सुदूरपश्चिममा ९३ प्रतिशत धान रोपाई, मधेशमा ३४ प्रतिशत सम्पन्न


काठमाडौं । यो वर्ष सबैभन्दा बढी सुदुरपश्चिममा धानको रोपाई सम्पन्न भएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी रोपाई सम्पन्न भएको कृषि सेवा विभागले जनाएको छ ।

विभागले आइतबार जारी गरेका बिज्ञप्तीअनुसार सुदूरपश्चिममा ९३.१ प्रतिशतकाले दरले १ लाख ६३ हजार ९ सय ९३ हेक्टरमा धानको रोपाई सम्पन्न भएको छ । गत वर्ष यहि अवधीमा त्यो क्षेत्रमा ८६ प्रतिशतले रोपाई भएको थियो ।

यसपछि सबैभन्दा कम मधेशमा ३३.७८ प्रतिशतका दरले १ लाख २५ हजार हेक्टरमा रोपाई सम्पन्न भएको छ । असार महिना सकिन लाग्दा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमध्ये सवा एक लाख हेक्टरमा मात्रै धानको रोपाई सम्पन्न भएको छ । अघिल्लो वर्ष यो अवधीमा मधेशमा ६१.५ प्रतिशत रोपाई सम्पन्न भएको थियो ।

मधेशमा अकाशे पानी नपरेका कारण अधिकाँश स्थानमा धानको वीउको व्याडसमेत राखिएको छैन् । धान रोपिएका खेतमा पानीको अभाव हुँदा धाजा फाँटिएको छ । मधेशमा सबैभन्दा बढी धान र गहुँ उत्पादन भएकाले उक्त क्षेत्रलाई अन्नको भण्डार पनि भनिन्छ । गत् बिहिबार मधेश प्रदेश सरकारले उक्त प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

यस्तै कोशीमा पनि मधेश प्रदेशजस्तै अकासे पानीको अभावमा ४१.३२ प्रतिशतका दरले १ लाख १४ हजार २११ हेक्टरमा रोपाई सम्पन्न भएको छ । अघिल्लो वर्ष ६१.७ प्रतिशत रोपाई भएको थियो ।

सुदूरपश्चिम प्रदेशपछि सबैभन्दा बढी कर्णाली प्रदेशमा रोपाई सम्पन्न भएको छ । कर्णाली र सुदूरपश्चिममा धान लगाउने क्षेत्रफल निक्कै कम भएकाले प्रतिशतको हिसावले बढी देखिएको हो । कर्णालीमा ८३.२३ प्रतिशतका दरले ३४ हजार २५ हेक्टरमा रोपाई भएको छ ।

यस्तै बागमती प्रदेशमा ७६.३१ प्रतिशतका दरले ९१ हजार ९८३ हेक्टर, लुम्बिनीमा ७३.६८ प्रतिशतका दरले २ लाख २३ हजार २ सय १२ हेक्टर र गण्डकी प्रदेशमा ६६.९९ प्रतिशतका दरले ६३ हजार ९१ हेक्टरमा धानको रोपाई सम्पन्न भएको छ ।