मोफसलबाट उदाएको ‘हाइलाइफ’ यसरी फैलिँदैछ देशविदेश, ७० करोड लगानी



काठमाडौं । लामो समयसम्म बुटवललाई केन्द्र बनाएर व्यापार गरिरहेको ‘हाइलाइफ’ ब्राण्ड देश र विदेशमासमेत व्यापार विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य लिएर एक वर्षअघि काठमाडौंमा केन्द्रित भयो ।

एक वर्षअघिसम्म मात्रै पनि महिमा ब्राण्डका नाममा कर्नफ्लेक्स, चिउरालगायतका प्रडक्टको बजारमा उपस्थिती राम्रो थियो । जति सेल्स थियो त्यत्तिमै सन्तुष्ट भइहाल्न भर्खरै व्यवसायमा प्रवेश गरेका प्रशान्त घिमिरेको मनले दिएन ।

व्यवसायलाई दायरा फराकिलो बनाउँदै हरेक घरको किचनसम्म र हरेक मानिसको ब्रेकफास्टमा साथ दिने घिमिरेको उद्देश्य पूरा गर्न परम्परागत व्यवसायमा नयाँपन दिनु जरुरी थियो ।

त्यसका लागि घिमिरेले कम्पनीमा महिमासँगै ‘हाइलाइफ’ ब्राण्डको फ्लेवर ल्याए । पुरानो महिमा ब्राण्डलाई यथावत राख्दै हाइलाइफलाई देशका हरेक ठाउँ र विदेशमा निर्यात गर्ने घिमिरेको योजना अगाडि मुख्य चुनौती थियो ।

ब्राण्डिङ ।

त्यसैले प्रशान्तले व्यवसाय रणनीति परिवर्तन गर्ने सोच बनाए । परिवारमा सुनाए । तर शुरुमा सकारात्मक समर्थन पाउन गाह्रो भयो । तर हरेश भने खाएनन् । यसमा घिमिरेले साथ पाए कम्पनीका अध्यक्ष तथा उनका काका पंकज ज्ञवालीको ।

लामो समयसम्म व्यवसायीक जीवन बिताएका ज्ञवालीलाई व्यवसायमा नयाँ स्वाद पस्कने घिमिरेको योजना मन परेको थियो । त्यसैले ज्ञवालीले आफ्नो व्यवसायीक अनुभवका आधारमा घिमिरेलाई मार्गदर्शन गर्न थाले ।

परिवारले चलाएको व्यवसायमा नयाँपन दिने योजना घिमिरेको थियो भने युवालाई साथ लिएर कम्पनीलाई अगाडि बढाउने योजना ज्ञवालीले बुनेका थिए ।

परिवारको शुरुमा समर्थन नपाउनुको कारण भविष्यमा हुन सक्ने सम्भावित जोखिम थियो । किनभने निकै कम खर्चमा भइरहेको ब्राण्डिङमा राम्रै व्यापार गरिरहेका कम्पनीमा एकैचोटी करोडौं रकम खर्चनु आफैमा स्वभाविक पनि थिएन । तर घिमिरेले त्यो रिक्स लिए ।

घिमिरेलाई के विश्वास थियो भने कर्नफ्लेक्स, ओट्स, चिउरालगायत प्रडक्ट अब हरेक घरको किचनमा अनिवार्यजस्तै बनेको छ । र, यसले अन्ततः व्यापारको ग्राफ उकालो लाग्छ । त्यसमाथि गुणस्तरीय खानपिनमा मानिसको जोड बढ्दै गएको छ । कम्पनीले खानाको गुणस्तरमा पनि उत्तिकै ध्यान दिएको छ ।

‘त्यो किन पनि भने, एकातिर मानिसहरुको खानपिनको शैली फेरिँदै थियो, त्यसमाथि आम्दानी बढ्दै जाँदा ब्रेकफास्टमा कर्नफ्लेक्स र ओट्स खाने बानीमा मानिसहरु अभ्यस्त बन्दै गएका थिए, त्यसमाथि हामीले गुणस्तरमा निकै ध्यान दिएका थियौं,’ घिमिरेले क्लिकमाण्डूसँग भने ।

१ वर्षअघि काठमाडौंमा केन्द्रित भई जुन उद्देश्यले व्यापारको दायरा विस्तार गर्ने लक्ष्य लिइएको थियो । त्यो एक वर्षपछि पूरा भएको छ । र, अगाडि थपिएको छ नयाँ अवसर र चुनौती ।

करिब ७० करोड रुपैयाँ लगानी र ५ सयभन्दा बढी जनशक्ति आबद्ध यस फूड व्यवसायलाई नयाँ उचाइ दिनु चानचुने कुरा थिएन ।

ज्ञवालीले लामो समयदेखि बनाएको व्यवसायीक उचाइ जोगाउँदै नयाँ ब्राण्डलाई स्वदेशी र विदेशी ब्राण्डसँगको प्रतिष्पर्धात्मक बनाउँदै र उपभोक्तामाझ प्रडक्टसँग अभ्यस्त बनाउनु उत्तिकै जरुरी पनि थियो ।

‘बजार बढ्दै जाँदा हाम्रा अगाडि २ वटा चुनौती थियो, ब्राण्डिङ र सेल्स, यी दुबैलाई रिस्क लिएर एकैसाथ अगाडि बढाउनु सजिलो थिएन,’ हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले भने, ‘अहिले शुरुवातबाटै हामीले निकै सकारात्मक प्रतिक्रिया पायौं ।’

