
काठमाडौं । हामीमध्ये धेरैलाई पकौडा, समोसा, बर्गर जस्ता तलेका खानेकुरा अत्यन्तै मनपर्छन् । तर प्रायः सुनिन्छ कि यस्ता कुराहरू धेरै खाँदा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ ।
डाक्टरहरूका अनुसार, बढ्दो कोलेस्ट्रोलको समस्या अब केवल वृद्धहरूमा मात्र होइन, युवाहरूमा पनि गम्भीर समस्याको रूपमा देखिन थालेको छ ।
कम उमेरमै कोलेस्ट्रोलको स्तर बढ्नु, पछि उमेरमा बढ्ने कोलेस्ट्रोलको तुलनामा अझै हानिकारक हुन सक्छ ।
त्यसो भए, कोलेस्ट्रोल भनेको के हो ? यो शरीरमा कसरी बढ्छ ? र यसलाई कसरी घटाउन सकिन्छ ? यस लेखमा हामी यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्नेछौं ।
कोलेस्ट्रोल एक प्रकारको बोसोयुक्त, जेल जस्तो पदार्थ हो, जुन लिपिड वर्गमा पर्दछ ।
यो शरीरका धेरै महत्वपूर्ण काममा सहयोग पुर्याउँछ । कोलेस्ट्रोल शरीरको प्रत्येक कोषमा पाइन्छ र रगतमार्फत शरीरभरि फैलिन्छ।
यसले प्रत्येक कोषको चारैतिर सुरक्षात्मक तह बनाउने काम गर्छ ।
कोलेस्ट्रोल केही हर्मोन निर्माणमा पनि सहायक हुन्छ । शरीरमा पाइने कुल कोलेस्ट्रोलको करिब ८० प्रतिशत भाग कलेजो (लिभर) आफैँ बनाउँछ ।

कोलेस्ट्रोल कहिले हानिकारक हुन्छ ?
कोलेस्ट्रोल दुई प्रकारका हुन्छन् – एचडीएल र एलडीएल । एचडीएल अर्थात् हाई डेन्सिटी लिपोप्रोटिनलाई राम्रो कोलेस्ट्रोल भनिन्छ भने एलडीएल अर्थात् लो डेन्सिटी लिपोप्रोटिनलाई नराम्रो कोलेस्ट्रोल मानिन्छ ।
जब रगतमा एचडीएल र एलडीएल बगिरहेका हुन्छन्, एचडीएल सजिलै अघि बढ्न सक्छ ।
तर एलडीएलको मात्रा बढेमा, यो चिपचिपो पदार्थजस्तै रक्तनली तथा धमनीमा अड्किएर प्लाक बनाउँछ । प्लाक भनेको एक प्रकारको तह हो ।
यदि यो प्लाक लामो समयसम्म जम्मा भइरह्यो भने, रगतको बहावमा अवरोध आउन सक्छ । यसले मस्तिष्क र मुटुमा अक्सिजन तथा पोषक तत्व नपुग्न सक्छ, जसले हर्ट अट्याक वा स्ट्रोकको खतरा बढाउँछ ।
तपाईंको कोलेस्ट्रोलको स्तरमा धेरै कुरा निर्भर गर्छ – जस्तै उमेर, औषधिको सेवन वा अन्य स्वास्थ्य सम्बन्धी समस्या । यसका अतिरिक्त, जीवनशैली, दिनचर्या र खानपान पनि यसको अवस्थालाई निर्धारण गर्छ । तपाईं कति शारीरिक रूपमा सक्रिय हुनुहुन्छ, त्यसले पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।
दिल्लीको फोर्टिस एस्कोर्ट्स अस्पतालका हृदय रोग विशेषज्ञ डा. विवुध प्रताप सिंहकाअनुसार अल्ट्रा-प्रोसेस्ड खाना र ट्रान्स फ्याट्सले कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
उनी भन्छन्, ‘हामी यहाँ प्रोसेस्ड स्न्याक्स र बेकरी सामानहरूको कुरा गर्दैछौं, जसमा कृत्रिम बोसो हुन्छ । यस्ता खाना प्रायः बारम्बार प्रयोग गरिएको तेलमा बनाइएका हुन्छन् र तिनीहरुमा बढी नुन तथा चिनी पनि हुन्छ।’
