
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूको यो भेलामा देखिएको दृश्य साँच्चिकै मनमोहक छ । सहभागिता, योगदान र उपलब्धिका हिसाबले आगामी पाँच वर्षे हाम्रो संसदीय कार्यकाल अविस्मरणीय रहोस् भन्ने शुभकामना दिन चाहन्छु । आज म केही छोटा तर आधारभूत कुराहरूमा यहाँहरूको ध्यान आकर्षित गर्न चाहन्छु ।
पहिलो कुरा, हालैको निर्वाचन ऐतिहासिक रह्यो भन्नेमा हामी सबै स्पष्ट छौँ । यो ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारी बोध हामी सबैमा हुनुपर्दछ । हामी सन् १७६९ देखिको आधुनिक राज्यको यात्रामा छौँ ।
२००७ सालको पृष्ठभूमिमा प्रजा परिषद् लगायतका समूहले सुरु गरेको आन्दोलनबाट राणा शासन धराशायी भयो र त्यसपछिको लोकतान्त्रिक यात्राको आरोह-अवरोह खेप्दै हामी यहाँसम्म आइपुगेका छौँ ।
नेपालको पहिलो लोकतान्त्रिक निर्वाचन २०१५ सालमा भएको थियो । अहिले हामीले हासिल गरेको उपलब्धि त्यो २०१५ सालकै निर्वाचनसँग दाँज्न सकिन्छ, बरु त्योभन्दा पनि दुई कदम अगाडि हाम्रा उपलब्धिहरू लिपिबद्ध भएका छन् ।
१५ सालमा विश्वेश्वरप्रसाद कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा १०९ वटा निर्वाचन क्षेत्रमध्ये उहाँको दलले ७४ सिट जितेर दुई-तिहाइ ल्याएको थियो, तर त्यतिबेला ‘पपुलर भोट’ जम्मा ३८ प्रतिशत थियो । अहिले हाम्रो स्थिति पनि लगभग दुई-तिहाइ छ (प्राविधिक कारणले दुई सिटको यताउति भए पनि), तर पपुलर भोटका हिसाबले हामीले ५१ लाख नघाएर झन्डै ४८ प्रतिशत भोट सेयर हासिल गरेका छौँ । यो जनादेश र वैधता असाध्यै गरुङ्गो छ, जसलाई सम्हालेर जनताको आशा-भरोसालाई न्याय गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी हो ।
विगत ३५ वर्षको इतिहासमा यस्तो ‘हेभी म्यान्डेट’ जम्मा तीन पटक आएका छन् । २०४८ सालमा पञ्चायत ढलेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको एकमना बहुमतको सरकार बन्यो । केही राम्रा आर्थिक सुधारहरू भए पनि आन्तरिक खिचातानीका कारण त्यो सरकार पाँच वर्ष टिक्न सकेन र गर्ल्यामगुर्लुम ढल्यो ।
त्यसपछि देश लामो अस्थिरता र सशस्त्र द्वन्द्वको पीडादायी अनुभवबाट गुज्रियो । २०६४/६५ मा तत्कालीन माओवादीले यस्तै ठुलो म्यान्डेट पायो । प्रत्यक्ष तर्फ बहुमत आए पनि ४० प्रतिशत प्रत्यक्ष र ६० प्रतिशत समानुपातिक प्रणालीका कारण स्पष्ट गभर्न गर्ने शक्ति बनेन र केही प्रारम्भिक ‘मिस-स्टेप’ हरूले गर्दा त्यो सरकार ९ महिनादेखि नै ओरालो लाग्न थाल्यो ।
