि अझ बढी सम्मानित छ । यो व्यवसायमा पर्याप्त सम्भावनाहरू छन् भन्ने भित्रैबाट लागेर हामी आएका हौं ।

आजको मितिमा हेर्दा हामीले एफएमसिजीका विभिन्न २० वटा आइटमहरूको कारोबार गरिरहेका छौं । चोको प्लस, चोको फिल्स, कर्नफ्लेक्स, सोया, मसुरा, बेसन, चिया, ओट्स, मुस्ली, जाम, केचप, पास्ता, चिया सिड्स, फर्सीको बीऊ, क्विनोआ सिड्स गायतका उत्पादनहरू हामीले विभिन्न श्रेणीमा बिक्री गर्दै आएकोमा आम उपभोक्तासम्म पुग्नका लागि अर्को उत्कृष्ट उत्पादन हामीले बास्मती चामल ल्याएका छौँ ।

हामीले बास्मती चामल भारतको उत्कृष्ट ब्राण्ड लालकिल्लासँगको सहकार्यमा हाइलाइफ ब्रान्डको नामबाट नेपाल ल्याएका हौं । लालकिल्ला नेपाली उपभोक्तामाझ असाध्यै लोकप्रिय छ । हाइलाइफ ब्रान्डको नामबाट अहिले बास्मती चामल ल्याइरहँदा हामीले तीनवटा सेग्मेन्टमा बजारमा प्रवेश गरेका छौँ । लङग्रेन बासमती, लो जीआई राइस अनि पुलाउ राइस, यो क्याटोगोरीमा हामी आएका छौँ । हाल १ केजी, ५ केजी, र २० केजीको प्याकेटमा उपलब्ध छन् । निकट भविष्यमा ग्राहकको माग अनुरूप १० केजी, १५ केजीको प्याकेटमा पनि बजारमा ल्याउने प्रयासमा छौँ । यो कम्पनी स्थापनाकालमा सानो पुँजीको थियो । यसलाई अहिले हामीले वृद्धि गरेर ६० करोड रुपैयाँ चुक्ता पुँजीमा पुर्‍याएका छौं ।

बजारमा धेरै पटक धेरै साथीहरूले ‘यो आइपीओ कहिले आउला, सर्वसाधारणमा कसरी जाला ?’ भन्ने जिज्ञासाहरू राख्ने गर्नुभएको छ । कम्पनीलाई नयाँ सोचमा लैजानुपर्छ भन्ने सोचका साथ अघि बढिरहेको वर्तमान सन्दर्भमा कम्पनीले यो स्तरको ब्रान्ड मूल्य सिर्जना गर्दासम्म हामीले धेरै आरोह-अवरोह ब्यहोरिसकेका छौं ।

हामी यो ब्रान्ड स्थापना गर्नका लागि ठूलो रकम खर्च गरिसकेका छौं । यद्यपि कम्पनी उल्लेख्य नोक्सानीमा छ । तसर्थ, यो कम्पनीलाई भोलि कहाँ पुर्‍याउने ? यो छोटो समयको कम्पनी होइन । हामी रहौँला, नरहौँला । तर कम्पनीचाहिँ दीर्घकालसम्म रहिरहनुपर्छ छ ।

हाम्रो व्यवसायिक साझेदार लालकिल्लाको इतिहास नै हेर्नुहोस् न । सन् १९०१ सालमा स्थापना भएर अहिलेसम्म निरन्तर वृद्धिको यात्रामा छ । त्यस्तो कम्पनीसँग हामीले साझेदारी गरेका छौं । ग्राहकको पहिलो रोजाइको ब्रान्डसँग साझेदारी गरिसकेपछि कमसेकम हाम्रो व्यवसायिक साझेदारको राम्रो पदचिह्नलाई पछ्याउनुपर्छ । संस्थामा सुशासन स्थापना हुनुपर्छ भन्ने मान्यतामा हामी दृढ संकल्पित छौं । यस हिसाबले कम्पनीलाई पहिले आफ्नै खुट्टामा पूर्णरूपमा स्वाभिमान भएर उभिन सक्ने बनाउन लागि परेका छौं ।

आज कम्पनीको अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि, जुन दिन शेयरधनीलाई उपयुक्त अर्थात् कम्तिमा दोहोरो अंकको लाभांश दिन कम्पनी सक्षम हुन्छ । त्यसपछि मात्र यो कम्पनीले आईपीओ निष्काशनको प्रक्रियामा जानेमा हामी दृढ संकल्पित छौं । यो कम्पनी हाम्रो हामी युवा उद्यमीको सपनासँग जोडिएको छ, त्यसैले हामी हाइलाईफलाई एउटा उत्कृष्ट कम्पनी बनाउँछौं।