उनी थप्छन्, ‘साथै, धेरै रिफाइन गरिएका कार्बोहाइड्रेटहरू, जस्तै मैदाबाट पनि टाढा रहनु पर्छ । यस्ता चीजमा एन्टिअक्सिडेन्टको अभाव हुन्छ र यसले एलडीएल कोलेस्ट्रोलको मात्रा बढाउँछ । यस्ता खाना तौल बढ्ने, शरीरमा सूजन हुने र हृदय रोगको जोखिम बढाउने मुख्य कारण बन्न सक्छ ।’
केही वैज्ञानिक तथ्यहरू
क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूको एक टोलीले कम उमेरमै कोलेस्ट्रोलको मात्रा बढ्नु, पछि उमेरमा सुरु हुने हाई कोलेस्ट्रोलको तुलनामा धेरै हानिकारक हुन सक्ने पत्ता लगाए ।
तपाईं जति बढी सक्रिय रहनुहुन्छ, तपाईंका मांसपेशीहरूले त्यति नै धेरै बोसो ऊर्जा बनाउन प्रयोग गर्छन् ।
यसको अर्थ शरीरमा स्याचुरेटेड फ्याट कम हुन्छ, जसले प्लाक बन्न दिँदैन र मुटुको दौरा वा स्ट्रोकको जोखिम पनि घटाउँछ ।
स्वस्थ मुटुका लागि आवश्यक बानीहरू:
धूम्रपानबाट टाढा रहनु
तौल नियन्त्रणमा राख्नु
मदिराको सेवन सीमित गर्नु
स्याचुरेटेड फ्याट, ट्रान्स फ्याट र प्रोसेस्ड फूडबाट दूरी कायम गर्नु
धेरै अध्ययनहरूमा सन्तुलित आहारले कोलेस्ट्रोल नियन्त्रणमा मद्दत पुर्याउने देखाएको छ ।
खानामा फाइबरको मात्रा हुनुपर्छ । फाइबर आन्द्रामा पुगेर जेलजस्तै तह बनाउँछ, जसले पाचन प्रक्रियालाई ढिलो पार्छ र बोसोलाई अवशोषण हुनबाट रोक्छ ।
त्यस्तै, केही प्रकारका प्रोटिनहरू पनि लाभदायक हुन्छन् । समग्रमा भन्नुपर्दा, खानामा फाइबरको मात्रा बढाएमा कोलेस्ट्रोल सन्तुलनमा राख्न सकिन्छ ।
जौ, मकै, तरकारी, सागसब्जी, दाल, ओट्स, नट्स, फलफूलमा प्रशस्त फाइबर पाइन्छ ।
शरीरमा पानीको महत्त्व
शरीरमा पानी र तरल पदार्थको अभावले विभिन्न समस्या निम्त्याउन सक्छ । यो विशेष गरी मुटु र रक्त सञ्चार प्रणालीका लागि हानिकारक हुन्छ ।
जब शरीर डिहाइड्रेट हुन्छ, रगतको प्रवाह कम हुन्छ । यसले लो ब्लड प्रेशर, चक्कर लाग्ने, बेहोस हुनेजस्ता समस्या ल्याउन सक्छ । यस अवस्थामा रगत पम्प गर्न मुटुले धेरै मेहेनत गर्नुपर्ने हुन्छ, जसले हृदयगति बढाउँछ र ‘प्याल्पिटेशन’ महसुस हुन सक्छ ।
डिहाइड्रेशनले रगत गाढा बनाउँछ, जसले रगत जम्ने सम्भावना बढाउँछ र हर्ट अट्याकको जोखिम बढाउँछ।
त्यसैले मुटुको हेरचाह गर्न अत्यन्त जरुरी छ । कहिलेकाहीँ केवल जीवनशैली परिवर्तनले मात्र पुग्दैन । त्यस्तो अवस्थामा औषधिको सहारा पनि लिन सकिन्छ । मुटुको आक्रमण (हार्ट अट्याक) बाट बच्न नियमित जाँच गराइरहनु र चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
एलडीएल (नराम्रो बोसो) धेरै हुनुको कारण, असर र बच्ने उपाय
कोलेस्ट्रोल के हो?
