साढे ९ करोडमा टिचिङमा मीनबहादुरले बनाइदिएको भवन हस्तान्तरण, भने: स्वार्थ नराखी सेवा गर्छु


फाइल तस्बिर

काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले कुनै पनि किसिमको स्वार्थ नराखी देश, जनता र राष्ट्रको सेवामा लाग्ने बताएका छन् । गुरुङको सहयोमा निर्मित टिचिङ ईएचएस भवन हस्तान्तरण कार्यक्रममा सोमबार गुरुङले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्नु भएको छ । त्यसमा भाटभटेनीको तर्फबाट अग्रपंतीमा रहेर देश, जनता र राष्ट्रको सेवा सच्छ मनले कुनै स्वार्थ नराखी काम गर्ने छौं,’ गुरुङले भने, ‘यो भवन निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा निकै खुसी लागेको छ ।’

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङले भवन निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे । साथै, प्रधानमन्त्री ओलीले भाटभटेनी सुपरमार्केटले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निर्माण गरेको ईएचएस भवनको उदघाट्न पनि गरेका छन् ।

गुरुङले आफ्ना स्वर्गीय माता–पिता वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा ९ करोड ५० लाख रुपैयाँको लागतमा त्रिवि शिक्षण अस्पतालमा उक्त भवन निर्माण गराएका थिए ।

यसअघि भाटभटेनीले सोही अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको थियो, जसका लागत १३ करोड रुपैयाँ थियो ।