चेम्बर र नेफ्टाद्वारा मौद्रिक नीतिको स्वागत


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघ शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनकि गरेको मौद्रिक नीतिको स्वागत गरेका छन् ।

ति दुवै संस्थाले आइतबार विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गरेको व्यवस्थालाई स्वागत गरेको हुन् ।

नेपाल चेम्बर अर्फ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आर्थिक पुर्नउत्थान एवं सहज कर्जा प्रवाहमार्फत वित्तीय क्षेत्र चलायमान हुने उल्लेख गरेको छ । आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशत विस्तार गर्न सकिए हालको अधिक तरलता समस्या समाधान हुन सक्ने चेम्बरले ठहर छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६.५ प्रतिशतबाट घटाई ६ र नीतिगत दरलाई ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरिएको छ । यसले बजारमा तरलता व्यवस्थापन र ब्याजदर बढ्न नदिने विश्वास छ ।’

निजी आवासीय घर निर्माण तथा खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ कायम गरिने मौद्रिक नीतिमा उल्लेखित व्यवस्थालाई चेम्बरले स्वागत गरेको छ ।

कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्थाले घरजग्गा क्षेत्रको व्यवसायमा विस्तार हुने र यसले अर्थतन्त्र चलायमान बनाउन सघाउ पुर्‍याउने चेम्बरको ठहर छ ।

हाउजिङ तथा रियलस्टेट व्यवसायमा प्रवाह गरिएको कर्जाको पुनर्तालिकीकरण एवं पुर्नसंरचना गरिने मौद्रिक नीतिमा उल्लेखित व्यवस्थालाई चेम्बरले स्वागत गरेको छ ।

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरु सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।

चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई कृषि, साना तथा घरेलु उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार र मिडिया हाउस लगायतको व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा आवश्यकतानुसार परिमार्जन गरिने व्यवस्था सकारात्मक रहेको चेम्बरले ठहर गरेको छ ।

नेपाल समुद्रपार निकासी पैठारी संघ(नेफ्टा) ले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने र खराब कर्जाका कारण तनावमा रहेका बैंकहरूलाई राहत दिने उद्देश्यले ल्याइएको व्यवस्थालाई स्वागत गरेको जनाएको छ ।

नेफ्टाले मौद्रिक नीतिमा राखिएका लचिला प्रावधानले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको उल्लेख गरेको छ ।

मौद्रिक नीतिमार्फत सरकार, बैंक, ऋणी, निजी क्षेत्रलगायत सरोकार भएका सबै पक्ष लाभान्वित हुने नेफ्टाले उल्लेख गरेको छ ।

नेफ्टाले सबै प्रकारको व्यवसायमा लागू हुने गरी चालुपुँजी कर्जा मार्गदर्शनका प्रावधानहरु पुनरावलोकन गर्न मागसमेत गरेका छन् ।