२०७४ सालमा नेकपा एमाले र माओवादी मिलेर बनेको गठबन्धनले स्पष्ट दुई-तिहाइ बहुमत ल्यायो, तर त्यो पनि तीन वर्षपछि बिग्रियो । रास्वपाले अहिले पाएको जनमत स्कोपका हिसाबले नेपालकै इतिहासमा अभूतपूर्व छ । त्यसैले पुराना दलहरूले पाएको गरुङ्गो जनादेशबाट उनीहरूले के गरे र के गर्न सकेनन् भन्ने कुराबाट हामीले ‘के गर्ने र के नगर्ने’ भनेर सिक्नुपर्छ । अब हामी ‘पब्लिक अफिसियल’ भएकाले फरक चाल, चरित्र र संस्कारबाट अगाडि बढ्नुपर्छ ।
दोस्रो कुरा, हामी विधायक वा सांसदको भूमिकामा छौँ । सांसदको मूल काम के हो र सहायक काम के हुन् भन्नेमा हामी प्रस्ट हुनुपर्छ । हाम्रो मुख्य काम कानुन बनाउनु हो, हामी ‘ल-मेकर्स’ हौँ । साथै, सरकारको कामको समीक्षा, अनुगमन र निगरानी गर्ने हामी ‘वाचडग’ पनि हौँ । हाम्रै सरकार बन्दा पनि बाटो बिराएमा औँलो ठड्याउने र खबरदारी गर्ने साहस हामीमा हुनुपर्छ । आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासा र मुद्दाहरूलाई बुलन्द रूपमा उठाउने, नीति बहसमा सहभागी हुने र विकास निर्माणमा छिटो-छिटो ‘क्याच-अप’ गर्ने जिम्मेवारी हाम्रै हो । धेरै इन्जिनियर साथीहरू आउनुभएको छ, विकास निर्माणको जनअपेक्षा र हुटहुटीलाई हामीले सम्बोधन गर्नुपर्छ ।
हाम्रो वाचापत्रको मूल थिम ‘थिती बसाल्ने संकल्प’ हो । हामीले स-साना सुधार मात्र होइन, अब प्रणाली नै बसाल्नुपर्नेछ । यो लथालिङ्ग र भताभुङ्ग भएको अर्थ-राजनीति र सामाजिक अवयवहरूलाई सम्हाल्ने म्यान्डेट जनताले हामीलाई दिएका छन् । बहुमत नआएको भए यति गरुङ्गो भारी हुँदैनथ्यो, तर अब त ‘नो एक्सक्युजेस, नो इफ्स, नो बट्स’, हामीले काम गरेरै देखाउनुपर्नेछ ।
तेस्रो कुरा, अब हामी फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । कलेज छोडेको धेरै वर्ष भयो होला, यद्यपि ‘जेन-जी’ र नवयुवा पुस्ताका धेरै सांसदहरू निर्वाचित भएर आउनुभएकोमा रास्वपालाई गर्व छ । तर अब डेमोक्र्याटिक सिस्टमको ‘रुल्स अफ द गेम’ (खेलको नियम) बारे पारङ्गत हुनुपर्नेछ । यसका लागि हामी ‘ब्याक टु कलेज’ को मोडमा जानुपर्छ । संसद्लाई एउटा विश्वविद्यालय जस्तै सिकाइको थलो बनाउनुपर्छ । यसका लागि नेपालको संविधान हाम्रो ‘कर्नर स्टोन’ हो, यसप्रतिको बफादारी पूर्ण हुनुपर्छ । संसद् नियमावली बारे वेल-इन्फोर्मड हुनुपर्छ ।
नेपालका करिब ३-४ सय वटा कानुनहरूको संग्रहबारे आफ्नो रुचि अनुसार अध्ययन बढाउनुपर्छ । कुन ऐन खारेज गर्ने र २१औँ शताब्दीको अर्थतन्त्रका लागि कुन नयाँ ऐन ल्याउने भन्नेमा हामी प्रस्ट हुनुपर्छ । त्यस्तै, २०७९ र २०८२ का हाम्रा वाचापत्रहरू, सभापतिका राजनीतिक प्रतिवेदनहरू र जलेश्वरमा २०८० मंसिरमा पारित प्रस्तावना र यसको व्याख्यालाई खोजी-खोजी अध्ययन गर्नुहोला ।
