
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित चालु आर्थिक वर्ष २०८१/८२ मा सातै प्रदेशमा वित्तीय साक्षरताका विविध कार्यक्रम सञ्चालन गरेको छ। बैंकले आफ्ना १४८ शाखामार्फत संचालन गरेका ती कार्यक्रमबाट करिब १० हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
बैंकका अनुसार कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ र सुदूरपश्चिम प्रदेशका ९ शाखामार्फत कार्यक्रम सम्पन्न गरिएका हुन्। ती कार्यक्रममा महिला, विद्यार्थी, कृषक, श्रमिक, वैदेशिक रोजगारमा जान चाहने व्यक्ति लगायत विभिन्न उमेर समूहका सर्वसाधारण सहभागी भएका थिए।
कार्यक्रममा सहभागीहरूलाई वित्तीय साक्षरताको आवश्यकता, डिजिटल बैंकिङसँगै बढेका जोखिम, बैंकिङ अपराधका प्रकार, नगद कारोबार र विप्रेषण गर्दा अपनाउनु पर्ने सावधानीबारे जानकारी दिइएको थियो। बैंकले यस्ता कार्यक्रमले बैंकिङ प्रणाली सुदृढ हुनुका साथै सर्वसाधारणमा वित्तीय चेतना बढ्ने विश्वास लिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंकले यसअघि पनि देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालय तथा असहायहरूका लागि सञ्चालन गरिएका संस्थाहरुलाई सहयोग गर्दै आएको छ।
हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। त्यस्तै, मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा उपलब्ध गराउने नेपालकै पहिलो बैंकसमेत बनेको छ।
हाल बैंकले देशभर ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।








प्रतिक्रिया