कोलेस्ट्रोल शरीरमा पाइने बोसोको एक प्रकार हो, जुन मैनजस्तो देखिन्छ।
यो रगतमा विशेष किसिमको कणमार्फत बग्दछ र शरीरका अंगहरूमा पुगोस् भनी काम गर्छ।
केही कोलेस्ट्रोल शरीरका लागि आवश्यक हुन्छ, तर अत्यधिक भएमा यसले मुटु र रक्तनलीमा गम्भीर समस्या ल्याउन सक्छ।
कोलेस्ट्रोलका प्रकारहरू
नराम्रो बोसो (एलडीएल):
यो बोसो शरीरका अंगहरूमा पुर्याउने काम गर्छ।
अत्यधिक भएमा धमनीमा जम्मा भई रक्तसञ्चारमा बाधा पुर्याउँछ।
राम्रो बोसो (एचडीएल):
बचेको कोलेस्ट्रोल फिर्ता लिभरमा लैजान्छ।
शरीरलाई सफा राख्न सहयोग गर्छ।
रगतमा घुमिरहने बोसो (ट्राइग्लिसराइड):
बचत क्यालोरीलाई शरीरमा भण्डारण गर्ने बोसो।
धेरै भएमा मुटु रोगको खतरा बढाउँछ।
नराम्रो बोसो धेरै हुँदा हुने जोखिमहरू
धमनीमा बोसोको तह जम्ने (अधमनी अवरोध)
मुटुमा रगतको प्रवाह घट्ने
छाती दुख्ने वा भारीपन अनुभव हुने
मुटुको आक्रमण (हर्ट अट्याक)
मस्तिष्कको रक्तनली अवरुद्ध भई पक्षघात (स्ट्रोक)
नराम्रो बोसो बढ्ने मुख्य कारणहरू
१. जीवनशैलीका कारण:
बोसोयुक्त मासु, घिउ, धेरै चिल्लो खानेकुरा, डिब्बाबन्द वा प्रशोधित खानेकुरा खानु
शारीरिक अभ्यास नगर्नु
बढी तौल हुनु (मोटोपन)
चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्नु
अत्यधिक मदिरा पिउनु
२. स्वास्थ्य सम्बन्धी समस्याहरू:
वंशानुगत कोलेस्ट्रोल रोग (जन्मजात समस्या जसले बोसो घट्न दिँदैन)
मधुमेह (चिनीको रोग)
थाइराइड कम सक्रिय हुनु (हाइपोथाइराइड)
मिर्गौला कमजोर हुनु
एचआईभी/एड्स वा ल्युपस जस्ता रोगहरू
३. केही औषधिहरूको असर:
छालाका गम्भीर रोगका औषधिहरू
क्यान्सरको उपचारमा प्रयोग हुने औषधिहरू
रक्तचाप नियन्त्रणका केही औषधिहरू
अङ्ग प्रत्यारोपणपछि लिइने रोग प्रतिरोधी औषधिहरू
नोट: यस्ता औषधिहरू चिकित्सकको सल्लाह बिना रोक्नु हुदैन। सट्टा लिने विकल्पबारे चिकित्सकले सुझाउन सक्छन्।
४. अन्य कारणहरू:
उमेर बढ्दै जाँदा बोसो व्यवस्थापनमा समस्या आउनु
परिवारमा कोलेस्ट्रोल समस्या हुनु (वंशानुगत कारण)
नराम्रो बोसो कम गर्न अपनाउनु पर्ने उपायहरू
स्वस्थ खाने बानी बसाल्नु:
चिल्लो, धेरै नुन, चिनी भएका खानेकुरा कम गर्नु
साबुत अन्न, दाल, गेडागुडी, सागपात, फलफूल र फाइबरयुक्त खाना खानु
प्रशोधित, डिब्बाबन्द वा बाहिरको खाना कम गर्नु
नियमित व्यायाम गर्नु:
हप्तामा कम्तीमा ५ दिन, दिनमा ३० मिनेट हिँडाइ, दौड, साइकल, योग आदि गर्नु
तौल घटाउनु:
आफ्नो शरीरको तौल उमेर र उचाइ अनुसार मिलाउनु
५–१० प्रतिशत तौल घटाउँदा पनि राम्रो असर देखिन्छ
धूम्रपान र मद्यपान त्याग्नु:
चुरोट र मदिरा दुबैले बोसो सन्तुलन बिथोल्छ
स्वास्थ्य समस्या भए समयमै उपचार गर्नु:
थाइराइड, मधुमेहजस्ता रोग नियन्त्रणमा राख्नु
नियमित स्वास्थ्य परीक्षण गर्नु:
रगतमा कोलेस्ट्रोलको मात्रा वर्षमा कम्तीमा एक पटक जाँच गराउनु







प्रतिक्रिया