पर्यटन बोर्डले पहिलोपटक असारमै ल्यायो बजेट, एक अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान


काठमाडौं । नेपाल पर्यटन बोर्डले पहिलोपटक असार मसान्तभित्रै बजेट ल्याएको छ । बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १ अर्ब ६० करोड रुपैयाँको बजेट मंगलबार स्वीकृत गराएको छ ।

पर्यटन बोर्डका सदस्य तथा बजेट निर्माण समितिका संयोजक ऋषि भण्डारीका अनुसार आगामी वर्षको बजेटले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजारीकरणलाई प्राथमिकता दिएको छ । बोर्डले आगामी आर्थिक वर्षका लागि असार ३१ गते नै बजेट पारित गरेर साउनदेखि नै कार्यान्वयन योग्य बनाएकाे बाेर्डले २०७२ मा ल्याएकाे नियमावलीपछि पहिलोपटक हो।

बोर्डको बजेट असार २५ भित्रै ल्याउनुपर्ने र साउनदेखि कार्यान्वयन गर्नुपर्ने व्यवस्था २०७२ देखि नियमावाटै गरिएको भएपनि सो अनुसार हुन सकेको थिएन। बोर्डका सीईओ दीपकराज जोशीको अग्रसरताका कारण पहिलोपटक समयमा नै बजेट ल्याउन सफल भएको देखिएको छ ।

बोर्डले ल्याएको बजेटले अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजारीकरणमा ७० प्रतिशत र बाँकी ३० प्रतिशत आन्तरिक बजार तथा कर्मचारी प्रसाशनदेखि पूर्वाधार निर्माणसम्ममा गर्ने उल्लेख छ । यसपटकको बजेट हिमाली क्षेत्रमा पदमार्ग विकास, कर्मचारीलाई तालिम, सातै प्रदेशमा पर्यटनका पूर्वाधार बनाउने र पूर्वदेखि पश्चिमसम्म नै पर्यटन बोर्डले बजेट खर्च गर्ने भएको छ ।

पर्यटनलाई पनि संघीयतामा लैजानुपर्छ भनेर बोर्डले आगामी आर्थिक वर्षको बजेटबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय खोल्ने भएको छ । यसका लागि बोर्डले ९ करोड रुपैयाँको बजेट तय गरेको छ । बोर्डको कार्यालय हाल पोखरामा भएकोले अब बाँकी प्रदेशमा पनि आगामी आर्थिक वर्षबाट कार्यालय खोल्दै जाने रणनीति पनि लिएको उल्लेख छ ।

पर्यटन बोर्डले असार २५ भित्रैको समयसीमालाई ध्यानमा राखेर बजेट बनाएकोले साउनदेखि नै कार्यान्यनमा जान सक्ने गरी स्वीकृत समेत गराएको उल्लेख छ । ’पर्यटन बोर्ड आर्थिक तथा खरिद विनियमावली २०७२’ अनुसार असार २५ गतेभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

विनियमावलीको विनियम ५ को उपविनियम ४ अनुसार स्वीकृतिका लागि प्रस्तावित भएको कार्यक्रम तथा बजेट अनुमानलाई पर्यटन बोर्ड सञ्चालक समितिले जस्ताको जस्तै वा संशोधनसहित २५ असारभित्रै स्वीकृत गरिसक्नुपर्छ ।

बोर्डको बजेटको प्रभावकारी कार्यान्वयन गर्न असारभित्रै बजेट स्वीकृत गराउने र साउनदेखि कार्यान्वयन जाँदा प्रभावकारी हुने उल्लेख छ । समयमा नै बजेट आउँदा अवस्थामा कार्यान्वयन पक्ष बलियो हुने दाबी पनि बोर्डको छ ।

यस्ता छन बोर्डले ल्याएको बजेटका प्राथमिकता

पर्यटन उद्योगमा पछिल्लो समय ब्यापक रुपमा लगानी भएकोले अन्तर्राष्ट्रिय प्रवर्द्धन नलाई नै जोड दिने गरी पर्यटन बोर्डले बजेट ल्याएको छ । गत वर्ष डिजिटिल मिडियमबाट पर्यटन प्रवर्द्धनको काम अपेक्षा अनुसार हुन नसकेकोले यो वर्ष बढाएर बजेट ल्याएको उल्लेख छ ।

बोर्डले पर्यटनका जनशक्ति विकासका कार्यक्रम गर्ने, आतिथ्यता क्षेत्रमा, नेचर, ट्रेकिङ, रिभरगाइडसहितको जनशक्ति विकासमा पनि बजेटले प्राथमिकता दिएको छ । वेलननेस पर्यटन, कफि पर्यटन प्रवर्द्धन, बुद्धिष्ट पर्यटन प्रवर्द्धनसहितमा बोर्डको बजेटले प्राथमिकता दिएको छ । बोर्डले तयार पारेको बजेटमा पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकाससहित डिजिटल प्रवर्द्धनलाई जोड दिएको पनि उल्लेख छ ।

Skip This