चौथो कुरा, हाम्रो जीवनशैली र आचरण असाध्यै महत्वपूर्ण छ । राजनीतिक दल र यसका प्रतिनिधिहरू अब ‘पब्लिक फिगर्स’ भएका छन् । हाम्रो जीवनशैली पारदर्शी र अनुकरणीय हुनुपर्छ । हामीले जुन कुराका लागि अरू दलका पात्रहरूलाई आलोचना गर्यौँ, अब त्यो दोहोर्याउने छुट हामीलाई छैन । रास्वपाका प्रतिनिधिहरू साच्चिकै पृथक छन् भन्ने अनुभूति आम जनताले गर्न सक्नुपर्छ । सम्पत्ति विवरण, आर्थिक स्रोतको पारदर्शिता र आफ्नो व्यवसायसँग हुन सक्ने ‘स्वार्थको द्वन्द्व’ का विषयमा हामी असाध्यै गम्भीर हुनुपर्छ । यदि पार्टीले सेट गरेको ‘हाई स्ट्यान्डर्ड’ अनुरूप काम भएन भने निर्मम अनुशासनको कारबाही र ‘राइट टु रिकल’ जस्ता सिद्धान्तहरू आकर्षित हुन सक्छन् । सामाजिक सञ्जालको प्रयोग, समयको कदर र बोली-व्यवहारमा इमानदार हुनुपर्छ ।
पाँचौँ कुरा, हामीले बहुआयामिक सम्बन्धहरूको व्यवस्थापन गर्नुपर्छ । मतदाताका भव्य अपेक्षाहरू, अन्य राजनीतिक दलहरूसँगको सम्बन्ध, विज्ञ, विचार निर्माता र मिडियासँगको सम्बन्धमा ध्यान दिनुपर्छ । हामी व्यक्तिगत समस्या समाधान गर्न होइन, प्रणालीलाई नै बदल्न र सुधार्न आएका हौँ । रास्वपाको डीएनए नै ‘ज्ञान र संस्कार’ मा आधारित परिपक्व राजनीति हो । उमेर र अनुभवमा कम देखिए पनि हामी बदमासी र भ्रष्टाचार गर्दैनौँ भन्ने जिम्मेवारी बोध हुनुपर्छ । हामीले नीति निर्माणका लागि तथ्य र प्रमाणमा आधारित अध्ययन गर्नुपर्छ । साथै, अन्तर्राष्ट्रिय आयामहरू जस्तै मिडिल इस्टको द्वन्द्व र त्यसले नेपालमा पार्ने प्रभावहरू बुझ्न जरुरी छ, हामी कुवाको भ्यागुता भएर बस्न सक्दैनौँ ।
अन्त्यमा, हाम्रो अघिल्लो छोटो कार्यकालमा हामी ‘विलक्षण प्रतिभा’ भएर मात्र नोटिस भएका होइनौँ, बरु हामी ‘फ्रेस’ र ताजा थियौँ । राजनीति गर्ने शैलीमा फरकपन देखिएकाले जनताले हामीलाई पत्याएका हुन् । पुराना प्रतिको वितृष्णा र नयाँ प्रतिको आशा नै हाम्रो शक्ति हो । तर, अब ताजापन मात्र पर्याप्त छैन, हाम्रो विकल्प ‘विश्वसनीय’ हुनुपर्दछ । देश-दुनियाँ देखेको, युवा ऊर्जा भएको यो समूहले केही गर्छ है भनेर जनताले जुन भारी जिम्मेवारी सुम्पिएका छन्, त्यसलाई न्याय गरौँ ।
(आजबाट सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उपसभापति स्वर्णिम वाग्लेले व्यक्त गरेको विचार)







प्रतिक्रिया