हाइलाइफ ब्राण्डको शुरुवात कर्नफ्लेक्सबाट शुरु भएको हो । शुरुमा महिमा ब्राण्ड थियो । जुन अहिले पनि छ । तर कम्पनीका लागि ब्राण्डिङका लागि भए पनि हाइलाइफ जरुरी थियो । त्यसैले महिमा ब्राण्डबाट मात्रै चलेको कर्नफ्लेक्स र चिउरालगायतका फूडको व्यवसायमा घिमिरेले ‘हाइलाइफ’ शुरु गरेका थिए ।

‘त्यसभन्दा अघि हामीले ब्राण्डिङमा निकै फोकस थियौं । एउटा मात्रै ब्राण्ड थियो । तर बजार सीमित थियो । सेल्स पनि सीमित हुने नै भयो । त्यसलाई हामीले ‘हाइलाइफ’का नाममा रि-लञ्ज गर्यौं,’ घिमिरेले भने ।

कम्पनीले शुरुमा चिउरा, सोयाबिन र भुजाको तीन वटा प्रडक्टका लागि नयाँ युनिटको शुरुवात गर्यो । जसबाट दुई वटा ब्राण्डमा प्रडक्ट उत्पादन हुन थाल्यो । यसले एउटै जिल्लामा दुई वटा डिलर दिन मिल्ने भयो । जसले सेल्स बढाउने लक्ष्य पूरा भयो ।

युवा नयाँ तरिका र अनुभवको संयोजनले ‘हाइलाइफ’ले छोटो समयमा प्राप्त गरेको सफलता भएको कम्पनीका अध्यक्ष पंकज ज्ञवाली बताउँछन् ।

‘जसले गर्दा कम्पनीका उत्पादन निम्न वर्गदेखि उच्च वर्गको भान्छासम्म पुग्न सफल भएको छ,’ ज्ञवालीले भने ।

घिमिरेको युवा सोच र ज्ञवालीको अनुभवमा अहिले ‘हाइलाइफ’ अगाडि बढिरहेको छ ।

कम्पनीले शुरुमा चिउरा र कर्नफ्लेक्समा ब्राण्डिङ गर्न थाल्यो । पहिले बोरामा आएको धुलो चिउरा खाने उपभोक्ताले अब राम्रो प्याकेजिङ भएको गुणस्तरीय चिउरा पाउन थाले । यसले व्यापार बढायो । ज्ञवालीको योजनाले यहाँनिर काम गर्यो ।

‘पहिले उपभोक्ताहरु चिउरा मात्रै किन्थे भने अहिले हाइलाइफ ब्राण्डको चिउरा खरिद गर्छन्, चिउरामा गुणस्तर कायम गर्न सकेकै कारण उनीहरु हाइलाइफकै चिउरामा अभ्यस्त बन्दै गएका छन्,’ कम्पनीका अध्यक्ष ज्ञवालीले भने ।

उनीहरुको परिवार अन्तर्गत विभिन्न ४ वटा कम्पनी छन् । उसबाट हाइलाइफ ब्राण्डबाट प्रडक्टहरु उत्पादन भएर बजारसम्म पुग्छन् ।

यो रणनीति आजका दिनसम्म आइपुग्दा २ सय प्रतिशतले बढेको छ । त्योभन्दा बढी उत्साह र व्यवसायको चम्कँदो भविष्यले घिमिरेको त्यो रणनीतिले काम गरेको स्पष्ट देखिएको छ ।

ज्ञवाली र घिमिरेलाई हाइलाइफ शुरु गर्दैगर्दा उत्पादन क्षमता २०० प्रतिशतसम्म गर्न सकिन्छ भन्ने विश्वास थियो । सोही अनुसार प्लान्ट बनाएका थिए ।

‘बजारमा हाइलाइफ ब्राण्ड गएको दिनदेखि नै व्यापारले गती लियो । शुरुमा १० प्रतिशतमात्रै बढ्दा पनि हामी निकै खुसी थियौं तर अहिले २ सय प्रतिशतले व्यापारमा बढोत्तरी भएको छ,’ ज्ञवालीले भने ।

अब कम्पनीसँग बजार बिस्तार र सेल्स बढाउनका लागि उत्पादन पनि बढाउनु पर्ने भएको छ । शुरुमा २०० प्रतिशतको लक्ष्य हासिल गरेपछि अब उनीहरुको लक्ष्य त्योभन्दा निकै माथि पुगेको छ ।

कम्पनीका अगाडि उत्पादन र बजार बढाउनेसँगै निर्यात बढाउने चुनौती छ तर त्यसका लागि बलियो जग बने बनिसकेको छ । कम्पनीले हाल अष्ट्रेलिया, हङकङ र अमेरिकामा प्रडक्टहरु निर्यात गरिरहेको छ ।

हाल कम्पनीले चिउरा, कर्नफ्लेक्स र ओट्ससँगै चिया सिड्स, ग्रीन टि, सोयाविनलगायतका १८ वटा प्रडक्ट छन् भने देशभर ८० भन्दा बढी डिलरले साथ दिइरहेका छन् ।


कमलकुमार बस्नेत