
विराटनगर । भोजपुर उद्योग वाणिज्य संघको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले भोजपुर संघलाई जिल्लामा उत्पादन भई ख्याति कमाएको खुकुरीको ब्रान्डिङ गर्दै स्थानीय साना तथा घरेलु उद्योगको संरक्षणमा लाग्न आग्रह गरे।
भोजपुरे खुकुरीको ख्याति अहिले पनि मुलुकभर फैलिएको छ। तर अहिले यो लोप हुँदै गएको गुनासो सर्वत्र छ। राउतले भने, ‘भोजपुरे खुकुरी भोजपुरको पहिचान हो। यसलाई ब्रान्डिङ गर्न उद्योग वाणिज्य महासंघले अग्रसर हुनुपर्छ ।’
उनको भनाइमा, उद्योग वाणिज्य महासंघ मात्र नभई जिल्ला र नगर संघले पनि स्थानीय उद्योगी तथा व्यवसायीका समस्या र चुनौतीको सामना गर्दै समग्र व्यापारिक क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । साथै, उद्योगी व्यवसायीलाई हौसला, प्रोत्साहन र प्रेरणा दिन सक्रिय भूमिका खेल्नुपर्ने उनको सुझाव थियो ।
वाणिज्य संघले निजी क्षेत्रको लगानीको सुनिश्चितता, निरन्तरता र संरक्षण गर्दै आएको उल्लेख गर्दै उनले जिल्लामा उत्पादन भएर ख्याति कमाएका वस्तुहरूको ब्रान्डिङ गरेर लोप हुनबाट जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र खड्काले राज्यको तीन खम्बे आर्थिक नीतिअनुसार निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य महासंघलाई सरकारले सारथीको रूपमा लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए । अर्का केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय उद्योगी र व्यापारी पेशाबाट पलायन हुँदै गएको उल्लेख गर्दै उद्योग वाणिज्य महासंघ र सरकारले उद्योगी व्यवसायी पलायन हुनबाट रोक्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।








प्रतिक्रिया